• २३ पुस २०८१, मङ्गलबार

अयरपानी होमस्टेमा पर्यटकको आकर्षण बढाइने

blog

फेदीखोलाको अयरपानी होमस्टेमा पुगेका आन्तरिक पर्यटक । तस्बिर : राधाकृष्ण डुम्रे

वालिङ समाचारदाता 

वालिङ, मङ्सिर १३ गते । स्याङ्जाको फेदीखोला गाउँपालिका पर्यटकीय सहर पोखरासँग जोडिएको छ । फेदीखोला–१ मा रहेको अयरपानी सामुदायिक होमस्टेमा पोखरा पुग्ने पर्यटक जाने गरेका छन् । सिद्धार्थ राजमार्गबाट नजिकै रहेको र सडक सुविधा रहेको होमस्टेमा पोखरा पुग्ने पर्यटकलाई आकर्षित गर्न विभिन्न क्रियाकलाप गरिँदै आएको छ । 

होमस्टेका अध्यक्ष सपना गुरुङ भन्नुहुन्छ, “पछिल्लो समय आन्तरिक पर्यटकको बाक्लो उपस्थिति रहेको छ, पोखरा पुग्ने पर्यटकलाई होमस्टे ल्याउन व्यवसायी र सरोकारवालासँग सहकार्य गर्दै छौँ ।” पोखराबाट होमस्टेमा रात बिताउन पुग्नेको सङ्ख्या बाक्लो रहेको उहाँको भनाइ छ । चार घरबाट सुरु भएको होमस्टेमा थप घरसमेत आबद्ध हुँदै गएको उहाँको भनाइ छ । 

होमस्टेमा महिनामा तीन सय पाहुना आउने गरेको अध्यक्ष गुरुङले बताउनुभयो । सो क्षेत्रबाट गोरखा स्मारक, मट्टीखान भ्युटावर, गण्डकी प्रदेशको राजधानी पोखराको भ्याली र हिमशृङ्खला देख्न र अवलोकन गर्न पाइने फेदीखोला–१ का वडाध्यक्ष अमृत क्षेत्रीले जानकारी दिनुभयो । 

स्याङ्जा होमस्टेका लागि चर्चित छ । लोकप्रिय सिरुबारीलगायतका धेरै होमस्टे जिल्लामा सञ्चालनमा छन् । जहाँ पर्यटकले भरिभराउ भइरहन्छ । अयरपानी होमस्टेमा अर्गानिक उत्पादन खानकै लागि पाहुना आउने गरेको सञ्चालकको भनाइ छ । 

स्थानीयस्तरमा उत्पादन हुने तरकारी र कोदोको परिकार आन्तरिक पर्यटकको रोजाइमा पर्ने गरेको सञ्चालक निबु गुरुङको भनाइ छ । अयरपानी होमस्टेका सञ्चालक दैनिक जसो पाहुना आइरहने भएकाले खाली बस्न नपर्ने उहाँले बताउनुभयो ।

 अयरपानी सामुदायिक होमस्टे महिलाको सक्रियतामा सञ्चालनमा ल्याइएको उहाँको भनाइ छ । होमस्टेलाई सुविधासम्पन्न बनाउन गाउँपालिकाले काम गरिरहेको पालिकाका अध्यक्ष धनश्याम सुवेदीले जानकारी दिनुभयो । अयरपानीमा प्याकेजमा एक दिनको एक जनालाई एक हजार दुई सय मात्रै खर्च लाग्ने अध्यक्ष गुरुङले जानकारी दिनुभयो । 

यही रकमभित्र सांस्कृतिक कार्यक्रम पनि गरिने उहाँको भनाइ छ । सिद्धार्थ राजमार्गबाट पाँच किमी पक्की र कच्ची सडक यात्राबाट पुग्न सकिने अयरपानीमा होमस्टे सञ्चालनमा आएपछि गाउँ नै परिवर्तन भएको स्थानीयको बुझाइ छ । 

सिरुबारीमा ठाउँ पाउनै मुस्किल 

नेपालको पहिलो ग्रामीण होमस्टेका रूपमा स्थापना भएको सिरुबारी होमस्टेमा समय पाउनै गाह्रो छ । होमस्टेका अध्यक्ष उर्मिला गुरुङले भन्नुभयो, “आउँछु भन्ने सबैलाई उहाँहरूको समयमा बोलाउन सकेका छैनौँ ।” समय मिलाएर पाहुनालाई बोलाउने गरेको उहाँको भनाइ छ । सिरुबारीमा आन्तरिक तथा बाह्य पर्यटक पुग्ने गर्दछन् । सिरुबारीमा २५ घर पूर्ण रूपमा पाहुनालाई राख्ने प्रकृतिको र अन्य आंशिक प्रकृतिको रहेको छ । 

बसाइँसराइ न्यून 

स्याङ्जामा प्रायः सबै स्थानीय तहमा होमस्टे सञ्चालनमा रहेका छन् । होमस्टे चलिरहेको ठाउँमा बसाइँसराइको दर कम भएको स्थानीय तहको बुझाइ छ । पुतलीबजार नगरपालिकाका प्रमुख तुलसीराम रेग्मीले बसाइँसराइको न्यूनीकरणका लागि होमस्टे प्रभावकारी भएको बताउनुभयो । उहाँले भन्नुभयो, “होमस्टेमा सुविधा पनि पुग्ने र निरन्तरको आम्दानी पनि हुने भएकाले मानिसहरू बस्न मन पराउँछन् ।” पुतलीबजार नगरपालिकामा रामकोषलगायतका स्थानमा सामुदायिक होमस्टे सञ्चालनमा रहेको प्रमुख रेग्मीको भनाइ छ ।