• ८ मंसिर २०८१, शनिबार

टाँडीखोला पुल निर्माणकाे काम ५० प्रतिशत सम्पन्न

blog

गुणबहादुर रोका 

सुलीकोट, मङ्सिर २ गते । गोरखाको पालुङटार नगरपालिका–८ धुबाँकोटस्थित टाँडीखोलाको पुल ५० प्रतिशत कार्य प्रगति सम्पन्न भएको छ । पालुङटार नगरपालिका–८ को धुबाँकोट र पृथ्वी राजमार्ग जोड्ने मोटरबेल पुल डेढ वर्षमा सम्पन्न गर्नुपर्ने सम्झौतामा उल्लेख भएतापनि ५ महिनामै ५० प्रतिशत कार्य प्रगति भएको पूर्वाधार कार्यालय गोरखाका साइड इन्जिनियर मोहन श्रेष्ठले जानकारी दिनुभयो । 

उहाँका अनुसार टाँडी खोलामा मोटरेबल पुलनिर्माणका लागि चक्र देवी-आमा जेभीसँग २०८१ साल वैशाख १६ गते सम्झौता भई २०८२ साल कात्तिक १० गते डेढ वर्षमा सकिने गरी काम अघि बढाइएता पनि निर्माण कम्पनीले द्रुत गतिमा काम गरेकाले झण्डै पाँच महिना नपुग्दै ५० प्रतिशत काम सम्पन्न भएको हो । उक्त पुल पालुङटार नगरपालिका–८ धुवाँकोटको टाँडी खोलामा बन्ने मोटरबेल पुलको लम्बाई १६.६ र चौडाइ ८.४० मिटर रहेको छ ।  

निर्माण कम्पनीले मोटरेबल पुल निर्माणको लागि समयमा आवश्यक सामान बेलैमा ढुवानी गरी पुल बनाउने स्थलमा दक्ष प्राविधिक सहितको टोली व्यवस्थापन गरिएकाले  पनि डेढ वर्षमा सक्नुपर्ने काम १० महिनामा सम्पन्न हुने भएको पूर्वाधार कार्यालय गोरखका प्रमुख गणेश सुबेदीले बताउनुभयो ।

निर्माण कम्पनीले यही गतिमा गयो भने २०८१ चैतभित्र पुल निर्माण सम्पन्न हुने विश्वास लिइएको छ । पूर्वाधार कार्यालय गोरखा र निर्माण कम्पनीबिच दुई करोड २५ लाख ३५ हजार ५ सय ८२ रुपियाँ भ्याट सहित लागतमा सम्झौता भएको हो । 

पालुङटार नगरपालिका ७ र ८ नम्बर वडा लिचिको पकेट क्षेत्र भएकाले पनि पृथ्वीराजमार्गबाट सबैभन्दा नजिक परेकाले पनि बाह्र महिना धुबाँकोटका स्थानीय किसानहरूले उत्पादन गरेको लिची, उखु र अदुवा गोरखा सदरमुकाम, चितवन, तनहुँ, पोखरा र काडमाडौँसम्म सजिलै लान सकिने भएका लिची किसान ईश्वर श्रेष्ठको भनाइ छ । 

उक्त पुल निर्माण सम्पन्न भएपछि पालुङटारमा उत्पादन भएका कृषि उत्पादनहरू सहजै बिक्री गरी ७ र ८ नम्बर वडावासीलाई आर्थिकउपर्जनमा समेत टेवा पुग्ने पालुङटार नगरपालिका–८ का अध्यक्ष होप बहादुर नेपालीले बताउनुभयो ।