• ११ पुस २०८१, बिहिबार

खुर्सानी खेतीबाट राम्रो आम्दानी

blog

सविता बडायकको बारीमा लटरम्म फलेको खुर्सानी । तस्विरः अविनाश चौधरी

अविनाश चौधरी

धनगढी, मङ्सिर १० गते । कैलालीको जानकी गाउँपालिका –४ की सविता बडायक खुर्सानी खेती गरेर राम्रो आम्दानी गर्न सफल हुनुभएको छ । पाँच कट्ठा जमिनमा विभिन्न प्रजातिको खुर्सानी खेती गरेर उहाँले आम्दानी गर्न सफल हुनुभएको हो । खुर्सानी खेतीबाट भएको आम्दानीले परिवारको खर्च मज्जाले चलेको बडायकले बताउनुभयो । 

“हामी परिवारमा ११ जना छौं” उहाँले भन्नुभयो, “जग्गा धेरै छैन । व्यावसायिक खेती गर्न थालेपछि गुजाराका लागि समस्या छैन ।” खुर्सानीबाट भएको आम्दानीबाटै बालबच्चाको पढाइ खर्च सजिलै धानिरहेको उहाँले बताउनुभयो । 

सविताको बारीमा विभिन्न पाँच प्रजातिको खुर्सानी फलेको छ । जसमध्ये सोल्जर र सुपर तारा यसवर्ष गजबले फलेको उहाँले सुनाउनुभयो । प्रतिकेजी चार सयको दरले दसैंदेखि खुर्सानी बिक्री गरिरहेको जनाउँदै उहाँले भन्नुभयो, “अहिलेसम्म नौ क्विन्टल बिक्री गरिसकेको छु ।”

छोटो अवधिमै साढे तीन लाखभन्दा बढीको खुर्सानी बिक्री गरेको उहाँले सुनाउनुभयो । उहाँले लगाएको खुर्सानी आगामी जेठसम्म फल्नेछ । निरक्षर सविताले २०७८ सालमा एकीकृत शत्रुजीव व्यवस्थापन (आइपीएम) कृषक पाठशाला तालिम लिएपछि व्यावसायिक रुपमा खुर्सानी खेती सुरु गर्नुभएको थियो । 

तरकारी खेती गरेर ठुलो ट्रयाक्टर, पावर ट्रिलर र सानो हाते ट्रयाक्टर किन्न सफल भएको उहाँले जानकारी दिनुभयो । “ट्रयाक्टर किनेपछि खुर्सानी खेतीको काम गर्न थप सहज भएको छ” बडायकले भन्नुभयो ।