• ७ मंसिर २०८१, शुक्रबार

पूर्वीय दर्शन ज्ञान र परम्पराको स्रोत हो : राष्ट्रपति पौडेल

blog

राष्ट्रपति रामचन्द्र पौडेल ब्रह्माकुमारी ज्ञानसरोवर एकेडेमीको कार्यक्रमलाई सम्बोधन गर्नुहुँदै । तस्बिर : राष्ट्रपतिको सचिवालय

काठमाडौँ, मंसिर २ गते। राष्ट्रपति रामचन्द्र पौडेलले नेपाल पूर्वीय दर्शन, ज्ञान र परम्पराको स्रोत भएको बताउँदै पूर्वीय सभ्यताभित्र अनेक संस्कृति र सभ्यताको एकता र ऐक्यबद्धता देख्न सकिने बताउनुभएको छ। 

ब्रह्माकुमारी ज्ञानसरोवर एकेडेमीको आइतबार नगरकोटमा उद्घाटन गर्दै उहाँले जसका कारण विश्वमा शान्ति, सहिष्णुता र बन्धुत्वको भावना जागृत गराउने काममा मद्दत पुग्ने बताउनुभयो। 

राष्ट्रपति पौडेलले भन्नुभयो, ‘यसका लागि मानिसभित्र आपसी मित्रता, प्रेम, सद्भाव र सहअस्तित्वको पवित्र विचार सृजना गर्न आवश्यक छ। आज भौतिक विकाससँगै आध्यात्मिक चेतना, ज्ञान र जागरणको महसुस वर्तमान विश्वले गरिरहेका छ। आज मान्छे भौतिक विकासभित्र सुख र शान्तिको लागि भौँतारिरहेकाे यही कारण हो।’ 


उहाँले विश्वमा चरम भौतिक विकासको चाहना र होडबाजी बढ्दै गएका कारण  समाजमा शान्ति, सुव्यवस्था, आपसी सद्भाव, सहयोगको भावना खस्कँदै गएको बताउनुभएको छ।

राष्ट्रपति पौडेलले ब्रह्माकुमारीले चलाएको आध्यात्मिक जागरणको अभियानले समाजमा प्रेम, सद्भाव र शान्ति स्थापना गरी सभ्य र सुसंस्कृत समाज निर्माणमा महत्त्वपूर्ण योगदान पुर्‍याउने विश्वास व्यक्त गर्नुभयो।  

उहाँले ज्ञानसरोवर एकेडेमीमा बनेका चारधामसहितका तपस्या केन्द्रहरूले ज्ञान र योगका माध्यमबाट व्यक्ति र समाजमा आध्यात्मिक जागरण ल्याउन योगदान पुग्ने बताउनुभयो। राष्ट्रपति पौडेलले यसबाट मानिसलाई आफूलाई संयम राख्दै सुखद जीवनयापनका लागि मद्दत पुग्ने बताउनुभयो।