• ७ पुस २०८१, आइतबार

जनताको चाहनाअनुसार काम गरिरहेका छौं : मन्त्री गुरुङ

blog

कार्यक्रममा सम्बोधन गर्नुहुँदै सञ्चार तथा सूचनाप्रविधिमन्त्री पृथ्वीसुब्बा गुरुङ । तस्विरः अर्जुन काफ्ले

अर्जुन काफ्ले

स्याङ्जा, मङ्सिर १४ गते । नेपाल सरकारका सञ्चार तथा सूचना प्रविधिमन्त्री पृथ्वीसुब्बा गुरुङले जनताको आवश्यकतालाई दृष्टिगत गरी वर्तमान सरकारले काम गरिरहेको बताउनुभएको छ ।  

छैटौं अध्यक्ष कप तथा खेलकुद महोत्सवको शुक्रबार उदघाटन गर्दै प्रविधिमन्त्री गुरुङले सरकार टुलुटुलु हेरेर नबसेको भन्दै काम गर्नकै लागि प्रमुख दुई दलको सहकार्य भएको बताउनुभयो ।  

राजनीतिक क्षेत्र, आर्थिक क्षेत्र, सामाजिक क्षेत्रमा जुन समस्या आयो, देशको समृद्धिका लागि दुई ठुला दल मिल्नुपर्ने बाध्यता आएको उहाँले बताउनुभयो । नेपाली काँग्रेस र एमाले मिलेर पञ्चायत तथा राजतन्त्र फालेको र राजतन्त्र फाल्न माओवादीको समेत साथ रहेको बताउँदै मन्त्री गुरुङले मुख्य समस्या समाधानमा ठुला दल मिलेको इतिहास रहेको बताउनुभयो । 

प्रमुख दुई दलविच अनेक असमझदारी रहे पनि देश बनाउन दुई दल एक ठाउँमा आएको उहाँको भनाइ छ । प्रमुद दुई दलको सहकार्यमा सरकार बनेकाले २०८४ सम्म दुई दलकै आलोपालो सरकार चल्ने उहाँले प्रष्ट पार्नुभयो । पहिलो चरणमा एमाले अध्यक्ष केपी शर्मा ओलीको नेतृत्वमा सरकार बनेको र अर्को सरकार काँग्रेस सभापति शेरबहादुर देउवाको नेतृत्वमा बन्ने उहाँले बताउनुभयो । 

संविधानका केही मूलभूत कुरा बाहेक अन्य आवश्यक विषय संशाेधन हुने बताउँदै मन्त्री गुरुङले सविधान संशाेधन आवश्यकताअनुसार सबै दलसँग परामर्श गरी गरिने प्रष्ट पार्नुभयो । सहकारी ठगीमा आफ्नालाई छाड्ने अरुलाई कारवाही गर्ने काम नभएको बताउँदै मन्त्री गुरुङले त्यसको जिम्मा राजनीतिक दलको नभ अदालतको भएको बताउनुभयो । 

प्रधानमन्त्रीको चीन भ्रमणमा यसअघि भएको सम्झौताको पुनर्ताजगी गर्ने बताउँदै ऋण लिने काम भने नहुने बताउनुभयो । प्रतिशोधको रााजनीति नभ सुशाासन कायम गर्न अहिले सरकार लागिपरेको बताउनुभयो ।  

रास्वपा पार्टी हिजोको विवेकशील पार्टीजस्तै हुने बताउँदै मन्त्री गुरुङले नीति एजेण्डा केही नभएका पार्टीहरुले जनताको पक्षमा काम गर्न नसक्ने बताउनुभयो । वर्तमान सरकार देश र जनताको पक्षमा केन्द्रित भएर काम गरिरहेको उहाँको भनाइ छ । 

आफू मुख्यमन्त्री हुँदा गण्डकी प्रदेशको घर–घरमा धारा पुर्‍य ाउने लक्ष्य रहेको र यो काम करिब सम्पन्न हुन लागेको दावी गर्नुभयो । उहाँले आफ्नै पालामा उज्यालो प्रदेश बनाउने र उद्योग ग्राम बनाउने लक्ष्य समते पूरा भइरहेको बताउनुभयो । खेलकुदको विकासमा वर्तमान सरकार लागेको बताउँदै अबको बजेटमा ५० अर्ब छुट्याउनपर्नेमा आफू लागेको बताउनुभयो ।


यस्तै, गण्डकी प्रदेश सदस्य कल्पना तिवारीले जनताले खोजेर भेटिने स्थायी सरकार स्थानीय सरकार भएको बताउँदै कालीगण्डकी अग्र स्थानमा रहेको बताउनुभयो । २०२८ सालमा बनेको सिद्धार्थ राजमार्ग फराकिलो हुन नसकेको बताउँदै डेडिकेटेड फोरलाइन बनाइ दिन पहल गरीदिन आग्रह गर्नुभयो । 

यस्तै, भीरकोट नरपालिका प्रमुख गोविन्द कर्माचार्य, प्रजिअ सुनीता नेपाल, नेकपा (एमाले) का अध्यक्ष सूर्यप्रसाद गैरे, नेपाली कांग्रेस जिल्ला उपसभापति शेरबहादुर थापा, माओवादी केन्द्रका ज्ञानप्रसाद भण्डारी, राष्ट्रिय जनमुक्ति पार्टीका बमबहादुर लामिछाने, पालिका अध्यक्ष खिमबहादुर थापा, उपाध्यक्ष सावित्रा कोइराला, पालिका प्रमुख प्रशासकीय अधिकृत परशुराम पोखरेलले धारणा राख्नुभयो । 

सो अघि मन्त्री गुरुङले आधारभूत आँखा उपचार केन्द्रको मिर्मीबजारमा उद्घाटन गर्नुभएको थियो । हिमालय आँखा अस्पतालको प्राविधिक सहयोगमा सुरु भएको उपचार केन्द्र सञ्चालनका लागि पालिका अध्यक्ष थापा र हिमालय आँखा अस्पतालका अध्यक्ष सुरेन्द्र थापा मगरबिच हस्ताक्षर भएको छ ।