• १२ कात्तिक २०८१, सोमबार

बालिकामाथि जबरजस्ती करणीको प्रयास

blog

फाइल तस्बिर

प्रेमराज सिम्खडा
कालीकोट, कात्तिक १२ गते । 
जिल्लामा बालिकामाथि जबरजस्ती करणीको प्रयास भएको छ । जबरजस्ती करणी प्रयास गर्ने जिल्लाको सान्नीत्रिवेणी–२ का रमेश तिरुवाविरुद्ध जिल्ला प्रहरीमा उजुरी परेपछि घटना बाहिर आएको हो ।

सान्नी त्रिवेणी २ र ३ को सिमानामा पर्ने नाइनाको जङ्गलमा बालिकालाई एक्लै हिँडिरहेको बेला गत शनिबार तिरुवाले हातपात गरेर जबरजस्ती करणी गर्न खोजेपछि  बालिका चिच्याउँदा मुखमा हान्दा दुई वटा दाँत भाँचिदिएको आफन्तले प्रहरीसमक्ष जानकारी गराएका छन् ।

कालीकोटका प्रहरी प्रमुख डिएसपी टेकबहादुर रावतले पीडित बालिका अभिभावकसँग प्रहरी कार्यालय आएको र बालिकामाथि दुर्व्यवहार भएको जानकारी पाएको बताउनुभयो ।

उहाँका अनुसार आरोपित घरमा नभेटिएका कारण खोज भइसकेको छ । ‘‘पीडित बालिकाका अभिभावकले भने जस्तै हो कि होइन त्यसबारे अनुसन्धानपछि थाहा हुन्छ,’’ प्रहरी प्रमुख रावतले भन्नुभयो, ‘‘यद्यपि बालिकामाथिको हिंसा पक्कै हो ।’’

विस्तृत बुझ्न र स्वास्थ्य परीक्षण गर्न बालिकालाई जिल्ला अस्पताल पठाइएको जानकारी उहाँले  दिनुभयो ।

पीडित बालिकाले आफूलाई एकान्तमा मुख थुनेर नराम्रो काम गर्न खोजेपछि चिच्याउँदा मुखमा हानेको सुनाइन् । सो क्रममा दुई वटा दाँत झरेको बालिकाले बताइन् । आरोपित भने फरार छन् ।