• ७ मंसिर २०८१, शुक्रबार

चौध लाख विद्यार्थीलाई मौका

blog

गोरखापत्र समाचारदाता

काठमाडौँ, कात्तिक २५ गते ।  राष्ट्रिय परीक्षा बोर्डले ११ र १२ को विगतका परीक्षामा सहभागी भएर उत्तीर्ण हुन नसकेका वा तोकिएको ग्रेड प्राप्त गर्न नसकेका २१ वर्ष पुराना परीक्षार्थीलाई मौका परीक्षा व्यवस्था गर्ने भएको छ । बोर्डको यो व्यवस्था अनुसार बोर्डबाट सम्बन्धन लिएर सञ्चालित शैक्षिक संस्थामा यसअघि अध्ययन गरेका तर परीक्षामा अनुत्तीर्ण वा अनुपस्थित भएका जतिसुकै पुराना विद्यार्थीले पनि मौका परीक्षामा बस्न पाउने भएका छन् । बोर्डका परीक्षा नियन्त्रक कृष्णप्रसाद शर्माका अनुसार पहिलो पटक २०५६ सालमा परीक्षामा सहभागी भएकादेखि २०७७ सालमा सहभागी भएर अनुत्तीर्ण भएका यस्तो परीक्षामा सहभागी हुन पाउने छन् । 

यो २१ वर्षको अवधिमा सञ्चालन गरिएको नियमित तथा मौका परीक्षामा सहभागी भएर पनि अनुत्तीर्ण भएका परीक्षार्थीको सङ्ख्या १४ लाख रहेको बोर्डको अनुमान छ । 

मौका परीक्षामा सहभागी हुन फाराम भर्नेको सङ्ख्या हेरेपछि उनीहरूलाई कहिलेदेखि मौका परीक्षा सञ्चालन गर्ने भन्ने निर्णय गरिने परीक्षा नियन्त्रक शर्माले बताउनुभयो । १४ लाखै मौका परीक्षामा सहभागी हुन फाराम भरे भने चरणबद्ध रूपमा परीक्षा सञ्चालन गर्ने बोर्डको तयारी छ । 

राष्ट्रिय परीक्षा बोर्ड (तत्कालीन उच्च माध्यमिक शिक्षा परिषद्) ले २०५२ सालदेखि कक्षा ११ को पढाइ सुरु गरेको थियो । सुरुवाती तीन वर्षसम्म त्रिभुवन विश्वविद्यालयको तत्कालीन प्रवीणता प्रमाणपत्र तह प्रथम वर्ष र द्वितीय वर्षको पाठ्यक्रममा आधारित भएर कक्षा ११ र १२ को पढाइ सञ्चालन गरिएको थियो । 

तत्कालीन परिषद्ले २०५६ सालदेखि भने आफ्नै पाठ्यक्रमबाट कक्षा ११ र १२ को पढाइ सञ्चालन गरेको थियो । परीक्षा नियन्त्रक शर्माका अनुसार पहिलो चरणमा बोर्ड आफूले बनाएको पाठ्यक्रम अनुसार पढेका विद्यार्थीलाई मौका परीक्षाको अवसर दिइएको हो । २०५२ देखि २०५५ सालसम्मका विद्यार्थीले पनि मौका परीक्षा माग गरेर आए भने फेरि निर्णय गरेर मौका परीक्षा व्यवस्था गरिने परीक्षा नियन्त्रक शर्माले बताउनुभयो । 

बोर्डका अनुसार विगतमा परीक्षा दिएर अनुत्तीर्ण भएका तथा परीक्षामा अनुपस्थित भएका विद्यार्थी आउने वैशाखमा हुने परीक्षामा सहभागी हुन पाउने छन् । यस्ता विद्यार्थीलाई मङ्सिर २७ गतेभित्रमा आफूले अध्ययन गरेको शैक्षिक संस्थामा गएर परीक्षा फाराम भर्न अनुरोध गरेको छ । 

कक्षा १२ का लागि रजिस्ट्रेसन नम्बरको सुरुका दुई अङ्क ५६ वा सोभन्दा बढी र ७७ वा सोभन्दा कम तथा कक्षा ११ का लागि ५६ वा सोभन्दा बढी र ७६ वा सोभन्दा कम भएकालाई अन्तिम एक पटकको मौका दिइने छ । 

मौका परीक्षामा बस्न चाहने परीक्षार्थीले हरेक कक्षाको एक हजार रुपियाँ परीक्षा शुल्क तिर्नुपर्ने हुन्छ । कक्षा ११ र १२ दुवैको परीक्षा दिने हो भने दुई हजार रुपैयाँ तिर्नुपर्ने हुन्छ । त्यस्तै प्रयोगात्मक विषय मात्र बाँकी छ भने एक हजार तिर्नुपर्ने हुन्छ ।