• २५ मंसिर २०८१, मङ्गलबार

कृषि पेसाबाट वडा अध्यक्षले वार्षिक १० लाख कमाउँदै

blog

कृषि कर्ममा रमाउँदै वडा अध्यक्ष अर्जुन कनौजे । तस्बिरः तिलाचन पाण्डे

तिलाचन पाण्डे

तम्घास, कात्तिक २८ गते । जनताको सेवाका साथै यहाँका एक जना वडा अध्यक्ष कृषि पेसामा रमाउँदै आउनुभएको छ । बिहानैदेखि राति अबेरसम्म जनताको काम र वडाको विकासमा खटिएर बाँकी रहेको समयमा कृषि कर्ममा खटिने गरेको सत्यवती गाउँपालिका वडा नम्बर १ का वडा अध्यक्ष अर्जुन कनौजेले बताउनुभयो ।  

३५ वर्षीय कनौजेले विगत १८ वर्षदेखि ताजा तरकारी खेती गर्दै आउनुभएको छ ।  अध्यक्षमा निर्वाचित भइसकेपछि पनि आम नागरिकको सेवाको साथमा व्यावसायिक कृषि कर्मलाई निरन्तरता दिएको बताउँदै विगतलाई भुल्न नहुने उहाँको तर्क छ । 

आफ्नो २० रोपनीसहित थप २० रोपनी जग्गा लिजमा लिएर ताजा तरकारी खेती गर्दै आउनुभएका कनौजेले वार्षिक २० लाख रुपियाँसम्मको कारोबार हुने गरेको बताउनुभयो । २५ वटा प्लास्टिक टनेमा विभिन्न प्रजातिका टमाटर साथै नर्सरी गर्दै आएको उहाँको भनाइ छ ।  

टनेल बाहिर बन्दा, काउलीलगायतका तरकारी रहेको उहाँले बताउनुभयो । २०६८ सालमा अर्जुन ताजा तरकारी तथा दुध उत्पादन फर्म दर्ता गरी आफूले कृषि कर्म गर्दै आएको उहाँले बताउनुभयो । 

जनताको सेवाबाट थोरै फुर्सद भए पनि आफू कृषिमा लाग्ने गरेको उहाँले सुनाउनुभयो । विशेषगरी बिहान साँझको समय नै कृषिमा लाग्ने गरेको र घर परिवारको पनि साथ रहेको उहाँले बताउनुभयो । 

वार्षिक २० लाख बढीको कारोबारमा १० लाख रुपियाँ बढी बचत गर्ने गरेको उहाँले बताउनुभयो । उत्पादित कृषिउपजको बजारीकरणका लागि कुनै समस्या नभएको बताउँदै धेरैजसो स्थानीयस्तरमै खपत हुने गरेको उहाँको भनाइ छ । पछिल्लो समय राजनीतिले मात्र नहुने भन्दै उत्पादनसँग जोडिनुपर्नेमा उहाँले जोड दिनुभयो । 

देशको युवालाई विदेश जानुभन्दा स्वदेशमै क्रान्ति गर्न उहाँले सुझाव दिनुभयो ।  अर्काको देशमा गएर श्रम बेच्नुभन्दा स्वदेशमा नै सम्भावना रहेकाले यहीको माटोमै सुन फलाउन सकिने उहाँको तर्क छ ।

यता, कृषि ज्ञान केन्द्र गुल्मीका प्रमुख नवराज भण्डारीले कनौजेले गरेको कार्यलाई सबैले अनुसरण गरेमा राम्रो हुने बताउनुभयो । व्यावसायिक रुपमा गरिने कृषि र पशुपालनबाट स्वदेशमा नै आत्मनिर्भर बन्न सकिने उहाँको भनाइ छ । युवालाई स्वदेशमा नै कृषि र पशुपालनको माध्यमबाट टिकाइ राख्न अनुदान, प्रविधि सहयोग र परामर्श दिदैँआएको भण्डारीले बताउनुभयो ।