• ७ मंसिर २०८१, शुक्रबार

तीन महिनादेखि विषादी परीक्षण बन्द

blog

चितवन, मङ्सिर  ३ गते ।  भरतपुर महानगरपालिका-२ मा रहेको महानगर फलफूल तथा तरकारी बजारको विषादी अवशेष द्रुत विश्लेषण प्रयोगशाला विगत तीन महिनादेखि बन्द अवस्थामा रहेको छ । मेसिनमा खराबी देखिएपछि प्रयोगशालाबाट परीक्षणको काम रोकिएको हो । 

कृषि विकास कार्यालय चितवनका सूचना अधिकारी सुरुचि त्रिपाठीका अनुसार गत तीन महिनादेखि मेसिन बिग्रिएपछि विषादी परीक्षणको काम रोकिएको हो ।  दैनिक करिब पाँचवटा नमुनाको विषादी परीक्षण गरिने मेसिन बिग्रिएपछि बनाउनका लागि पठाइएको उहाँले जानकारी दिनुभयो । मौसम अनुसारका ताजा तरकारी तथा फलफूलमा विषादीको अवशेष परीक्षण गरिँदै आइएको थियो ।

प्रयोगशाला वि.सं. २०७६ असोज ७ गते स्थापना गरिएको थियो । त्यसपछि वार्षिक सात सयभन्दा बढी नमुना परीक्षण गरिँदै आइएको थियो । परीक्षणका आधारमा विषादी युक्त फलफूल तथा ताजा तरकारी नष्ट गर्ने र केही समय राखेर मात्र बिक्री गर्न दिइने गरिएको थियो । 

कार्यालयका प्रमुख झलकनाथ कँडेलका अनुसार ‘स्पेक्ट्रो फोटो मिटर’ बिग्रिएकाले निर्माणका लागि काठमाडौँ पठाइएको छ । उहाँले भन्नुभयो, “मर्मत भइसकेको छ । हप्ता दश दिनमा यहाँ आइसक्छ । अनि तत्काल काम सुरु हुन्छ ।”  रासस