• २७ पुस २०८१, शनिबार

सङ्ख्या नपुगेपछि विद्यार्थी स्थानान्तरण

blog

दैलेख समाचारदाता

दैलेख, कात्तिक १३ गते । पचास प्रतिशतभन्दा कम विद्यार्थी भर्ना भएको भन्दै यहाँको एक कलेजबाट विद्यार्थीलाई स्थानान्तरण गर्ने तयारी गरिएको छ । कृषि तथा वन विज्ञान विश्वविद्यालय रामपुर चितवनको आङ्गिक क्याम्पसका रूपमा रहेको दुल्लुको प्राकृतिक स्रोत व्यवस्थापन कलेजका विद्यार्थीलाई स्थानान्तरण गर्ने तयारी भएको हो । 

कृषि तथा वन विज्ञान विश्वविद्यालय कृषि सङ्काय डिनको कार्यालयले एक सूचना जारी गरी गत असोज १९ गते लिएको (बिएससी एजी) विद्यार्थी भर्ना कायक्रममा प्राकृतिक स्रोत व्यवस्थापन कलेज दुल्लुमा ५० प्रतिशतभन्दा कम विद्यार्थी भर्ना भएकाले मेरिटका आधारमा विद्यार्थी स्थानान्तरण गर्न लागिएको हो । गत साउन २७ गते कृषि स्नातक (बिएससी एजी) तहको प्रवेश परीक्षासम्बन्धी प्रकाशित सूचनाको बँुदा नं. १५ मा आङ्गिक कलेजमा भर्ना सङ्ख्याको ५० प्रतिशत कम विद्यार्थी भर्ना भएमा ती विद्यार्थीलाई कृषि सङ्कायले निर्धारण गरेको मेरिटका आधारमा स्थानान्तरण गरी अध्यापन गराइने भन्ने व्यवस्थाबमोजिम विद्यार्थी स्थानान्तरण गर्न सूचना प्रकाशन गरिएको  विश्वविद्यालयले जनाएको छ ।  

कृषि तथा वन विज्ञान विश्वविद्यालय कृषि सङ्काय डिन प्राडा अर्जुनकुमार श्रेष्ठले विद्यार्थी भर्ना कम भएको र भर्ना सूचना प्रकाशित गर्दा नै उल्लेख गरिएको बुँदा नं. १५ अनुसार विद्यार्थीलाई मेरिटका आधारमा स्थानान्तरण गर्न सूचना जारी गरेको बताउनुभयो । उहाँले विद्यार्थी सङ्ख्या कम भएको र शिक्षकको तलब व्यवस्थापनसमेत समस्या भएका कारण आफूहरूले स्थानान्तरणका लागि सूचना प्रकाशन गरिएको जानकारी दिनुभयो । 

उहाँले भन्नुभयो, “यो वर्ष विद्यार्थी भर्ना कम भएकै कारण प्राकृतिक स्रोत व्यवस्थापन कलेजमा कक्षा सञ्चालन गर्न सकेनौँ ।” कर्णाली प्रदेशमा एक मात्र आङ्गिक कृषि क्याम्पसका रूपमा रहेको प्राकृतिक व्यवस्थापन कलेज सञ्चालन गर्न कर्णाली प्रदेश सरकारले त्यसको अगुवाइ गरी बजेट विनियोजन गरेको खण्डमा आफूहरूले त्यसको गुणस्तरको निरीक्षण गर्न सक्ने प्राडा श्रेष्ठको भनाइ छ । कलेजमा विद्यार्थी भर्ना कम भएकै कारण कलेज नै बन्द गरी विद्यार्थी स्थानान्तरण गर्न लागिएको भन्दै दुल्लु नगरपालिकाले कृषि तथा वन विज्ञान विश्वविद्यालयका उपकुलपतिलाई पत्र लेख्दै कलेजको कक्षा सञ्चालनका लागि पत्राचारसमेत गरेको छ । 

दुल्लु नगरपालिकाले लाखौँ रुपियाँ लगानी गरेको कलेज बन्द गर्न लाग्नुले विश्वविद्यालय राजनीतिबाट प्रेरित भएको आरोप लगाएको छ । दुल्लु नगरपालिकाका नगरप्रमुख भरत रिजालले नगरपालिकाको पहलमा कलेज स्थापना गर्न एक सय रोपनी जग्गा दान गरेको, भौतिक संरचना निर्माण गरिएको, दुई वटा शैक्षिक भवन, एउटा प्रशासनिक भवनलगायतका संरचना निर्माण भइसकेको अवस्थामा विद्यार्थी स्थानान्तरण गर्न लाग्नु दुःखद भएको जनाउनुभयो । उहाँले नगरपालिकाले कलेजलाई विभिन्न सहयोग गरिरहेको र यो आर्थिक वर्षमा मात्र पाँच लाख रुपियाँ विनियोजन गरिएको जानकारी दिनुभयो । 

त्यस्तै पूर्वसांसद राजबहादुर बुढालगायतका नेताले शिक्षा विज्ञान तथा प्रविधिमन्त्रीलाई पत्र लेख्दै कलेज सञ्चालनका लागि पहल गरिदिन अनुरोध गर्नुभएको छ । उहाँहरूले दुल्लु नगरपालिका–१३ मा रहेको सो कलेजमा कक्षा सञ्चालन, आवश्यक शिक्षक दरबन्दीलगायतको भौतिक व्यवस्थापन मिलाइदिनसमेत अनुरोध गरिएको छ । कलेजमा भर्ना भएका विद्यार्थी मेरिटका आधारमा अन्य कलेजमा स्थानान्तरण गर्न लागेपछि धेरै विद्यार्थीमा अन्योल छाएको त्यहाँ अध्ययनरत विद्यार्थीले बताएका छन । विद्यार्थीले घरआँगनमै पढ्न पाउने आफ्नो हकलाई समेत कृषि, वन विज्ञान विश्वविद्यालयले सुनिश्चितता गर्न नसकेको आरोप लगाएका छन् ।