• ७ पुस २०८१, आइतबार

जनकपुरधाममा छठ पर्वको रौनक (फोटो फिचर)

blog

खरना अर्थात् छठको अघिल्लो दिन सजाइएका जनकपुरधामका पोखरी। तस्बिरः लक्ष्मी चौधरी

लक्ष्मी चौधरी

जनकपुरधाम, कात्तिक २१ गते। ऐतिहासिक तथा धार्मिक सहर जनकपुरधाममा यतिबेला छठ पर्वको रौनक छाएको छ। पानीमा उभिएर सूर्यको उपासना गर्ने महानपर्व छठको अवसरमा जनकपुरधामका पोखरी दुलही झैं सजिएका छन्। दिपावली सकिए लगत्तै छठ सुरु हुने हुँदा जनकपुरधामका पोखरीहरु सजाइएएको छ। 

जनकपुरधामका गंगासागर, धनुष सागर, बिहारकुण्ड, दशरथ तलाउ, अंगराजसागरलगायत यहाँका सरोवरलाई छठ पर्वमा विशेष रूपमा सजाउने गरिन्छ। छठ पर्वमा पोखरी सरसफाई र सजावटमा विशेष ध्यान दिएको मिथिला समाज सेवा समितिका महासचिव रामकुमार पुर्वेले बताउनुभयो। 


छठको अवसरमा पोखरीको पानीको शुद्धता कायम राख्न र आसपासका क्षेत्रमा फोहोर मैला व्यवस्थापनमा पनि विशेष ध्यान दिइएको छ। यसरी जनकपुरधामका ऐतिहासिक पोखरीहरूलाई सजाउने कार्यले नगरको धार्मिक र सांस्कृतिक महत्त्वलाई अझै बढाउनुका साथै पर्यटन प्रवर्द्धनमा मद्दत पुग्ने विश्वास गरिएको छ।

चार दिनसम्म मनाइने छठ पर्व मंगलबादेखि विधिवत सुरु भएको छ। छठको पहिलो दिन नहाय खाय (नुछठ ब्रतालुहरुले नुहाएर चोखो खाने), दोस्रो दिन खरना (व्रतालुहरु दिनभर उपवास बसेर साँझ चामलको खीर र नुन नभएको सर्सोको साग र चामलको रोटी खाने चलन )  र छठ व्रतालुहरुले बिहीबार साँझ अस्ताउँदो सूर्यलाई अर्घ दिने गर्दछन्। त्यसको भोलिपल्ट उदाउँदो सूर्यलाई अर्घ दिएपछि छठ पर्व विधिवत समापन हुने गर्दछ। यस चार दिनसम्म विधिपूर्व मनाउने छठ शुक्रबार समापन हुनेछ। छठको विशेष दिन बिहीबार हो।  


खरनाका दिन छठ व्रतालुले केराको पातमा भोग लगाएको प्रसाद।