• १८ पुस २०८१, बिहिबार

भूकम्प प्रभावितलाई चालिस दिनको रोजगारी

blog

चौरजहारीमा सडक स्तरोन्नतिको काममा जुटेका भूकम्प प्रभावित । तस्बिर : राजु लामिछाने

मुसीकोट समाचारदाता

रुकुमपश्चिम, कात्तिक २८ गते । रुकुमपश्चिमको चौरजहारी नगरपालिका र सानीभेरी गाउँपालिकाका एक हजार ६४३ जना भूकम्प प्रभावितलाई ४० दिन बराबरको रोजगारी दिइएको छ । चौरजहारी नगरपालिकाले आर्थिक वर्ष २०८१/८२ को पहिलो त्रैमासिकमा नगरपालिका क्षेत्रभित्रका ९१३ जना र सानीभेरी गाउँपालिकाले ७३० जनालाई रोजगारी प्रदान गरेको जनाइएको छ ।  

भूकम्प प्रभावित परिवारलाई आयआर्जनका लागि सहयोग पुर्‍याउन कामका लागि नगद कार्यक्रम अन्तर्गत रोजगारी प्रदान गरिएको हो । 

विश्व खाद्य कार्यक्रम र सप्रोक्स नेपालसँगको सहकार्यमा उक्त कार्यक्रम भइरहेको चौरजहारी नगरपालिकाका निमित्त प्रमुख प्रशासकीय अधिकृत शेरप्रसाद ढकालले जानकारी दिनुभयो । उहाँका अनुसार चौरजहारीमा सञ्चालित कामका लागि नगद कार्यक्रमबाट १०.६ किलोमिटर सडक स्तरोन्नति गरिएको छ । 

सडकको स्तरोन्नतिसँगै ९१३ जना कामदारले ३६ हजारका दरले तीन करोड २८ लाख ६८ हजार रकम पाउने भएका छन् । यसबाट वडा नम्बर ४ को अमलाटाकुरा हुँदै बस्नेतज्युला जाने सडक, वडा नम्बर ८ को बडाखोलादेखि स्वास्थ्य चौकीसम्मको सडक र वडा नम्बर १४ को तिमिले हुँदै लामाडाँडा साक्चा जाने सडक स्तरोन्नति गरिएको छ । 

त्यसै गरी सानीभेरी गाउँपालिकाका तीन कृषि सडकमा स्तरोन्नतिको काम भइरहेको छ । गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत दीपक बुढाथोकीका अनुसार वडा नम्बर १, २ र ४ मा छ किलोमिटर सडक स्तरोन्नतिको काम भइरहेको छ । 

यस कार्यका लागि तीन करोड ३१ लाख १२ हजार ३७ रुपियाँ बजेट व्यवस्थापन गरिएको छ । तीन वटा वडामा तीन सडक स्तरोन्नति कार्यमा यहाँका ७३० जना भूकम्प प्रभावित परिचालन भएका छन् । उनीहरूले ४० दिन बराबरको रोजगारी पाउने छन् । उनीहरूलाई ३६ हजारको दरले ज्याला उपलब्ध गराइने बताइएको छ । 

वडा नम्बर १ का २४९ जना, वडा नम्बर २ का २२६ जना र वडा नम्बर ४ का २५५ जना लाभग्राहीहरूले कामका आधारमा पारिश्रमिक पाउने बुढाथोकीले बताउनुभयो । उहाँका अनुसार वडा नम्बर १ को चाइनाबगरदेखि पक्रैया हुँदै बुकिचौरसम्मको कृषि सडक स्तरोन्नतिका लागि एक करोड १३ लाख नौ हजार ८८६ रुपियाँ, वडा नम्बर २ को गिठाकोटदेखि वसन्तडाँडा हुँदै पुर्तिमकाँडासम्मको कृषि सडकमा एक करोड छ लाख १० हजार ४३४ रुपियाँ र वडा नम्बर ४ को नायखोलादेखि खालचौर हुँदै गाउँबारी टुरा कृषि सडक स्तरोन्नतिका लागि एक करोड ११ लाख ९१ हजार ७१६ रुपियाँ बजेट व्यवस्था गरिएको छ ।