ललितपुर, मङ्सिर ७ गते । महालक्ष्मी नगरपालिकामा उपत्यकाव्यापी अन्तरविद्यालय र्यापिड बुद्धिचाल प्रतियोगिता सुरु भएको छ । दुई दिनसम्म चल्ने यस प्रतियोगिताको उद्घाटन महालक्ष्मी नगरपालिकाका प्रमुख हरिगोविन्द श्रेष्ठले गर्नुभएको हो ।
कार्यक्रममा प्रमुख श्रेष्ठले महालक्ष्मी नगरपालिकाले खेल जगतलाई विशेष महत्व दिएर यस्ता कार्यक्रमहरु समयसमयमा सञ्चालन गरिरहेको जानकारी गराउनुभयो ।
यस प्रतियोगितामा उपत्यकाका करिब ४० वटा विद्यालयबाट एक सय दुई जना विद्यार्थी उपस्थित रहने जनाइएको छ भने तीमध्ये २२ जना उत्कृष्ट खेलाडी पुरस्कृत गरिने आयोजकले जनाएको छ । आयोजकका अनुसार तीन वटा उत्कृष्ट विद्यालयलाई पनि सम्मान गरिनेछ ।