• २१ पुस २०८१, आइतबार

प्रधानमन्त्रीले बीआरआई अघि बढाउन डराउनु हुँदैन : अध्यक्ष नेपाल

blog

नेकपा एसका अध्यक्ष माधवकुमार नेपाल प्रधानमन्त्री केपी शर्मा ओलीले चीन भ्रमणबारे छलफल गर्न बोलाउनुभएको बैठकपछि सञ्चारकर्मीसँग कुरा गर्नुहुँदै ।

काठमाडौँ, मङ्सिर १० गते । प्रतिपक्ष दल नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष एवम् पूर्वप्रधानमन्त्री माधवकुमार नेपालले प्रधानमन्त्री केपी शर्मा ओली चीनसँगको बीआरआई (बेल्ट एण्ड रोड इनिसिएटिभ) परियोजना अघि बढाउने कुरामा डराउन नहुने टिप्पणी गर्नुभएको छ ।

सोमबार सिंहदरबारमा प्रधानमन्त्री ओलीले आफ्नो चीन भ्रमणबारे छलफल गर्न बोलाउनुभएको बैठकपछि सञ्चारकर्मीहरूले राखेका जिज्ञासाको जवाफ दिने क्रममा उहाँले सो कुरा बताउनुभएको हो ।

अध्यक्ष नेपालले सो परियोजना नेपालको हितमा रहेकाले त्यसबाट लाभ लिनुपर्ने बताउनुभयो । सो परियोजना नेपालले यसअघि नै स्वीकार गरिसकेकाले त्यसलाई अघि बढाउने कुरामा डराउन नहुने उहाँको भनाइ छ । नेपालले आफ्नो लाभका लागि अन्य देशसँगको सम्बन्धलाई अघि बढाउनुपर्ने उल्लेख गर्दै अध्यक्ष नेपालले त्यसलाई स्वाभाविक रूपमा अघि बढाउनुपर्ने बताउनुभयो ।

‘‘बीआरआई स्वाभाविक रूपमा नेपालको स्वीकार गर्दै आएको हो । स्वीकार नगर्ने त प्रश्नै छैन नि । किन ? बीआरआई प्रोजेक्ट नेपालको हितको विरुद्धमा छैन । दक्षिणका देशहरू साउथ साउथ कोअपरेशनभित्र यो पर्दछ । यस अर्थमा पनि नेपाल जस्तो देशले यसबाट लाभ लिनुपर्दछ ।,’’ उहाँले भन्नुभयो, ‘‘लाभ लिने सन्दर्भमा हामी सबैसँग सम्बन्ध राख्ने गरेका छौँ । लाभ लिने गरेका छौँ । झन् बीआरआईसँगमा हामी आबद्ध उहिले नै भइसकेका छौँ विभिन्न सरकारहरू । त्यसो हुनाले त्यसलाई पनि अघि बढाउनुपर्ने आवश्यकता छ । बीआरआईसँग हामी डराएका छैनौँ ।’’

त्यस अवसरमा अध्यक्ष नेपालले कुनै पनि छिमेकमा आशङ्का उत्पन्न नहुने गरी चीन भ्रमण गर्न पनि प्रधानमन्त्री ओलीलाई सुझाव दिनुभयो ।