• ७ मंसिर २०८१, शुक्रबार

राष्ट्रिय सभाका उपाध्यक्ष विमला घिमिरे चीन भ्रमणबाट स्वदेश फिर्ता

blog

स्वदेश फर्किनुभएपछि राष्ट्रिय सभाका उपाध्यक्ष विमला घिमिरे।

काठमाडौँ, मंसिर ६ गते। राष्ट्रिय सभाका उपाध्यक्ष विमला घिमिरे मित्रराष्ट्र जनवादी गणतन्त्र चीनको १० दिने औपचारिक भ्रमण सम्पन्न गरेर बिहीबार साँझ स्वदेश फर्कनुभएको छ।  

जनवादी गणतन्त्र चीनको जियाङ्सु प्रान्तको राजधानी नानजिङमा भएको दोस्रो ग्लोबल साउथ थिंक ट्याङ्क संवादमा भाग लिएर उपाध्यक्ष घिमिरे स्वदेश फर्कनु भएको हो। 

चीन भ्रमणका क्रममा राष्ट्रिय सभाका  उपाध्यक्ष  घिमिरेले  जनवादी गणतन्त्र चीनको चिनियाँ जनराजनीतिक परामर्शदात्री सम्मेलनका उपाध्यक्ष बातर सँग बेइजिङमा भेटवार्ता गर्नुभएको थियो। उहाँले  कार्तिक २८ देखि ३० गतेसम्म भएको  दोस्रो ग्लोबल साउथ थिंक ट्याङ्क संवादमा सम्बोधन गर्नुभएको थियो। 

उपाध्यक्ष घिमिरेले भ्रमणका क्रममा जियाङ्सु, बेइजिङ र हुबेई प्रान्तको भ्रमण गर्नुभएको थियो। उपाध्यक्ष घिमिरे कार्तिक २७ गते चीन प्रस्थान गर्नुभएको थियो। उपाध्यक्ष घिमिरेसँगै उहाँका श्रीमान् दुर्गाप्रसाद आचार्य र स्वकीय सचिव प्रेमबहादुर सिंह भ्रमणमा सहभागी हुनुभएको थियो।