• १२ पुस २०८१, शुक्रबार

तातोपानी कुण्डमा डुबुल्की (फोटोफिचर)

blog

तातोपानी कुण्डभित्र मुख्य पोखरीमा स्नान गर्दै बिरामी तथा सर्वसाधारण । तस्बिरः साधन घर्ती

साधन घर्ती
म्याग्दी (दरबाङ), मङ्सिर १४ गते ।
म्याग्दीको तातोपानी कुण्डमा स्नान गर्नेहरुको सङ्ख्या बढ्दै गएको छ । जिल्लाको बेनी नगरपालिका–४,सिङ्गास्थित मूलबाट निस्कने ५० डिग्री सेल्सियसभन्दा बढी तापक्रम भएको तातोपानी कुण्डमा स्नान र डुब्दा ग्याष्टिक, बाथरोग, युरिकएसिड, हाडजोर्नी तथा मांसपेशीको दुःखाइ, सड्किएको, मर्किएको, घाउखटिरा, रुघाखोकीलगायत चिसोबाट स्वास्थ्यमा देखापर्ने सबैखाले रोगहरु निको हुने विश्वास कारण बिरामीहरु म्याग्दीसहित बागलुङ, पर्वत, कास्की, काठमाडौैं, रुपन्देही, चितवनसहित विभिन्न ठाउँबाट बिरामी, सर्वसाधारण तथा पर्यटकहरु तातोपानी आउने गर्दछन् ।

नसासम्बन्धी रोगले सताएपछि निको हुने विश्वासले तातोपानी डुब्न आएको बागलुङको तमानखोला गाउँपालिका–४,लाम्मेला र मालिका गाउँपालिका–७, बिमबाट आउनुभएका गोपाल हमैलले बताउनुभयो ।


ढाड दुख्ने समस्या निको हुने विश्वाससहित तातोपानी कुण्डमा डुब्न आएको रुपन्देहीबाट आउनुभएको हिरादेवी रेग्मीले बताउनुभयो । प्राकृतिक चिकित्सालयको रुपमा परिचित तातोपानी कुण्डमा पछिल्लोपटक स्नान गर्नेहरुको सङ्ख्या दैनिकजसो बढेको तातोपानी कुण्ड व्यवस्थापन समिति अध्यक्ष कृष्ण खड्काले बताउनुभयो ।

उहाँका अनुसार अहिले दैनिक करिब साढे तीन सय जना स्नान र डुब्न आउने गरेका छन् । वर्षातको समय बाहेक अन्य बेला यहाँ सर्वसाधारण तथा बिरामीहरु स्नान गर्न र डुब्न आउने गर्दछन् ।

नियमित नुहाउनेहरु एक हप्तासम्म बस्ने गर्दछन् । तातोपानी कुण्ड परिसरभित्र ठुलो कुण्डमा बिहान ६ देखि साँझ ५ बजेसम्म र सानो कुण्डमा बिहान ६ देखि बेलुकी ९ बजेसम्म खुला रहने समयतालिका छ । एक हप्तासम्म नियमित स्नान गर्नेहरुलाई तीनसय ५० रुपियाँ र दैनिक रुपमा आउने बिरामी, सर्वसाधारण तथा पर्यटकलाई भने एक सय रुपियाँ शुल्क लिने गरिएको छ । जिल्लाको मालिका गाउँपालिकाबाहेक अन्य पाँचवटा स्थानीय तहमा जिल्लाभर हालसम्म कुल १४ वटा तातोपानीका मुहानहरु भेटिएको  छ ।