अजरबैजान, मङ्सिर ७ गते । जलवायुजन्य मुद्दामा मिडियाको भूमिका र प्रभावकारिता बढाउनुपर्नेमा जोड दिइएको छ । मिडियाको सशक्त भूमिकाले जलवायु न्यायमा सहज हुने कुरामा विज्ञहरूले जोड दिएका हुन् ।
बिहीबार अजरबैजानको बाकुमा आयोजित ‘नेपाली मिडिया र कोप २९ः जलवायु न्यायका लागि दिशा निर्देश’ विषयक अन्तरक्रियामा विज्ञहरूले जलवायुजन्य विषयमा मिडियाको प्रभाव विश्वव्यापी बनाउन आग्रह गरिएको छ । कार्यक्रममा वन तथा वातावरण मन्त्रालयअन्तर्गतको जलवायु परिवर्तन व्यवस्थापन महाशाखा प्रमुख डा. सिन्धुप्रसाद ढुङ्गानाले जलवायु परिवर्तनसम्बन्धी मुद्दामा समन्वयात्मक ढङ्गले काम भइरहेको जानकारी दिनुभयो ।
‘जलवायु परिवर्तनको मुद्दा सबैको हो भन्ने अनुभूति गराउने प्रयासमा छौँ’ ढुङ्गानाले भन्नुभयो– ‘जलवायुको मुद्दा सबैको सरोकारको विषय भएकाले न्यायका लागि सबै सकारात्मक हुन जरुरी छ ।’
कार्यक्रममा गोरखापत्र संस्थानका महाप्रबन्धक लालबहादुर ऐरीले नेपालका जलवायुसम्बन्धी मुद्दा विश्वव्यापी गराउन मिडियालाई साझेदारका रूपमा अगाडि बढाउन आग्रह गर्नुभयो । ‘जलवायु न्याय समग्र नेपालको विषय हो, समस्याको विश्वव्यापीकरणका लागि मिडियाको विकल्प छैन’ महाप्रबन्धक ऐरीले भन्नुभयो– ‘यो सवालमा राज्यले नै मिडियाको भूमिका प्रवर्द्धनमा ध्यान दिनु आवश्यक छ ।’
कार्यक्रममा सञ्चारकर्मी कृष्णा पौडेलले पछिल्लो समय सञ्चारमाध्यमहरूले जलवायु परिवर्तनका मुद्दालाई विशेष रूपले उठाउने गरेको बताउनुभयो । उहाँले सरकार र यस क्षेत्रका कार्यरत सङ्घसंस्था सहित सञ्चारमाध्यमहरूसँग सहकार्य हुन सके जलवायु मुद्दा उठान अझ प्रभावकारी बन्ने बताउनु भयो । उहाँले भन्नुभयो, ‘जलवायु परिवर्तनको विषय प्राविधिक र जटिल हुने भएकाले यसमा सरकार र यससँग सम्बन्धित सङ्घ, संस्थाहरूको पहलसँगै विषयवस्तुमाथिको जानकारीसहितको मिडियासँगको त्रिपक्षीय सहकार्य हुन सके जलवायु परिवर्तनले नेपाललाई पारेको असर लगायतका मुद्दामा विश्वको ध्यान केन्द्रित गर्ने गरी मिडियाले प्रभावकारी भूमिका खेल्न सक्ने थियो ।’
कार्यक्रममा ओबिआइटी, डब्ल्युडब्ल्युएफ नेपालका नेशनल प्रोजेक्ट म्यानेजर राजन थापाले नागरिक र सरकारबिचको ग्याप मिडियाले निर्वाह गर्नुपर्ने बताउनुभयो । उहाँले जलवायु परिवर्तनसम्बन्धी मुद्दाहरूबारे जनस्तरमा सचेतना फैल्याउनका लागि पनि मिडियाको भूमिका महत्त्वपूर्ण हुने बताउनु भयो ।
सम्मेलनमा नेपाली सञ्चारमाध्यमलाई पनि प्रभावकारी बनाउने गरी नीति बनाउन जरुरी रहेकोमा सहभागीहरूले जोड दिएका छन् । कार्यक्रममा बाकुमा रहेका नेपाली प्रतिनिधि, सञ्चारकर्मीलगायत नेपालबाट विभिन्न क्षेत्रका युवाहरूको भर्चुअल सहभागिता थियो ।