• ८ मंसिर २०८१, शनिबार

विद्यार्थी बिदेसिएकामा राष्ट्रपति चिन्तित

blog

गोरखापत्र समाचारदाता

काठमाडौँ, कात्तिक १४ गते । राष्ट्रपति रामचन्द्र पौडेलले कक्षा १२ उत्तीर्ण हुनेबित्तिकै विद्यार्थी बिदेसिने प्रवृत्ति बढेकोप्रति चिन्ता व्यक्त गर्नुभएको छ । यसरी विद्यार्थी बिदेसिने प्रवृत्ति समयमै रोक्न नसकिए भविष्यमा मुलुक नै समस्यामा पर्नेतर्फ उहाँले सचेत गराउनुभएको छ । मङ्गलबार पत्रकारद्वारा बुझाइएको छबुँदे ध्यानाकर्षणपत्र बुझ्दै राष्ट्रपति पौडेलले कक्षा १२ सक्नासाथ विद्यार्थी बिदेसिने अवस्था हटाउनेतर्फ पत्रकारको पनि भूमिका हुनुपर्ने बताउनुभयो । 

“सहरका विद्यार्थी बिदेसिने र गाउँका विद्यार्थी सहर जाने प्रवृत्ति बढ्दा गाउँका विद्यालय रित्तिएको अवस्था छ,” राष्ट्रपति पौडेलले भन्नुभयो, “विद्यार्थी अभावमा गाउँका विद्यालय आपसमा गाभ्नुपर्ने अवस्था छ, विद्यार्थीहरू खर्च गर्दै बिदेसिनु दुर्भाग्यपूर्ण छ ।”

स्वर्ग जस्तो सुन्दर देश नेपाल सबै मिलेर सम्पन्न बनाउनुपर्ने भन्दै राष्ट्रपति पौडेलले जनशक्तिको विदेश पलायन रोक्न सबै लाग्नुपर्ने बताउनुभयो । यस्ता विषयमा सरकारलाई खबरदारी गर्ने विषयमा पत्रकारको कलम चल्नुपर्नेमा उहाँको जोड रहेको भेटमा सहभागी पत्रकारद्वारा जारी गरिएको प्रेस नोटमा उल्लेख गरिएको छ ।