• ७ पुस २०८१, आइतबार

‘लोकतान्त्रिक मूल्यमान्यताप्रति अडिग पूर्वसभामुख ढुङ्गाना’

blog

काठमाडौँ, मङ्सिर ३ गते । सरकार सत्तापक्षको, सदन प्रतिपक्षको भन्ने प्रजातान्त्रिक मूल्य, मान्यता र आदर्शलाई मुखरित गर्दै सभामुखको भूमिका पनि तटस्थ हुनुपर्छ भन्ने मान्यतालाई तत्कालीन सभामुख दमननाथ ढुङ्गानाले व्यवहारमै स्थापित गर्नुभयो ।

नेपालको  बहुदलीय व्यवस्था, लोकतन्त्र र मानवअधिकारका पक्षमा जीवनपर्यन्त वकालत गर्नुहुने उहाँले मुलुकमा विगतको माओवादी सशस्त्र द्वन्द्व अन्त्य गरी शान्ति बहाली गर्नसमेत महत्वपूर्ण भूमिका निर्वाह गर्नुभयो ।

तत्कालीन उपसभामुख एवं लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा)का अध्यक्ष महन्थ ठाकुर भन्नुहुन्छ, “जसको बहुमत हुन्छ, सरकार उसैकोे हुन्छ, प्रतिपक्षभएन भने उसले आफ्ना कुरा संसद्मा कसलाई सुनाउने ? विपक्षको पनि स्थान संसदीय व्यवस्थामा वैधानिक र निश्चित हुन्छ । प्रतिपक्षविना संसद् चल्न सक्दैन । त्यसै सन्दर्भमा ढुङ्गानाजीले सधैँजसो सत्ता पक्षको सरकार तथा प्रतिपक्षको सदन भन्नुहुन्थ्यो ।”

विसं २०४८ देखि ५१ सम्म ढुङ्गाना सभामुख र लोसपाका हालका अध्यक्ष ठाकुर उपसभामुख हुनुहुन्थ्यो । पूर्वसभामुख ढुङ्गानालाई सम्झँदै उहाँले भन्नुभयो, “उहाँ बडा असल व्यक्ति हुनुहुन्थ्यो । हामी दुवै एक अर्कामा पर्याप्त छलफल गरी सदन सञ्चालन गथ्र्यौँ ।” 

सरकार माओवादीबीचको शान्ति वार्तामा पूर्वसभामुख ढुङ्गानाले सहजकर्ताको भूमिका निर्वाह गर्नुभएको थियो । राजनीति क्षेत्रमा देखिएको विकृति र विसङ्गतिबारे स्पष्ट र खरो रुपमा प्रतिक्रिया दिँदै आउनुभएका संविधान र कानुनका ज्ञाता ढुङ्गाना २०४८ सालमा काठमाडौँ निर्वाचन क्षेत्र नं २ बाट प्रतिनिधिसभा सदस्यमा निर्वाचित हुनुभएको थियो । त्यसै बखत संसदीय व्यवस्था र मूल्य मान्यतालाई संस्थागत गर्न उहाँले ठूलो भूमिका निर्वाह गर्नुभयो ।

विसं १९९८  माघ १७ गते पिता केदारनाथ ढुङ्गाना र मातालक्ष्मीदेवी ढुङ्गानाका ज्येष्ठ सुपुत्रका रुपमा काठमाडौँ ओमबहाल जन्मनुभएका दमननाथको बाल्यकालको पढाइ भक्तपुरमा भयो । प्रवेशिका परीक्षा भने उहाँले काठमाडौँ पद्मोदय माध्यमिक विद्यालयबाट उत्तीर्ण गर्नुभएको थियो ।

त्रिभुवन विश्वविद्यालय विद्यार्थी युनियनका निर्वाचित उपाध्यक्ष, पछि अध्यक्षको समेत जिम्मेवारी सम्हाल्नुभएका ढुङ्गानाले त्यसबेला उपत्यकाव्यापी विद्यार्थी सम्मेलन र राष्ट्रव्यापी विद्यार्थी सम्मेलन तयारी समितिका सदस्य वरिष्ठ अधिवक्ता ढुङ्गाना नेपाल विद्यार्थी सङ्घका संस्थापक सदस्य हुनुहुन्थ्यो ।

विसं २०१४ को भद्र अवज्ञामा सहभागी ढुङ्गानाले २०१७ सालदेखि स्वतन्त्रता, बहुदल र मानवअधिकारका पक्षमा अविरल र अथक आवाज उठाइरहनुभयो । सिद्धान्त, निष्ठा, स्वाभिमान र नैतिकतामा अडिग रही राष्ट्रिय एकता र मेलमिलापका माध्यमद्वारा राजनीतिक विवाद समाधानका पक्षमा लागिरहने नेपाली कांग्रेसको दोस्रो पुस्ताका नेताका रुपमा स्थापित हुनुभयो ।

नेपाल बार एसोसिएसन र सर्वोच्च बार एसोसिएनको पटकपटक सचिव  हुनुभएका ढुङ्गाना सर्वोच्च बार एसोसिएसनको अध्यक्षसमेत हुनुभयो । नेपाली कांग्रेस केन्द्रीय परामर्श समिति सदस्यका अतिरिक्त ढुङ्गानाको जीवनको अर्को परिचय असल गद्य लेखक पनि हो । काठमाडाँै बत्तीसपुतली–गौशाला निवासी ढुङ्गानाले त्रिभुवन विश्वविद्यालयबाट एमए र बीएल गर्नुभएको थियो ।

यसैबीच, वरिष्ठ अधिवक्ता ढुङ्गानासँगै ३० देखि ४० को दशकमा करिब १४ वर्ष एउटै कार्यालयमा बसेर वकालत गर्नुभएका पूर्वमहान्यायाधिवक्ता महादेवप्रसाद यादव भन्नुहुन्छ, “ढुङ्गानाजी बौद्धिक र अध्ययनशील पेसाप्रति इमान्दार निष्कलङ्क व्यक्ति हुनुहुन्थ्यो ।”

पूर्वसभामुख ढुङ्गानाको बानेश्वरस्थित फ्रन्टलाइन अस्पतालमा उपचारका क्रममा  ८३ वर्षको उमेरमा आइतबार दिउँसो १ः३० बजे निधन भएको हो । उहाँ कलेजोसँग सम्बन्धित समस्याका कारण केही समयदेखि उपचाररत हुनुहुन्थ्यो । ढुङ्गानाको पार्थिव शरीर श्रद्धाञ्जलीका लागि आज (सोमबार) ११ बजे ज्ञानेश्वरस्थित सानो गौचरणमा दुई घण्टा राखिने र त्यसपछि भोलि नै पशुपति आर्यघाटमा अन्त्येष्टि गरिने जानकारी दिइएको छ ।