• ७ मंसिर २०८१, शुक्रबार

प्रभावकारी सूचना प्रवाह आवश्यक छ : मन्त्री तिमिल्सिना

blog

लुम्बिनी प्रदेशका सामाजिक विकास मन्त्री जन्मजय तिमिल्सिना कार्यक्रममा सम्बोधन गर्दै । तस्विर : लीलाधर वली

लीलाधर वली

घोराही,  कात्तिक २६ गते । लुम्बिनी प्रदेशका सामाजिक विकासमन्त्री जन्मजय तिमिल्सिनाले प्रदेश सरकारको कामलाई स्थापित गर्न प्रभावकारी सूचना प्रवाह जरुरी रहेको बताउनुभएको छ । 

बागेश्वरी असल शासन क्लब (बास) ले सोमबार लमहीमा आयोजना गरेको लुम्बिनी प्रदेशस्तरीय प्रभावकारी सूचना प्रवाह बिषयक कार्यक्रमलाई सम्वोधन गर्दै मन्त्री तिमिल्सिनाले प्रदेश सरकारले गरेका कामलाई जनतासम्म लग्दै विश्वास जित्नेगरी काम गर्नुपर्ने बताउनुभएको हो । 

सूचनाको हक कार्यान्वयनले सुशासन प्रवर्धन र भ्रष्टाचार न्यूनीकरणमा महत्वपूर्ण भूमिका खेल्ने भन्दै सामाजिक विकासमन्त्री तिमिल्सिनाले सामाजिक विकृति र विसंगतिविरुद्ध प्रभावकारी सूचना प्रवाह आवश्यक रहेको बताउनुभयो । उहाँले प्रदेश सरकारको असल कामहरूको प्रचार प्रसारमा जोड दिँदै शैक्षिक क्षेत्रलाई बलियो बनाउँदा मात्र सबैखालका विकृति अन्त्य गर्न सकिने बताउनुभयो ।

प्रभावकारी सूचना प्रवाहले मात्र सुशासन कायम गर्न र भ्रष्टाचार न्यूनीकरण गर्न भूमिका खेल्नेमा जोड दिनुभयो । प्रदेश सरकारले गरेका असल कामहरुको प्रचार प्रसारका लागि ध्यान दिनुपर्ने उहाको भनाइ छ । नेपालगञ्जमा रहेको प्रदेश प्राविधिक विश्व विद्यालयलाई पूर्णरुपमा सञ्चालन गर्दै दक्ष जनशक्ति उत्पादनमा केन्द्रित गर्नेगरी लाग्नुपर्ने बताउनुभयो । 

नेतृत्वलाई विश्वास गरेर अघि बढ्नु पर्ने, प्रदेश सरकारप्रति भरोसा बढाउनु पर्ने, नागरिकमैत्री सेवालाई चुस्त बनाउनु पर्ने, अराजक गतिविधिलाई निरुत्साहित गर्न सबैको विचमा सहकार्य जरुरी रहेका मन्त्री तिमिल्सिनाले बताउनुभयो ।  

कार्यक्रममा पूर्व सामाजिक विकासमन्त्री रत्न खत्रीले जनताले बुझ्नेगरी सूचना प्रवाह गर्न जरुरी रहेको बताउनुभयो । 

कार्यक्रममा आन्तरिक मामिला तथा कानुन मन्त्रालयका उपसचिव राजेन्द्रप्रसाद पन्थिले सूचनाको हक कार्यान्वयन गर्न प्रदेश सरकार प्रतिबद्ध रहेको बताउनुभएको थियो ।