• ७ मंसिर २०८१, शुक्रबार

दुईदलीय संयन्त्र विस्तार

blog

विराटनगर समाचारदाता

विराटनगर, कात्तिक ३० गते । सरकारको कामलाई प्रभावकारी बनाउन सत्ता समीकरणका दल नेकपा (एमाले) र नेपाली कांग्रेसबिच गठन भएको राजनीतिक संयन्त्र कोशी प्रदेशमा पनि विस्तार गरिएको छ । दुई दलका प्रमुख नेताहरू सहभागी रहने गरी प्रदेशस्तरीय राजनीतिक संयन्त्र गठन गरिएको हो । 

मुख्यमन्त्री तथा मन्त्रीपरिषद्को कार्यालय विराटनगरमा पत्रकार सम्मेलनको आयोजना गरी संयन्त्र गठन गरिएको जानकारी दिइएको हो । पत्रकार सम्मेलनमा दुई दलीय संयन्त्रलाई जिल्ला तहमा समेत विस्तार गरिने जानकारी दिइएको छ । 

संयन्त्रमा नेकपा (एमाले) का तर्फबाट कोशी प्रदेशका पूर्वमुख्यमन्त्री एवं पार्टी स्थायी कमिटी सदस्य तथा कोशी प्रदेश इन्चार्ज शेरधन राई, मुख्यमन्त्री हिक्मतकुमार कार्की र पार्टीका प्रदेश अध्यक्ष घनश्याम खतिवडा रहनुभएको पत्रकार सम्मेलनमा जानकारी दिइयो । कांग्रेसको तर्फबाट संयन्त्रमा कोशी प्रदेश संसदीय दलका नेता उद्धव थापा, भौतिक पूर्वाधार विकासमन्त्री तथा पार्टीका कोशी प्रदेश महामन्त्री भूपेन्द्र राई रहनुभएको छ । बुधबार नै बसेको संयन्त्रको पहिलो बैठकले कांग्रेस कोशी प्रदेशका महामन्त्री उमेश थापालाई संयन्त्रको सदस्य थप गर्ने निर्णय गरेको छ । 

मङ्गलबार बसेको संयन्त्रको बैठकको अध्यक्षता नेकपा (एमाले) का नेता शेरधन राईले गर्नुभएको थियो । बैठकले विभिन्न सातबुँदे निर्णयसमेत गरेको जानकारी दिइएको छ । 

संयन्त्र गठन गर्दा भएको सहमतिबमोजिम नै प्रदेशस्तरीय संयन्त्रको नेतृत्व पनि आलोपालो गर्ने निर्णय बैठकले गरेको छ । बैठकको अध्यक्षता एमाले कोशी इन्चार्ज राई र कांग्रेस संसदीय दलका नेता थापाले हरेक बैठक आलोपालो गरी गर्नुहुने छ । दोस्रो बैठकको अध्यक्षता अब कांग्रेस नेता थापाले गर्नुहुने जानकारी पत्रकार सम्मेलनमा दिइएको छ । 

बैठकले एक साताभित्रै प्रदेशका सबै जिल्लामा संयन्त्र गठन गरिसक्ने निर्णय गरिएको छ । जिल्लास्तरीय संयन्त्रमा दुवै दलबाट तीन तीन जना सदस्य रहने निर्णय गरिएको छ । 

बैठकले सार्वजनिक सेवा प्रवाहलाई प्रभावकारी बनाउँदै जनमुखी, सुशासनयुक्त बनाउन प्रदेश तथा स्थानीय तहको सरकारलाई प्रभावकारी रूपमा सञ्चालन गरी समाजमा व्याप्त सबै प्रकारका अराजकता र भ्रष्टाचारलाई अन्त्य गर्न सबै संयन्त्रलाई प्रभावकारी रूपमा परिचालन गर्ने निर्णयसमेत गरेको जानकारी राईले दिनुभयो । कोशी प्रदेशको दुई दलीय संयन्त्र र कोशी प्रदेश सरकारका मन्त्रीबिच प्रदेश सरकारको कामलाई प्रभावकारी बनाउने विषयमा आगामी मङ्सिर १४ गते शुक्रबार विराटनगरमा छलफल गर्ने निर्णय भएको उहाँले बताउनुभयो । बैठकले संयन्त्रलाई उद्देश्य अनुरूप एकरूपताका साथ अगाडि बढाउने र वर्तमान निराशाको अवस्थालाई आशामा बदल्ने बताउनुभयो ।