• ७ मंसिर २०८१, शुक्रबार

मानव–वन्यजन्तु द्वन्द्व बढ्दै

blog

अविनाश चौधरी

धनगढी, कात्तिक २९ गते । कञ्चनपुरको दक्षिणी क्षेत्रमा मानव र वन्यजन्तुबिच द्वन्द्व बढ्न थालेको छ । जङ्गली हात्तीले घरखेतमा नोक्सानसहित मान्छेको ज्यानसमेत लिएपछि द्वन्द्व बढ्न थालेको हो । पछिल्लो डेढ महिनादेखि लालझाडी गाउँपालिका र बेलौरी नगरपालिकामा जङ्गली हात्तीको झुन्डले आतङ्क मच्चाइरहेको छ । हात्तीको आतङ्कले स्थानीय त्रसित छन् । 

करिब ४०/५० को सङ्ख्यामा रहेका हात्ती रातदिन उखुबारीमै बस्न थालेपछि जनजीवन त्रसित भएको लालझाडी गाउँपालिकाका अध्यक्ष निर्मल रानाले बताउनुभयो । “एक/डेढ महिनादेखि हात्तीको झुन्ड यतै छ,” उहाँले भन्नुभयो, “जङ्गली हात्तीका कारण हिँडडुल गर्न पनि गाह्रो भइसकेको छ ।” जङ्गली हात्तीले ५० बिघा जमिनको उखु बाली नष्ट गरिसकेको अध्यक्ष रानाको भनाइ छ । यसै गरी हात्तीले लालझाडी गाउँपालिका–३ र ४ मा स्थानीयका घरसमेत भत्काएको छ । हात्तीले आतङ्क जारी राखेपछि घरखेत जोगाउनका लागि लालझाडी र बेलौरीका स्थानीय रातभर जाग्राम बस्ने गरेका छन् । 

खेतमा आएको हात्तीको झुन्ड धपाउने क्रममा असोज १३ गते हात्तीको आक्रमणबाट एक जनाको ज्यानसमेत गयो । हात्तीले लालझाडी गाउँपालिका–४ का ५० वर्षीय रामदल रानाको ज्यान लिएको थियो । सो घटनाको हप्ता दिनपछि जङ्गली हात्तीले बेलौरी नगरपालिका–६ का २२ वर्षीय उमेश चौधरीको पनि ज्यान लिएको थियो । 

दिनमा समेत हात्तीको झुन्ड बस्तीतिर आउन थालेपछि गाउँघरमा हिँडडुल गर्न गाह्रो भएको जनाइएको छ । गाउँपालिका अध्यक्ष रानाले बस्तीतिर आएका जङ्गली हात्ती धपाउनका लागि अन्य निकायले सहयोग नगरेको गुनासो गर्नुभयो । उहाँले हात्तीलाई जङ्गलतिर धपाउन पालिका मात्रै अग्रसर रहेको बताउनुभयो । 

खेत र बस्तीतिर आएका हात्ती धपाउनका लागि पालिकाले जेसिबी, ट्याक्टर, बाजागाजा र ढोलको व्यवस्था गरेको छ । दिउँसो बस्तीतिर आएको हात्तीलाई जेसिबी प्रयोग गरेर वनतिर धपाउने गरेको अध्यक्ष रानाले जानकारी दिनुभयो । “जेसिबी लिएर धपाउन जाँदा हात्ती जेसीबिसँगै लड्न आउने गर्दछन्,” उहाँले भन्नुभयो । 

जङ्गली हात्तीको आतङ्क जारी रहेको लालझाडी गाउँपालिका मोहना–लालझाडी कोरिडोर आसपासमा पर्दछ । दुधुवा नेसनल पार्क र मोहना–लालझाडी कोरिडोरमा ओहोरदोहोर गर्ने क्रममा हात्तीको झुन्डले खेतीपातीसहित मानव बस्तीमा नोक्सान गर्दै आएको छ । 

हात्तीले खेतीपातीमा ठुलो नोक्सान गर्न थालेपछि उखु खेती गरेका कृषक समस्यामा परेका छन् । खेतमा पुगेर हात्तीले उखु सखाप पार्ने गरेको लालझाडी गाउँपालिका–४, पर्सियाका रमेश रानाले बताउनुभयो । डेढ बिघा जमिनमा लगाइएको उखुलाई हात्तीको झुन्डले एकै रातमा सखाप पारेको दुखेसो पोख्दै उहाँले भन्नुभयो, “ऋण सापटी लिएर गरेको खेती हात्तीले सखाप पारे । सरकारले हामीलाई क्षतिपूर्तिको व्यवस्था गर्नु पर्छ ।” उखुबारीमा हात्तीको झुन्ड पसेपछि धपाउन नसक्ने गरेको किसानले बताएका छन् । उनीहरूले हात्ती आतङ्कको समाधान खोज्न सम्बन्धित निकायलाई आग्रह गरेका छन् । 

लालझाडीसहित कञ्चनपुरको पूर्वी क्षेत्रमा जङ्गली हात्तीको आतङ्क अझै जारी रहेको डिभिजन वन कार्यालय कुण्डामा कार्यरत वन अधिकृत दिनेशकुमार यादवले बताउनुभयो । उहाँले जङ्गली हात्तीले यसै वर्ष दुई जनाको ज्यान लिनुका साथै घर, खेतीपातीमा नोक्सान गरेको जानकारी दिनुभयो । मृतकका परिवारलाई क्षतिपूर्तिका लागि प्रक्रिया अगाडि बढाइएको वन अधिकृत यादवले जानकारी दिनुभयो । वन्यजन्तुले मान्छेको ज्यान लिएमा मृतकका परिवारलाई १० लाख रुपियाँ क्षतिपूर्ति दिने नेपाल सरकारले व्यवस्था गरेको छ । यसै गरी कृषिमा क्षति भएका कृषकलाई पनि क्षतिपूर्ति दिने व्यवस्था रहेको छ ।