• ७ मंसिर २०८१, शुक्रबार

मतदानस्थलको अनुगमन

blog

मतदानस्थलको अनुगमनमा सहभागी सुरक्षा अधिकारी । तस्बिरः प्रहरी

जानु पाण्डे

कपिलवस्तु, कात्तिक २७ गते । मङ्सिर १६ गते हुने उपनिर्वाचनको लागि कपिलवस्तुको शुद्धोदन गाउँपालिका वडा नम्बर १ का मतदानस्थलको अनुगमन गरिएको छ। 

लुम्बिनी प्रदेश प्रहरी प्रमुख प्रहरी नायब महानिरीक्षक कुबेर कडायतसहितको प्रहरी टोलीले वडाका मतदानस्थलको अनुगमन गर्नुभएको जिल्ला प्रहरी कार्यालय कपिलवस्तुले जनाएको छ ।

अनुगमनका क्रममा निर्वाचनमा कुनै पनि कमजोरी हुन नदिने र सुरक्षा संयन्त्रको पहुँच, विगतका घटना तथा अवस्थालाई मध्यनजर गर्दै मतदान स्थलमा शान्ति सुरक्षाको व्यवस्था मिलाउन निर्देशन दिनुभएको थियो । 

कम्पाउन्डवाल र घेराबेरा नगरिएका संवेदनशीलस्थलको थप निगरानी गर्ने तयारीसमेत रहेको जिल्ला प्रहरी प्रमुख निरञ्जनदत्त भट्टले बताउनुभयो । डिआइजी कडायतले जिल्ला सुरक्षा समितिका पदाधिकारीसँग उपनिर्वाचनको विषयमा छलफलसमेत गर्नुभएको छ ।

नेपाली काँग्रेसबाट निर्वाचित वडा अध्यक्ष तिलकराम यादवको २०८१ असोज ८ गते निधन भएपछि रहेको रिक्त पदको लागि निर्वाचन हुन लागेको हो ।