• २७ पुस २०८१, शनिबार

रणनीतिक योजना बनाउँदै लोकसेवा आयोग

blog

कर्णाली प्रदेश लोकसेवा आयोगको कार्यालय । तस्बिर : रजनी योगी

रजनी योगी 

सुर्खेत, कात्तिक १३ गते । कर्णाली प्रदेश लोकसेवा आयोगले ‘रणनीतिक योजना’ बनाउन लागेको छ । आयोगको संस्थागत विकासका लागि रणनीतिक योजना बनाउन लागिएको हो । 

आयोगको विश्वसनीयतालाई कायम राख्ने, योग्यता प्रणाली निर्धारण गर्ने, प्रशासनिक जनशक्तिलाई प्रविधिमैत्री बनाउने लगायत विषय अघि सारिएको छ । रणनीतिक योजना निर्माणका लागि आयोगले विभिन्न चरणमा छलफल गरिरहेको छ । अहिले आयोगको रणनीतिक योजना कस्तो हुने, कति वर्षको बनाउने र कुन–कुन विषय समेट्ने भन्नेबारे छलफल भइरहेको आयोगले जानकारी दिएको छ । 

सरकारले चालु आर्थिक वर्षको नीति तथा कार्यक्रम र बजेटमा समेटेर योजना निर्माण गर्न लागेको हो । प्रदेश लोकसेवा आयोगको संस्थागत विकासका लागि आयोगले रणनीतिक योजना निर्माण गर्ने सरकारले आफ्नो नीति तथा कार्यक्रम र बजेटमा राखेको छ । रणनीतिक योजना निर्माणका विषयमा विभिन्न चरणमा छलफल भइरहेको प्रदेश लोकसेवा आयोगका सूचना अधिकारी चन्द्रवीर शाहीले बताउनुभयो । उहाँका अनुसार योजना आयोगको कामको विवरण, जनशक्तिको प्रयोग, क्षेत्राधिकार लगायतका विषय समावेश गरिनेछ । प्रदेशको रणनीतिक योजना कस्तो बनाउने, कति वर्षको बनाउने भन्ने विषयमा समेत छलफल भइरहेको उहाँको भनाइ छ ।

स्थानीय सेवा ऐन अनुरूप आयोगले काम गर्ने

प्रदेश लोक सेवा आयोगले स्थानीय सेवा ऐन अनुरूप काम गर्ने जनाएको छ । यसअघि प्रदेशको ऐन नबन्दा आयोगको कामसमेत प्रभावकारी हुन सकेको थिएन । स्थानीय तहमा कार्यरत कर्मचारीहरूको वृत्ति विकास र नागरिक सेवा प्रवाहसँग सम्बन्धित रहेर स्थानीय सेवाको गठन, सञ्चालन र सेवा सर्त सम्बन्धमा बनेको विधेयक–२०८१ जारी भएको छ ।

आयोगले उक्त ऐनबमोजिम नै रणनीतिक योजना निर्माण गर्ने र सोहीअनुसार काम गर्ने समेत सूचना अधिकारी शाहीले बताउनुभयो । कर्णाली प्रदेश सरकारले प्रदेश राजपत्रमा असोज २९ गते प्रकाशित गरी कर्णाली प्रदेश स्थानीय सेवा (गठन तथा सञ्चालन) ऐन २०८१ जारी गरेको छ । जम्मा एक सय ४० वटा दफा रहेका छन् ।

नेपालको संविधानको धारा २२७ मा गाउँपालिका र नगरपालिकाको कर्मचारी र कार्यालयसम्बन्धी व्यवस्था प्रदेश कानुनबमोजिम हुने भनिएको छ । सोहीअनुसार कर्णाली प्रदेशभित्रका स्थानीय तहबाट हुने सेवा प्रवाहका लागि आवश्यक कर्मचारीसमेतको व्यवस्था गरी स्थानीय सेवालाई सक्षम, सुदृढ, उत्तरदायी, व्यावसायिक, निष्पक्ष र प्रभावकारी बनाउन कानुन व्यवस्था गर्न आवश्यक भएकाले ऐन ल्याएको प्रदेश सरकारले जनाएको छ ।

ऐनमा के छ व्यवस्था ?

स्थानीय तहको प्रशासन सञ्चालन गर्न स्थानीय सेवाको गठन, सञ्चालन र सेवाको सर्त तथा कर्मचारीको व्यवस्थापन सम्बन्धनमा मुख्यमन्त्री तथा मन्त्रीपरिषद्को कार्यालय प्रमुख निकायको रूपमा काम गर्नेछ । यो ऐन र यसअन्तर्गत बनेको नियममा उल्लेख भएका बाहेक कर्मचारी प्रशासनसम्बन्धी अन्य काम मुख्यमन्त्री कार्यालयको स्वीकृति लिएर मात्र गर्नुपर्ने ऐनमा उल्लेख गरिएको छ । स्थानीय सेवाको गठन गर्दा स्थानीय इन्जिनियरिङ, कानुन, कृषि, प्रशासन, विविध, शिक्षा तथा स्वास्थ्य सेवा गरी सात वटा स्थानीय सेवा रहनेछन् ।

यसैगरी अधिकृतस्तर छैटौँ, आठौँ र दशौँ तहमा शतप्रतिशत स्तरवृद्धिबाट पदपूर्ति गरिनेछ । खुला प्रतियोगितामा समावेशीतर्फ खस आर्य ४५, दलित २२, आदिवासी जनजाति १२, पिछडिएको १२, अपाङ्ग पाँच, मधेशी मुस्लिम दुई र थारु दुई प्रतिशतका दरले कोटा कायम गरिएको छ । कर्मचारीको उमेर हद ६० वर्ष कायम गरिएको छ । समायोजन भई आएका कर्मचारीको हकमा साबिक ऐनबमोजिम हुनेछ । सरकारी सेवाबाट समायोजन ऐन बमोजिम स्थानीय तहमा समायोजन भएका कर्मचारीले साबिक बमोजिम निवृत्तिभरण पाउनेछन् । कर्मचारीले भैपरी पर्व, घर, बिरामी, प्रसूति स्याहार, किरिया, विवाह, पर्यटन, अध्ययन र असाधारण गरी १० प्रकारका बिदा पाउनेछन् ।

यसैबिच प्रदेश लोक सेवा आयोग आफैँले जनशक्ति अभाव झेलिरहेको छ । दरबन्दी अनुसार पर्याप्त कर्मचारी नहुँदा आयोगले जनशक्तिको अभाव झेल्नु परेको हो । प्रदेश लोकसेवा आयोगमा ४९ स्थायी दरबन्दी रहेको छ । हाल ३५ जना कार्यरत छन् भने १४ दरबन्दी रिक्त छ ।