• ७ मंसिर २०८१, शुक्रबार

नयाँ जोडीलाई प्रजनन स्वास्थ्य सन्देशसहितको कार्ड

blog

नवविवाहित जोडीलाई शुभकामना कार्ड प्रदान गर्नुहुँदै वडाध्यक्ष चन्द्रकुमार तामाङ।

चन्द्र पन्दाक

ताप्लेजुङ, कात्तिक २७ गते। ताप्लेजुङको मैवाखोला गाउँपालिकामा नयाँ विवाहित जोडी (दम्पती) लाई शुभकामना कार्ड (पत्र) प्रदान गर्न थालिएको छ। विवाहित जोडीलाई दाम्पत्य जीवन स्वास्थ्य, सुखमय र उज्ज्वल बनाउनमा सहयोग पुग्ने स्वास्थ्य सन्देशहरु समावेश गरिएको शुभकामना कार्ड प्रदान गर्न थालिएको हो।

मैवाखोला गाउँपालिका–१ ढुङ्गेसाँघुमा नवविवाहित जोडी अर्थात् भर्खरै वैवाहिक सम्बन्ध सुरुवात गरेका दम्पत्तिलाई स्वास्थ्य सन्देशहरु समावेश रहेको कार्ड प्रदान गरिएको छ। वडाध्यक्ष चन्द्रकुमार तामाङले वडा कार्यालयमा उपस्थित भएका विवाहित जोडीलाई मङ्गलबार उक्त शुभकामना कार्ड प्रदान गर्नुभएको हो।

वडाध्यक्ष तामाङका अनुसार नवविवाहित जोडीलाई प्रदान गरिएको शुभकामना कार्डमा प्रजनन स्वास्थ्य, जन्मजात अपाङ्गता रोकथाम लगायतमा अपनाउनुपर्ने सावधानी र तरिकाजस्ता स्वास्थ्य सन्देश छन्। सन्देशमूलक स्वास्थ्यसम्बन्धी जानकारी भएको शुभकामना कार्डले नवविवाहित जोडीको भविष्य सुखमय बनाउनमा सहयोग पुग्ने विश्वास राखिएको वडाध्यक्ष तामाङको भनाइ छ।

वडा कार्यालयले पहिलो पटक यसखाले रचनात्मक कामको सुरुवात गरेको पनि उहाँले जानकारी दिनुभयो। विवाहित जोडीको जीवन सुखमय बनाउन साथै भावी सन्ततिको स्वस्थ स्वास्थ्यका लागि सहयोग पुर्‍याउने उद्देश्यले नवविवाहित दम्पतीलाई शुभकामना कार्ड प्रदान गर्ने अभियानको सुरु गरेको वडा कार्यालयले जनाएको छ।