• ७ मंसिर २०८१, शुक्रबार

कात्तिक नाचमा प्रल्हाद उद्धार (फोटो फिचर)

blog

प्रल्हाद उद्धार गर्न विष्णु नरसिंह अवतारमा । तस्बिर– मनोजरत्न शाही

काठमाडौं, कात्तिक ३० गते । हिरण्यकश्यपको वधसँगै पाटनको मङ्गलबजारको कात्तिक डबलीमा प्रदर्शन गरिएको कात्तिक नाचको सबैभन्दा महत्त्वपूर्ण अंश नरसिंह अवतार सकिएको छ । आफ्नो छोरा प्रल्हादलाई संहार गर्न खोजेपछि विष्णुले नरसिंह अवतार लिइ प्रल्हादको उद्धार गर्दछन् भने हिरण्यकश्यपको वध गरिदिन्छन् ।

बिहीबार राति कात्तिक नाचको नवौं दिनमा उक्त नाच प्रस्तुत गरिएको हो । यो नाच मल्लकालीन राजा सिद्धिनरसिंह मल्लले ३८३ वर्षअघि सुरु गर्नुभएको मान्निछ । विसं १६९७ मा पाटनका राजा सिद्धिनरसिंह मल्लले देश र जनताको कल्याणार्थ सो नाचको सुरुआत गरेको बताइन्छ । कात्तिक नाचको माध्यमद्वारा देशमा आउने बिघ्नबाधा हटी शान्त्ति र सुव्यवस्था कायम रहने विश्वास छ ।

कात्तिक महिनाभरि विभिन्न विधि र प्रकारका नृत्य प्रदर्शन गरिने भएकाले यस नाचलाई ‘कात्तिक नाच’ भनिएको हो । सत्ताइस दिनसम्म सो नाच प्रदर्शन गर्दा हरेक दिन विभिन्न विषयवस्तु तथा कथामा आधारित बेग्लाबेग्लै तरिकाले नृत्य मञ्चन गरिनु यसको विशेषता मानिन्छ । यस वर्षको कात्तिक नाच आज शुक्रबार वस्त्र हरणको प्रस्तुतिपछि सकिनेछ ।


Author
मनोजरत्न शाही

उहाँ गोरखापत्र अनलाइनका लागि फोटो र भिडियो रिपोर्टिङ गर्नुहुन्छ ।