• ८ मंसिर २०८१, शनिबार

‘जहाँ हरेक काम गर्दा साइत जुराउनु पर्छ’

blog

क्याङमा घाँस काट्दै स्थानीय पाल्मा साङी लामा र फु गाउँ ।

यदुप्रसाद भट्ट

मनाङ, मङ्सिर २ गते । खर्कभरी चौंरी, याक र घोडाका बथान छन् । मङ्सिर लागेसँगै यिनलाई लेकबाट बेँसी झारिन्छ । माथि लेकमा घाँस पनि सकिएको र अत्यधिक चिसो बढ्न थालेको छ । 

हिउँदमा पहाड र तराईजस्तो पशुचौपायालाई खुवाउने पराल पाइँदैन मनाङमा । न त दाना नै किन्न पाइन्छ अनि बथानका बथान पशु चौपायालाई दाना दिन पनि सकिँदैन । यस्तै, पिरलोले सधैं राति नै उठ्नुपर्ने र हिउँदमा पशुका लागि घाँसको व्यवस्थापन गर्नुपर्ने बाध्यता छ, मनाङ नार्पाभूमि गाउँपालिका फु गाउँका महिलालाई ।

नार्पाभूमिका किसानहरू हरेक काम गर्दा साइत हेरेर जुराएर मात्र गर्छन् । गोठ सार्न, यार्सागुम्बा टिप्न, जिम्बु टिप्न, बाली लगाउन, सिँचाइ गर्न अनि आफ्नो थातबास छाडेर सहर पस्न पनि साइत नहेरी कोही जाँदैनन् । गाउँका मुख्य लामाले साइत निकालेपछि मात्र उनीहरूले आफ्नो काम गर्ने चलन छ । 

‘लामाले निकालेको साइतमा मात्र काम गर्ने चलन छ हाम्रो । बिना साइत हामी कुनै काम गर्दैनौं’ नार्पाभूमि गाउँपालिकाका अध्यक्ष कोन्जो तेन्जिङ लामाले भन्नुभयो । उहाँले सामूहिक काम गर्दा लामा गुरुले साइत निकालेपछि कटुवाल लगाएर जानकारी दिने र सोहीअनुसार काम गर्ने पुरानै चलन रहेको बताउनुभयो ।

यही र यस्तै साइत जुराएर तल–तल पहाड भीरमा पुगेर खर घाँस काट्नुपर्ने र त्यही घाँसलाई सुकाएर पराल बना हिउँदमा हिउँ परेको बेला खुवाउनुपर्ने हुँदा यतिबेला फु गाउँका किसानलाई भ्याइनभ्याइ हुन्छ । 

फु गाउँकी नाङसाङ छ्योकी मध्यरातमै गाउँलेसँगै उठेर घाँस काट्न क्याङ पुग्नुभयो । फुबाट क्याङ जान ३ घण्टा लाग्छ । उज्यालो हुँदा गाउँभरिका किसानहरू क्याङमा भरिभराउ भएका थिए । उनीहरू लामाले जुराएको साइतमा घाँस काट्नका लागि क्याङ गएका हुन् । लामाले घाँस काट्न निकालेको साइतबारे अघिल्लो दिन नै कटुवालमार्फत गाउँलेलाई सूचित गरिएको थियो । डाँडामाथिबाट कटुवालले चिच्याएर गाउँलेलाई साइतबारे जानकारी दिएका थिए ।

नार्पाभूमि गाउँपालिका –१ नरका वडाध्यक्ष फुर्पा ठेले लामाले हिउँ परेको समयलाई सहज बनाउन घाँस काटेर राख्ने गरिएको बताउनुभयो । ‘यो पशुपालन गर्ने ठाउँ हो । हिउँ परेपछि पशु जोगाउन गाह्रो हुन्छ । हरियो घाँस पाइँदैन’ उहाँले भन्नुभयो– ‘पशुपालन धेरै भएको हुँदा बेलैमा जोहो गरिएन भने हिउँद साह्रै कष्टकर हुन्छ । हिउँदका लागि जोहो गरिएको हो ।’ 

नारका किसानहरू च्याँखु र मेतासम्म घाँस काट्न झर्छन् भने फु गाउँका चाहिँ क्याङमा जान्छन् । उनीहरूले ३ दिनसम्म गाउँमै घाँस काट्छन् । ३ दिन वनमा र बाँकी ३ दिन बेँसीमा गएर घाँस काट्ने गर्छन् । ‘घाँस धेरै उम्रेको वर्षमा ३ दिनसम्म काट्छौं । घाँस नहुँदा २ दिनसम्म काटिन्छ’ लामाले भन्नुभयो, ‘अनुकूल समय हेरेर समाजको काम र मौसमसमेत आँकलन गरेर लामाले साइत निकाल्नुहुन्छ ।’ 

लामाको गोठमा ६ वटा याक र २ वटा घोडा छन् । हिउँदयाम सुक्खा हुँदा पशुपालनमा निकै सास्ती पर्ने उहाँको भनाइ छ । तीन दिन काटेको घाँसले हिउँदभरिलाई पुर्‍याउनुपर्ने बाध्यता छ ।

एक हिसाबले घाँस काट्ने समय पर्वजस्तै उत्सवमय हुन्छ । हुन त बेँसीमा चरन क्षेत्र छुट्याइएको छ । नार र फुमा वर्षाका बेला बेँसीमा बस्तु झार्न प्रतिबन्ध छ भने हिउँद लागेपछि गाउँमा उकाल्न पाइँदैन । वर्षाको समय खेती गरिन्छ । खेती मास्ने डरले पशुहरू लेकतिर चराउँछन् । 

गाउँलेहरू हिउँदका लागि बसाइँ पनि सर्छन् । नार गाउँका मानिसहरू च्याँखु र मेतामा सर्छन् भने फु गाउँकाहरू क्याङमा आउँछन् । केहीचाहिँ आफन्त भेट्न र सानोतिनो व्यापारका लागि काठमाडौं, पोखरा र नेपालका विभिन्न सहरमा पुग्छन् । यो उनीहरूको वार्षिक तालिका नै हो ।

‘मौसम सफा भएको र पानी नपर्ने समय पात्रोबाट लामाले खोजी गर्छन् । लामाले निकालेको समयभित्र घाँस र खेती थन्क्याइसक्नुपर्छ’ गाउँपालिकाका अध्यक्ष कोन्जो तेन्जिङ लामाले भन्नुभयो, ‘भ्याइएन भने पनि त्यसपछि काम गर्न पाइँदैन । खासगरी लामाले फसल नकुहिने समयको खोजी गर्ने हो ।’ तराई र पहाडमाजस्तो यहाँ मन लागेको बेला बाली भित्र्याउन र घाँस काट्न नपाइने लामाले बताउनुभयो ।