• २७ पुस २०८१, शनिबार

जाजरकोटमा एक वर्षमै चार वटा प्रमुख जिल्ला अधिकारी

blog

जिल्ला प्रशासन कार्यालय जाजरकोट । तस्बिर : सहदेव बस्नेत

सहदेव बस्नेत
जाजरकोट, कात्तिक १३ गते ।
जिल्लामा एक वर्षको अवधिमा चार जना प्रमुख जिल्ला अधिकारीको सरुवाले यहाँका नागरिकहरु असन्तुष्ट भएका छन् ।

२०८० साउन २४ गते पदस्थापन भएका प्रजिअ सुरेश सुनारको २०८० चैत १६ गते सरुवा भएको थियो । त्यसैगरी २०८० चैत ११ मा पदस्थापन भएका प्रजिअ ऋषिराज आचार्यको २०८१ असार ६ गते सरुवा भएको थियो ।

२०८१ असार १३ गते पदस्थापन भएका प्रजिअ उमाकान्त अधिकारीको गृह मन्त्रालयले २०८१ कातिक ८ गते सरुवा गरेको छ । जाजरकोट जिल्लामा हालका लागि गृह मन्त्रालयले मेखबहादुर मग्रातीलाई सरुवा गरेको छ ।

जाजरकोटका प्रमुख जिल्ला अधिकारी उमाकान्त अधिकारीको जिल्लामा आएको चार महिनामै सरुवा हुदा यहाँका जनप्रतिनिधि,राजनीतिक दल, नागरिक समाज असन्तुष्ट भएका छन ।  जाजरकोट भूकम्पपश्चात् यहाँका नागरिकहरु टिनको छानामुनि रात बिताइरहेकै अवस्थामा चौमासिक रुपमा हुने सरुवाले यहाँका नागरिकहरु आक्राेशित भएका छन् ।

भूकम्प प्रभावितहरुको दोस्रो किस्ताको रकम निकासा, सङ्घ, प्रदेश तथा स्थानीय तहहरु बिच सम्पर्क समन्वयमा आफ्नो भूमिका प्रभावकारी रुपमा देखाएका प्रमुख जिल्ला अधिकारीको छोटो समयमा नै सरुवा भएपछि अहिले जाजरकोटीहरुको मनमा निराशा छाएको छ ।

जिल्लामा रहने नेपाल सरकारको आधिकारिक प्रतिनिधि प्रमुख जिल्ला अधिकारीलाई चार–चार महिनामा गृह मन्त्रालयबाट गरिने सरुवाको विषयलाई लिएर यहाँका नागरिक संस्थाहरुले विज्ञप्ति निकालेका छन् । भूकम्पले क्षतिग्रस्त भएको जाजरकोट जिल्लाको पुनर्निर्माण, विकास निर्माण र नागरिक सेवा प्रवाहमा प्रमुख जिल्ला अधिकारीको महत्त्वपूर्ण भूमिका रहने नागरिक संस्थाहरुले निकालेको विज्ञप्तिमा उल्लेख गरिएको छ ।

एक सय ५७ जनाको ज्यान लिनुको साथै तीन सय जनाभन्दा बढी नागरिक घाइते हुनेगरी गत वर्षको कात्तिक १७ गते मध्यराति गएको भूकम्पको पराकम्पनले जाजरकोट जिल्लाका ४२ हजारभन्दा बढी घरपरिवारलाई घरबासविहीन बनाएको थियो । भूकम्पको पराकम्पनबाट घरबासविहीन भएका नागरिकहरु एक वर्षको समय बितिसक्दा पनि टिनको छानामुनि बस्न बाध्य भएको उल्लेख गर्दै विज्ञप्तिमा अस्थायी आवासको दोस्रो किस्ता पाउन नसकेको विषयलाई जोड दिइएको छ ।

राम्रोसँग जिल्लाको प्रमुख जिल्ला अधिकारीलाई काम गर्न नदिने परम्पराले जिल्लाको विकासमा ठूलो घाटा र क्षति हुने मानवअधिकारकर्मी खम्ब जंग शाहको भनाइ छ । नेपाल पत्रकार महासङ्घ जाजरकोटका अध्यक्ष बालकुमार शर्माले चौमासिक रुपमा हुने सरुवाले प्रमुख जिल्ला अधिकारीलाई आफ्नो कार्यदक्षता नै देखाउन नदिने दुःखद अवस्था सरकारले सृजना गरेको बताउनुहुन्छ ।

जाजरकोट र जुम्लालाई नजिक बनाउने, लुम्बिनी रारा राजमार्ग, स्थानीय सडकमार्फत जुम्ला र जाजरकोटको विकासमा ठुलो भूमिका खेल्न सक्ने समन्वय र सहकार्यको वृद्धि गर्ने, सेवा प्रवाहमा प्रभावकारी भूमिका खेल्ने प्रजिअको यति छोटो समयमै सरुवा हुनु जिल्लावासीको लागि दुर्भाग्य भएको नागरिक अगुवा राजेन्द्र विक्रम शाहको भनाइ छ ।