• ७ मंसिर २०८१, शुक्रबार

धार्मिक पर्यटकहरुको गन्तव्य बन्दै सताक्षीधाम

blog

धार्मिक भक्तजन तथा दाताको सहयोगमा केही वर्षयता बनेका संरचना । तस्विरः विष्णुप्रसाद पोखरेल

विष्णुप्रसाद पोखरेल

दमक, मङ्सिर ५ गते । केही वर्ष अघिदेखि झापाको ऐतिहासिक तथा पौराणिक महत्व बोकेको सताक्षीधामको विकास तीव्र गतिमा बढेपछि धार्मिक पर्यटकहरुको आवागमन बढेको छ । 

पूर्व–पश्चिम राजमार्गबाट करिब ४ किलोमिटर उत्तर चुरे फेदीमा रहेको सताक्षीधाममा बिजुली र सडक कालोपत्रे भएपछि यहाँ पर्यटकको आवागमन बढेको हो । सताक्षीधाम परिसरमा नेपालकै नमुना गोलोक गोवर्धन गौशाला स्थापना भएपछि यसको धार्मिक महत्व अझ उजागर भएको बताइन्छ । 

उहाँ अलपत्र परेका गाई–गोरुहरु ल्याएर संरक्षण तथा हेरचाह गरिँदैआएको छ । गौशाला निर्माणले यस क्षेत्रको मुहार फेरिएको सताक्षीधाम विकास समितिका पूर्व अध्यक्ष प्रसाद सुब्बाले बताउनुभयो ।

विगत १० वर्षमा यहाँको स्वरुप नै परिवर्तन भएको छ, उहाँले भन्नुभयो । सडकको सहज पहुँच, विद्युत् र यहाँ बनेका नयाँ मन्दिर तथा संरचनाहरुले धार्मिक पर्यटकलाई यहाँसम्म सहज रुपमा ल्याउन थालेको उहाँले बताउनुभयो । पूर्वकै महत्वपूर्ण धार्मिक पर्यटकीय क्षेत्रको रुपमा सताक्षीधामको नाम आउन थालेको उहाँले उल्लेख गर्नुभयो ।

सताक्षीधाम परिसरमा रहेको गोलोक गोवर्धन गौशालाका संरक्षक आचार्य नन्दकिशोर भारद्वाजका अनुसार आफूहरुलाई विश्वास गरेर दाताहरुले गरेको विश्वास र सहयोगले सताक्षीधामको महिमा बढेको छ । यहाँ करोडौंका धार्मिक संरचनादेखि लिएर संस्कृत पाठशालासम्म सञ्चालन भएको उहाँले बताउनुभयो ।

१० वर्ष अघिदेखि हामीले गोरक्षका लागि महोत्सव पनि आयोजना गर्दै आएका छौ, उहाँले भन्नुभयो । सताक्षीमाताको मन्दिर विश्वमा एकमात्र यहीं रहेकाले यसको महत्व पनि धेरै रहेको उहाँले बताउनुभयो । सुरुवातका दिनहरुमा यहाँ काम थाल्दा आफूले निकै कष्ट भोगेको स्मरण गर्दै उहाँले अहिले विश्वास आर्जित भएपछि भक्तजनको दानबाट नै यहाँको विकास भइरहेको बताउनुभयो । 

नेपाल, भारत, भुटान, अमेरिका, क्यानडा, स्विजरल्यान्ड, अस्ट्रेलिया, न्युजिल्यान्ड, नर्वे, डेनमार्क, नेदरल्याण्ड, युके, फिनल्यान्डलगायत मुलकमा रहेका भक्तजनले यस क्षेत्रको विकासका लागि योगदान दिएको उहाँले जानकारी दिनुभयो । स्थानीय, सङ्घीय र प्रदेश सरकारको पनि सहयोग छ, उहाँले भन्नुभयो ।

सताक्षीधाममा आउने धार्मिक पर्यटकको बसोबासका लागि धर्मशाला निर्माण, साधुसन्त तथा ज्येष्ठ नागरिकलाई लक्षित गरेर आश्रम बनाउने काम पनि धमाधम भइरहेको छ । नेपालमा पहिलो पटक द्वादश ज्योतिर्लिङ्ग सताक्षीधाममा निर्माण भएपछि यसको धार्मिक महत्व थप बढेर गएको भारद्वाजले बताउनुभयो ।

बालाचतुर्दशी, शिवरात्री, गुरुपूर्णिमा, रामनवमी, गोरक्षा महोत्सवजस्ता पर्वमा सताक्षीधाम क्षेत्रमा धार्मिक मेलामा हजारौंको भिड लाग्ने गरेको गौशालाका सचिव मदनमोहन अधिकारीले बताउनुभयो । गोवर्धन गौशालाका संरक्षक आचार्य नन्दकिशोर भारद्वाजको पहल र उहाँको प्रयासले सताक्षीधामले नयाँ पहिचान पाएको उहाँको दाबी छ । 

एकजना सन्तको प्रयास र स्थानीयको विश्वासले यो सम्भव भएको हो, उहाँले भन्नुभयो । शिवसताक्षी नगरपालिकाले पनि यसलाई झापाको प्रमुख धार्मिकस्थलको रुपमा विकास गर्न गुरुयोजना बनाएको छ । नगरपालिकाका प्रमुख रोशन थोप्राका अनुसार ऐतिहासिक तथा धार्मिक महत्व बोकेको सताक्षीधामको बिकास र प्रवर्धनका लागि गुरुयोजना बनाएर अघि बढेको बताउनुभयो ।