• ७ मंसिर २०८१, शुक्रबार

हिमाल चिन्नै मुस्किल

blog

कविराज घिमिरे

हिले, मङ्सिर २ गते । धनकुटा नगरपालिका वडा नम्बर १० का युवा डगेन्द्र पौडेल खुला मौसममा हिमाल हेर्न बर्सेनि हिले आसपासका डाँडा पुग्नुहुन्छ । हिले र आसपासका डाँडाबाट मौसम खुलेको बेला आँखैअगाडि सुन्दर हिमाल देखिन्छ । पौडेल तिनै सुन्दर हिमाल हेरेर मोहित हुनुहुन्छ, मक्ख पर्नुहुन्छ तर लहरै सुन्दर हिमाल देखिए पनि ती हिमाल कुन कुन हुन् भन्ने जानकारी आफूलाई नभएको पौडेल बताउनुहुन्छ । 

“हिमाल त सुन्दर देखिन्छ, बर्सेनि हेर्छौं तर हेरेको हिमाल कुन हो भन्ने कुरो अहिलेसम्म पत्ता लगाउन सकिएन । न कसैलाई सोध्दा थाहा हुन्छ न कतै जानकारी दिने सामग्री नै छ,” पौडेल भन्नुहुन्छ । 

संखुवासभाका सुमन श्रेष्ठ धनकुटाको हिले बसेको करिब चार वर्ष भयो । बिहानीको हिँडाइमा खुला मौसममा हिमाल लहरै देख्नुहुन्छ तर देखिएका हिमाल कुन कुन हुन् भन्ने जानकारी उहाँलाई पनि छैन । मकालु हिमाल चाहिँ संखुवासभामा रहँदैदेखि चिनेको भए पनि अन्य हिमालको नाम थाहा नभएको उहाँ बताउनुहुन्छ । “मकालु हिमाल चिनिन्छ, त्योबाहेक कञ्चनजङ्घा चाहिँ पल्लो छेउको हो कि जस्तो लाग्छ, तीबाहेक अन्य एक दर्जनभन्दा बढी देखिएका चुचुरा कुन कुन हुन् थाहा छैन,” श्रेष्ठ भन्नुहुन्छ । देखिएका हिमाल चिन्ने व्यवस्था भए हिमालको हेराइ सार्थक हुने उहाँको भनाइ छ । 

धनकुटा नगरपालिका वडा नम्बर १ मा रहेको हिले र हिले आसपास दुई हजार मिटरभन्दा बढी उचाइबाट पूर्वका धेरै हिमालको मनोरम दृश्य देखिन्छ तर देखिएकामध्ये कञ्चनजङ्घा र मकालुबाहेकका अन्य हिमाल कुन कुन हुन् भन्ने पहिचान हुन सकेको छैन । जसका कारण हिमाल हेर्न आउने पर्यटक हिमाल हेरेर मनोरञ्जन त लिन्छन् तर जानकारी भने लिन पाउँदैनन् ।

करिब तीन दशकअघिसम्म हिले बजार हिमाल अवलोकनका लागि आन्तरिक तथा बाह्य पर्यटकको मुख्य गन्तव्य थियो । मकालु तथा कञ्चनजङ्घा बेस क्याम्प जाने मुख्य नाका थियो तर सडक अन्यत्र विस्तार भएसँगै बेस क्याम्प जाने रुट मात्रै परिवर्तन भएन, बाह्य पर्यटकसमेत हिमाल हेर्न हिले आउन छाडे । अहिले आन्तरिक तथा अलि अलि भारतीय पर्यटक हिमाल अवलोकनका लागि हिले पुग्ने गरेको होटल व्यवसायी लालचन्द्र गोड्वा बताउनुहुन्छ ।

आठ हजार मिटरभन्दा बढी उचाइका विश्वकै अग्लो सगरमाथा, विश्वकै तेस्रो अग्लो कञ्चनजङ्घा हिमालसहित चोयु, मकालु, ल्होत्से पूर्वमा पर्छन् । यी सम्पूर्ण हिमाल हिलेबाट देखिने विभिन्न लेखमा उल्लेख गरेको पाइन्छ । हिलेबाट सात हजार १४५ मिटरको गौरीशङ्कर हिमालदेखि पूर्वी सिमानामा रहेको आठ हजार ५८६ मिटर उचाइको विश्वकै तेस्रो अग्लो कञ्चनजङ्घा हिमालबिचका अधिकांश चुली देखिने जनाइएको छ । यसबिचमा सात हजार मिटरभन्दा बढी उचाइका दुई दर्जनभन्दा बढी चुचुरा रहेको भूगोलविद् स्व. डा. हर्क गुरुङले लेख्नुभएको विषय विविध नामक पुस्तकको लेख नेपालका हिमाल शीर्षकमा उल्लेख गर्नुभएको छ । 

यो समस्या धनकुटाको हिलेमा मात्र नभएर पूर्वका अधिकांश हिमाल देखिने स्थानको समस्या रहेको हिमालको क्षेत्रमा लामो समय काम गर्नुभएका नेपाल पर्वतारोहण सङ्घका मुख्य सल्लाहकार आङ छिरिङ शेर्पा बताउनुहुन्छ । “आफ्नो स्थानबाट देखिने हिमाल कुन हो भन्नेतर्फ कसैले चासो दिएन । स्थानीय, स्थानीय पर्यटन व्यवसायी, स्थानीय सरकार तथा केन्द्र सरकारले यसबारे चासो नदिँदा हिमाल चिन्न समस्या भएको हो,” शेर्पा भन्नुहुन्छ । उचाइ, फैलावट, चहलपहल सबै हिसाबले पूर्वका हिमाल राम्रो अवस्थामा रहेको उहाँको दाबी छ । आफ्नो क्षेत्रबाट देखिने चुचुरा पहिचानका लागि स्थानीय, स्थानीय पर्यटन व्यवसायी, स्थानीय सरकार तथा केन्द्र सरकारले चासो दिनुपर्ने उहाँको जोड छ ।

धनकुटाको हिलेसहित जेफाले, भेडेटार, पटेकडाँडा, ध्वजेडाँडा सांस्कृतिक पार्क आदि मुख्य हिमाल अवलोकन गर्ने क्षेत्र हुन् । त्यस्तै तेह्रथुमको तीनजुरे मिल्के क्षेत्र, भोजपुरको मुन्दुम ट्रेल, पाँचथरको पौवा भन्ज्याङ, लाब्रेकुटी, सिरौटी, रानीटार, सुकेपोखरी तथा इलामको सन्दकपुर, पाटेनागी, श्रीअन्तु, मेघ्मा, पशुपतिनगर आदि हिमाल अवलोकन गर्ने मुख्य क्षेत्र हुन् । संखुवासभा र ताप्लेजुङका अधिकांश डाँडाबाट सुन्दर हिमाल देख्न सकिन्छ । देखिएका केहीबाहेक अधिकांश हिमाल चिन्न समस्या रहेको स्थानीय बताउँछन् । 

हिमालनजिक पुग्न नसक्ने तर नियाल्न चाहनेहरूका लागि मध्यपहाड राम्रो स्थान भएकाले देखिने हिमाल पहिचान हुनुपर्ने धनकुटा हिलेका पर्यटन व्यवसायी श्रीराम रायमाझी बताउनुहुन्छ । हिमाल हेर्ने स्थान तोकेर फोटा वा सङ्केतमार्फत हिमाल चिन्न सक्ने व्यवस्था गर्न सके हिमालको महत्व बढ्नुका साथै हिमाल हेर्ने पर्यटक पनि बढ्ने उहाँको अनुमान हुन्छ । “हिमालप्रति चासो राख्ने जानकारी लिन खोज्ने समूह धेरै छ, तराई तथा भारतको बिहारका बासिन्दाका लागि मध्यपहाड हिमाल अवलोकन गर्ने सबैभन्दा नजिकको एक राम्रो गन्तव्य हो । यसको प्रवर्धन गर्न सके तथा हिमालका बारेमा आएका पर्यटकलाई जानकारी दिन सके मध्य पहाडमा पर्यटकको चाप बढ्ने छ,” रायमाझी भन्नुहुन्छ ।