• २८ पुस २०८१, आइतबार

सुरक्षाकर्मीलाई दिनुपर्छ भनी पैसा असुल्ने अटो चालक पक्राउ

blog

पीडितलाई पैसा फिर्ता गर्दै अटो चालक। तस्बिर : जिल्ला प्रहरी कार्यालय।

अविनाश चौधरी

धनगढी, कात्तिक २३ गते। भन्सारमा नेपाली सुरक्षाकर्मीलाई दिनुपर्छ भनेर एक व्यक्तिबाट पैसा असुल्ने दुई जना अटो चालकलाई कैलाली प्रहरीले पक्राउ गरेको छ। 

गौरीफन्टा नाकाबाट नेपाल आउँदै गरेका गोदावरी नगरपालिका–२ अत्तरियाका २७ वर्षीय लोकेन्द्र ओझाबाट पैसा असुल्ने अटो चालकलाई प्रहरीले पक्राउ गरेको हो। पक्राउ पर्नेमा धनगढी उपमहानगरपालिका–३ मिलन चौक बस्ने २८ वर्षीय अटो चालक मानबहादुर बयाडी र वडा नम्बर २ चौराहा बस्ने ३१ वर्षका करन बोहरा रहेका छन्। नेपालतर्फका सुरक्षाकर्मीलाई दिनुपर्छ भनेर उनीहरुले ओझाबाट दुई हजार भारु असुलेका थिए। 

यात्रुबाट पैसा असुलेर नेपाली सुरक्षाकर्मीलाई बद्नाम गर्ने कार्य गरेकोले दुवै अटो चालकलाई सुरक्षा चौकी त्रिनगरबाट खटेको प्रहरीले नियन्त्रणमा लिएको जिल्ला प्रहरी कार्यालयका प्रवक्ता एवम् प्रहरी नायब उपरीक्षक कवीन्द्रसिंह बोहराले बताउनुभयो। उहाँले अटो चालकले असुलेको पैसा पनि सम्बन्धितलाई फिर्ता गराइएको जानकारी दिनुभयो। दुवै अटो चालकमाथि आवश्यक कारबाहीको प्रक्रिया अगाडि बढाइएको जिल्ला प्रहरी कार्यालयले जानकारी दिएको छ।