• २३ पुस २०८१, मङ्गलबार

जनमत पार्टीको इच्छामा सभामुखको रोक

blog

गोरखापत्र समाचारदाता

काठमाडौँ, मङ्सिर ९ गते । प्रतिनिधि सभा सदस्य गोमा लाभ सापकोटालाई पदबाट हटाउने जनमत पार्टीको तेस्रो प्रयासलाई पनि संसद् सचिवालयले रोक लगाइदिएको छ । सांसद सापकोटालाई पदबाट हटाउन कानुनले तोकेका पूर्वसर्त पालना नभएको भन्दै सभामुख देवराज घिमिरेले पद रिक्तको निर्णय लिन अस्वीकार गर्नुभएको हो । कम्बोडिया भ्रमण जानुअघि घिमिरेले जनमतको पत्राचार अनुसार कारबाही गर्न नपर्ने निर्णय गर्नुभएको हो । यसअघि पनि सापकोटाको कारबाही दुई पटक रोक लागिसकेको छ । 

सभामुखले सापकोटाबाट पार्टीको ह्विप उल्लङ्घन नभएको, दल त्याग नगरेको र सदस्य हुन अयोग्य हुने कुनै कसुरसमेत गरेको नदेखिएको भन्दै पद रिक्तको निर्णय गर्न अस्वीकार गर्नुभएको हो । 

“माननीय गोमा लाभ सापकोटामाथि गरिएको भनिएको कारबाहीको सम्बन्धमा तयार गरिएका कागजपत्र विश्वसनीय नदेखिएको अवस्थामा दफा ३४ बमोजिम दिइएको सूचना कानुनी प्रबन्धविपरीत भई त्रुटिपूर्ण देखिन आएको छ,” निर्णयमा सभामुखले भन्नुभएको छ । करिब एक वर्षको अन्तरालमा जनमतले सापकोटालाई हटाउन तेस्रो प्रयास गरेको थियो ।