काठमाडौँ, कात्तिक १९ गते । नेपाली कांग्रेसका युवा नेताको संयोजनमा १० बुँदे एजेण्डासहित मेची–महाकाली ‘युवा सङ्कल्प यात्रा’ सञ्चालन गरिने भएको छ ।
यात्राबाट युवालाई लोकतन्त्र, विधिको शासन, युवा हकहित र जनअधिकारका पक्षमा ऐक्यबद्धता जनाउँदै समृद्ध नेपाल निर्माणमा उद्यमशील बन्न प्रेरित गर्ने अपेक्षा गरिएको छ ।
आज यहाँ आयोजित पत्रकार सम्मेलनमा अभियानका संयोजक भूपेन्द्रजङ्ग शाहीले उद्यमशीलता नेपालको विकासका लागि अपरिहार्य रहेको जनाउँदै राजनीतिक उपलब्धिको संरक्षण युवाशक्तिको समुचित उपयोगबाट मात्र हुनसक्ने धारणा राख्नुभयो । नेपाल तरुण दलका पूर्व महामन्त्री शाहीले भन्नुभयो, “कांग्रेसले युवा उद्यमशीलता प्रवर्द्धनमात्र होइन, देशको अवस्था बदल्ने तागत राख्नुपर्छ । कृषिप्रधान देशमा कृषिको आधुनिकीकरणमार्फत लाखौँ युवालाई स्वदेशमै रोजगार बनाउन सकिन्छ ।”
यात्राले युवालाई राजनीतिक आन्दोलनको मात्र नभएर आर्थिक विकासको पनि साझेदार बनाउने उद्देश्य लिएको जनाउँदै नेता शाहीले लोकतान्त्रिक मूल्य मान्यताको प्रवर्धन, दण्डहीनताको अन्त्य, भ्रष्टाचारको उन्मूलन, सुशासन, युवा उद्यमशीलताको प्रवर्धन र राष्ट्र निर्माणको नेतृत्व गर्न पनि अभियान सार्थक हुने धारणा राख्नुभयो ।
कात्तिक २३ गते मेचीनगरको काँकडभिट्टाबाट सुरु भई इटहरी, लहान, जनकपुर, लालबन्दी, वीरगञ्ज, भरतपुर, लमही, वीरेन्द्रनगर, कोहलपुर हुँदै यात्रा मङ्सिर ४ गते महाकाली पुगेर समापन हुनेछ । अभियानमा खासगरी युवालाई रोजगारीको सुनिश्चितताका लागि पहलका साथै दबाब सिर्जना गर्ने, भ्रष्टाचार उन्मूलन र सुशासन पहल र खबरदारी गर्ने तथा महङ्गी र मूल्यवृद्धि नियन्त्रणको विषय प्रखर रूपमा उठाउने र समाधानको उपायसमेत देखाउने नेता शाहीले जानकारी दिनुभयो ।
सहकारी पीडितलाई तत्काल राहत र बचत फिर्ता गराउन पहलकदमी लिने तथा विभिन्न संस्था तथा सहकारी ठगलाई कारबाही गर्न दबाब सिर्जना गर्ने सो अवसरमा वितरित प्रेस विज्ञप्तिमा उल्लेख छ । उद्यमशीलता, नवप्रवर्तन र कृषिमा लगानीका लागि आवश्यक पहलसमेत सङ्कल्प यात्राले गर्ने उल्लेख गर्दै नेता शाहीले त्यसक्रममा युवाहरूलाई उद्यमशीलता, नवप्रवर्तन र कृषिमा उत्प्रेरित गरिने जानकारी दिनुभयो ।
नेपाल तरुण दलका केन्द्रीय सदस्य पशुपति पोख्रेलले शैक्षिक योग्यताअनुसारको रोजगारी नपाएर भौँतारिरहेका युवालाई देश निर्माणको अभियानमा जुटौँ भन्ने विषयलाई केन्द्रबिन्दुमा राखेर अभियान सञ्चालन गर्न लागिएको बताउनुभयो ।
यात्रामा नेता शाहीसहित रञ्जित कर्ण, धर्मेन्द्र नेम्वाङ, प्रेमिका राना, नरेश यादव, शेख ओकिल, मेदनी सिटौला, चन्द्रादेवी जोशी, राधिका हमाल, उदिराम खड्का, लेलिया विश्वकर्मा, सुनिल थापा, विनोद खनाललगायत ४० जना केन्द्रीय प्रतिनिधिका रूपमा सहभागी हुनु हुनेछ । रासस