• ७ मंसिर २०८१, शुक्रबार

हिंसा र दुर्व्यवहारको जोखिममा बालबालिका

blog

काठमाडौँ, मङ्सिर ५ गते । गोर्खाकी १२ वर्षीया गङ्गा थापा ‘नाम परिवर्तन’को घरमा दिदी, बहिनी, आमाबुबा गरेर पाँच जना सदस्य थिए । उहाँको आमाबुबाले खेतीपातीको काम गर्नु हुन्थ्यो । घरको आर्थिक अवस्था कमजोर भएको कारण गङ्गा र उहाँका दिदी बहिनीले पढ्न पाएनन् । 

त्यसैले गङ्गा र दिदीबहिनीले घरमा आमाबुबालाई नै काममा मद्दत गर्थे । साथीहरू स्कुल गएको देख्दा गङ्गालाई पनि स्कुल जान मन लाग्थ्यो तर उहाँको इच्छा पुरा हुन सकेको थिएन । गङ्गाको दिनचर्या नियमित नै बिती रहेको थियो । तर, बिस्तारै बुबा कुलतमा फस्दै गए । दैनिकरुपमा रक्सी खाएर आउने घरमा झै-झगडा गर्ने कुटपिट गर्ने गर्न थाल्नुभयो । त्यसपछि गङ्गाको परिवारकोस्थिति अझै नाजुक हुँदै गयो ।

घरको वातावरणले गङ्गालाई निकै गाह्रो हुन्थ्यो । त्यसैले एक दिन घरबाट भागेर काठमाडौँ जाने निर्णय गर्नुभयो  ‘काठमाडौँ गएर कुनै काम गरेर बस्छु’ । त्यही सोचको साथ गङ्गा घरबाट भागेर काठमाडौँ पुग्नुभयो । काठमाडौँ आएर गाउँकै एक जना चिनेको दिदीकोमा गएर र आफूलाई काम खोज्दिन आग्रह गर्नु भयो । त्यो गाउँको दिदीले गङ्गालाई एउटा घरमा काम लगाइ दिनुभयो । बिहान बेलुका घरको काम गर्नुपर्ने दिउँसो पढ्न जान पाइने पनि बताइएको थियो । यो कुराले गङ्गालाई निकै खुसी बनायो ।

काठमाडौँ, चपल कारखानास्थित एउटा घरमा गङ्गा काम गर्न थाल्नुभयो । घरको सबै काम गर्नुपर्थ्यो । त्यस घरमा काम गर्न थालेको एक महिना बिती सक्दा पनि गङ्गालाई त्यस घरका साहुले स्कुल पठाएनन् बिस्तारै पठाउने आश्वासन मात्र दिए । काम गर्ने घरमा साहु, साहुनी र उहाँहरूका दुई छोराछोरी बस्थे । छोराछोरी विद्यालय जान्थे भने साहु साहुनी काममा । 

गङ्गा दिनभरि घरको काममा व्यस्त हुनुपर्थ्यो । एक दिन अचानक गङ्गालाई ज्वरो आयो र घरको काम गर्न सक्नु भएन । त्यस दिन साहुनी गङ्गालाई एकदमै नराम्रो शब्दहरू प्रयोग गरेर गाली गर्नुभयो  । अन्य समयमा पनि केही काम बिग्रियो भने गङ्गाले गाली सुन्नुपर्थ्यो । बिस्तारै कुटपिट पनि हुन थाल्यो । आफूमाथि दुर्व्यवहार भइरहेको छ भन्ने कुरा गङ्गाले छुट्टाउन सकिरहनु भएको थिएन । 

तर, दुर्व्यवहार दिनप्रति दिन बढ्न थाल्यो । अब गङ्गालाई सहन नै गाह्रो हुन थाल्यो त्यसैले एक दिन घरबाट भाग्नुभयो । त्यस घरबाट त भागेर अब कहाँ जाने भन्ने टुङ्गो थिएन । त्यसपछि गङ्गा फेरी त्यही गाउँको दिदिलाई भेट्न पुग्नुभयो । त्यसपछि गाउँले दिदीले गङ्गालाई अर्को घरमा काममा सहयोगको लागि राखिदिनु भयो । त्यस घरमा गङ्गालाई राम्रो व्यवहार हुन्थ्यो । त्यस घरका साहुले गङ्गालाई पढ्न इच्छा भएकाले वैकल्पिक विद्यालयमा भर्ना पनि गरिदिनुभयो । अहिले गङ्गा निकै खुसी हुनुहुन्छ ।

१४ वर्षको उमेरमा कामको खोजीमा सिन्धुलीबाट काठमाडौँ आउनु भएकी लिजा तामाङ ‘नाम परिवर्तन’को पनि कथा उस्तै छ । गरिबी र अभावको कारण उहाँले कक्षा ५ पछि पढाइलाई अघि बढाउन सक्नु भएन । पहिलो श्रीमतीबाट दुई वटा छोरी जन्मिएपछि छोराको आसमा उहाँको बुवाले दोस्रो विवाह गर्नुभयो । तर, दोस्रो श्रीमतीको पनि पहिलो सन्तानको रूपमा मायाको जन्म भयो । लिजापछि पनि थुप्रै छोरीहरू जन्मिएपछि परिवारको आर्थिक अवस्था झन् कमजोर हुँदै गयो ।

पढाइ पनि बिचमै छोड्नु परेको र खान लाउन नै अभाव भएपछि कामको खोजीमा माया काठमाडौँ आउनुपर्‍यो । काठमाडौँ आएर उहाँले व्याइज होस्टेलमा काम गर्न थाल्नुभयो । बोइज होस्टेलमा काम गर्दा लिजाले विभिन्न किसिमको दुर्व्यवहार सहनुपर्‍यो । त्यहाँ भोग्नु परेको नराम्रो व्यवहारको कारण लिजाले काम छोड्नुभयो ।  

त्यसपछि लिजा एउटा रेस्टुरेन्टमा वेटरको काम गर्न थाल्नुभयो । वेटरको रूपमा काम गर्दा पनि उहाँले विभिन्न प्रकारको यौन दुर्व्यवहार सहनुपर्‍यो । साथै, तलब पनि समयमा नपाइने । रेस्टुरेन्टमा काम गर्दा सहेको दुर्व्यवहारले लिजामा ठुलो आघात पर्‍यो जसले गर्दा १५ वर्षको उमेरमा उहाँलाई डिप्रेसन भयो । स्वास्थ्य अवस्था एकदमै बिग्रिएपछि उहाँको दिदीले लिजालाई बालबालिकाको लागि काम गर्ने ‘छोरी संस्था’मा लगेर राखिदिनु भयो ।

संस्थामा जोडिएको केही समयपछि लिजाको स्वास्थ्यमा सुधार हुँदै गयो । साथै उहाँले संस्थाकै सहयोगमा बेकरी सिक्नुभयो । आजभोलि उहाँ एउटा बेकरीमा काम गर्नुहुन्छ र आफ्नो छुटेको पढाइ पनि पुनः सुरु गर्नु भएको छ । आफूमाथि दुर्व्यवहार भएको छुट्टाउन कलिलो मष्तिकलाई गाह्रो पर्ने भएकाले पनि बालबिालकाहरु हरेक किसिमको हिंसा र दुर्व्यवहारको उच्च जोखिममा रहन्छन् ।

अधिवक्ता हरिप्रसाद मैनालीका अनुसार बालबालिकालाई पिर पर्ने वा आघात पुग्ने खालका नकारात्मक व्यवहार वा क्रियाकलापलाई बाल दुर्व्यवहार भनिन्छ । मैनाली थप्नुहुन्छ ‘अश्लील कार्य तथा सामग्री निर्माणमा प्रयोग गर्ने । यौनजन्य मनसायले शरीरको संवेदनशील अङ्गमा स्पर्श गर्ने, चुम्बन गर्ने, समाउने, अङ्कमाल गर्ने वा आफ्नो वा अरू कसैको शरीरको संवेदनशील अङ्ग छुन वा समाउन लगाउने वा यौनजन्य मनसायले बेहोस पार्ने वा यौनजन्य अङ्ग प्रदर्शन गर्ने वा गर्न लगाउने । कामवासना वा यौन उत्तेजना उत्पन्न गर्न बालबालिकालाई प्रयोग गर्ने वा गराउने । यौन सन्तुष्टि प्राप्त गर्न बालबालिकालाई प्रयोग गर्ने वा गराउने । बाल यौन शोषण गर्ने वा गराउने । यौनजन्य सेवा उपलब्ध गराउने उद्देश्यले बालबालिकाको प्रयोग गर्ने वा गराउने । यौन दुर्व्यवहार गर्ने उद्देश्यले बालबालिकाको प्रयोग गर्ने वा गराउने । वेश्यावृत्ति वा अन्य यौनजन्य कार्यमा प्रयोग गर्ने आदि पनि बाल यौन दुर्व्यवहार भित्र नै पर्छ ।’

नेपाल बाल श्रम प्रतिवेदन सन् २०२१ अनुसार १० लाख ८० हजार बालबालिका श्रममा छन् । समग्र बालबालिकाको जनसङ्ख्यामा बालश्रममा रहेका बालबालिकाको १६ प्रतिशत हुन आउँछ । त्यसमा पनि दुई लाख बालबालिकालाई अत्यन्त जोखिमपूर्ण श्रम शोषण भएको देखिन्छ । कर्णाली प्रदेशमा २५ प्रतिशत, सुदूरपश्चिममा लगभग २१ प्रतिशत र कोसी प्रदेशमा पुगनपुग १८ प्रतिशत बालबालिका श्रम शोषणमा छन् । समग्रमा दलित समुदायको बालबालिका २० प्रतिशत श्रम शोषणमा परेका छन् ।

राष्ट्रिय श्रम शक्ति सर्वेक्षण प्रतिवेदनअनुसार करिब २१ लाख ४० हजार बालबालिका आर्थिक रूपमा सक्रिय रहेका छन् । प्रतिवेदनअनुसार १६ लाख बालबालिका श्रमिककैरुपमा कार्यरत थिए भने तीमध्ये छ लाख २० हजार बालबालिका निकृष्ट प्रकारको श्रममा संलग्न रहेका छन् ।

राष्ट्रिय बाल अधिकार परिषद्का पूर्वकार्यकारी निर्देशक तथा बालश्रम निवारण अभियन्ता मिलन धरेल भन्नुहुन्छ १४ वर्ष भन्दा कम उमेरका बालबालिकाको वृद्धि र विकासमा नकारात्मक असर पार्ने काम गराउनु नै बालश्रम हो । अलिक विस्तृतमा भन्नुपर्दा बालबालिकालाई शिक्षा, खेलकुद, मनोरञ्जनका सट्टामा उनीहरूको शारीरिक, मानसिक, सामाजिक तथा नैतिक विकासको गतिविधिमा बाधा वा अवरोध हुने गरी काममा लगाउनु बालश्रम हो । बालश्रम गराउनु भनेको एक प्रकारको दासत्व पनि हो 

बाल अधिकारकर्मी तिलोत्तम पौडेलका अनुसार बालश्रम र बालहिंसा नियन्त्रण गर्नका लागि बालबालिका सम्बन्धी ऐन २०७५ कार्यान्वयन हुनुपर्छ । बालबालिकाको शिक्षामा जोड दिने । बालमैत्री स्थानीय शासन र बालश्रम मुक्त पालिका बनाउने भन्ने जुन लक्ष्य छ त्यसलाई पुरा गर्ने । जसले बालश्रम गराएका छन् र बालहिंसा गर्छन् उनीहरूलाई कानुनी दायरामा ल्याउन सकियो भने बालश्रम र बालहिंसालाई अन्त्य गर्न सकिने पौडेलको भनाइ छ ।