गणेश खनाल
अर्घाखाँची, कात्तिक १३ गते । सन्धिखर्क नगरपालिका १ तारा मार्गमा आइतबार देउराली पूजाको प्रसादका रूपमा मासु खाएर बिरामी हुनेको सङ्ख्या ३५ पुगेको छ ।
सोमवार २५ जना भर्ना भएको र मङ्गलबार बिहान थप ७ जना बिरामी भर्ना भएको जिल्ला प्रहरी कार्यालय अर्घाखाँचीका प्रमुख डिएसपी चक्रबहादुर मल्लले बताउनुभयो ।
बिरामीहरूमा झाडापखाला, बान्ता, ज्वरो, शरीर दुख्ने लक्षण देखिएको अर्घाखाँची अस्पतालका प्रमुख डाक्टर जगन्नाथ तिवारीले बताउनुभयो । बिरामी सबैको अवस्था सामान्य छ। फुड पोइजनका कारण बिरामी परेको डाक्टर तिवारीको भनाइ छ।
बिरामीहरूमध्ये अहिले ३४ जनाको अर्घाखाँची अस्पताल सन्धिखर्कमा उपचार भइरहेको र १ जनाको अर्घाखाँची हस्पिटल प्रालिमा उपचार भइरहेको अर्घाखाँची प्रहरी प्रमुख मल्लको भनाइ छ। घटनाको अनुसन्धान भइरहेको प्रहरीको भनाइ छ।