• ७ मंसिर २०८१, शुक्रबार

मतियार र बिचौलियासँग कहिल्यै सम्झौता गर्दिन: मन्त्री पाण्डे

blog

संस्कृति पर्यटन तथा नागरिक उड्डनमन्त्री बद्री पाण्डे। फाइल तस्बिर

काठमाडौँ, कात्तिक २७ गते । संस्कृति पर्यटन तथा नागरिक उड्डनमन्त्री बद्री पाण्डेले मतियार र बिचौलियासँग कहिल्यै पनि सम्झौता नगर्ने उद्घोष गर्नुभएको छ । मङ्गलबार नेपाल विद्याश्रम संस्कृति माध्यमिक विद्यालयको स्वर्ण महोत्सवका अवसरमा राजधानीमा आयोजित कार्यक्रममा बोल्दै मन्त्री पाण्डेले उक्त कुरा बताउनु भएको हो ।

मन्त्री पाण्डेले इमान्दार भएर काम गर्न खोज्नेहरूलाई स्वार्थ समूहका कारण घेराबन्दीमा पार्न खोजेको बताउनुभयो । ‘‘पहिला राजनीति गर्ने व्यक्तिहरू बलियो हुनुहुन्थ्यो । अहिले स्वार्थ समूहका शक्तिशाली भएको देखिरहेको छु ।’’ मन्त्री पाण्डेले भन्नुभयो, ‘‘मैले तीन चार महिनाको अवधिमा निष्ठापूर्वक काम गरिरहँदा केही स्वार्थ समूहका मतियारले मलाई मान मर्दन गर्ने, मेरो मनोबल, आत्मबलाई गिराउने गरी काम गरिरहेका छन् ।’’

मन्त्री पाण्डेले पशुपति नाथको मन्दिरलाई साक्षी राख्दै भन्नुभयो, ‘‘म यो पशुपति नाथको मन्दिर अगाडि प्रतिज्ञा गरेर भन्न सक्छु, करोड खाएको कुरा केही अनलाइनहरूलाई प्रयोग गरेर, केही बिचौलियाका मतियारहरूले आरोप लागायका छन् ।  करोड त के कौडी खाएको खाएको पुष्टि गरेको दिन म पशुपतिको ढोका अगाडि आएर मेरो राजनीतिक जीवन परित्याग गर्ने प्रतिज्ञा गर्न चाहन्छु ।’’

उहाँले आफू स्वार्थ समूहका मतियार र बिचौलियाहरूसँग कहिल्यै पनि सम्झौता नगर्ने बताउनुभयो । उहाँले देश र राष्ट्रको हितका लागि जस्तोसुकै कदम चाल्न पनि पछि नहट्ने प्रष्ट पार्नुभयो ।

उहाँले उहाँले आफू संस्कृति पढेको, धर्मप्रति आस्था र विश्वास राख्ने व्यक्ति भएको उल्लेख गर्दै आफूले राजनीतिलाई सेवाभावको रूपमा बुझेको प्रष्ट पार्नुभयो ।

राजनीतिक भित्र विकृति विसङ्गतिका मतियारहरूले तथ्य, प्रमाण र हल्लाका रूपमा सामाजिक सञ्जालको प्रयोग गर्दे अफवाह फैलाइएको भन्दै आक्रोश व्यक्त गर्नुभयो ।

कुन व्यक्तिले राजनीतिलाई दुरुपयोग गरिरहेको छ ? कुन व्यक्तिले राजनीतिलाई सदुपयोग गर्नु भएको छ ? भन्दै उहाँले थप्नुभयो, म आत्मविश्वासको साथ भन्न सक्छु, वाल्मीकि क्याम्पसको स्ववियु सभापति हुँदा र मन्त्री हुँदा समेत आफ्नो जीवनशैलीमा कुनै परिवर्तन छैन ।