• १२ कात्तिक २०८१, सोमबार

व्यावसायिक फूल खेतीमा जुट्दै युवा

blog

व्यावसायिक रूपमा गरिएको फूलखेती । तस्बिर : मीना कँडेल

मीना कंडेल

कावासोती, कात्तिक १२ गते । नवलपुरमा व्यावसायिक फूल खेतीमा यहाँका युवाहरू जुटेका छन् । विगत पाँच वर्षदेखि स्थानीयस्तरमा सयपत्री फूलको व्यावसायिक रूपमा खेती गर्न युवा लागि परेका हुन् । 

तिहारलाई सप्तरङ्गी टीका र सयपत्री अनि मखमली फूलको माला लगाउने पर्वका रूपमा मान्ने गरिन्छ । तिहार नजिकिएसँगै बगैँचामा फुलेका फूलले तिहारको छुट्टै रौनकता बढाएको छ ।   

पछिल्लो समय हजारी, मखमली, गुरधौलीजस्ता फूलहरूको उत्पादनसँगै जिल्लामा तिहारका लागि महत्त्वपूर्ण मानिने सयपत्री फूलको बिक्री गर्न सुरु गरिएको छ  । तिहार नजिकिएसँगै बजार झिलिमिली देखिएको छ । प्राकृतिक मालाको व्यापार पनि राम्रो हुने व्यापारीहरूको भनाइ छ । 

कावासोती ३ का दीपक न्यौपानेको दैनिकी अहिले फूल बगैँचामा बित्नेगरेको छ । न्यौपाने हरेक दिन बगैँचामा फूलको हेरचाह गर्ने कार्यमा व्यस्त रहनुभएको छ । व्यावसायिक फूल खेती गर्नुभएका न्यौपाने विगत पाँच वर्षदेखि निरन्तर रूपमा लागि परेको बताउनुहुन्छ । 

कावासोती–३ गणेश टोलस्थित कावासोती गार्डेनमा उहाँले लगाएका सयपत्री फूल ढकमक्क फूलेका छन् । टेवलटेनिस जातको सयपत्री फूल तयार भएकाले बगैँचाबाटप्रति मालाको एकसय दरले लैजान सकिने उहाँ बताउनुहुन्छ । माग धेरै बढेकाले विगतका वर्षहरूमा पनि फूलबाट राम्रो आम्दानी भएको उहाँले बताउनुभयो ।

एक सिजनमा करिब एक लाखसम्म पनि आम्दानी गर्न सकिने हुँदा पनि व्यावसायिक फूल खेतीमा लागेको न्यौपानेको भनाइ छ । यस्तै, कावासोती –२ का विकास खड्काले पनि तिहारलाई लक्षित गर्दै सयपत्री फूल लगाउनु भएको छ । सानो थुङ्गा भए प्रतिमाला एकसय र ठुला थुङ्गा भए प्रतिमाला १२० रुपियाँमा बेच्ने तयारी भएको उहाँले बताउनुभयो । 

बाँझो रहेको जमिनलाई भाडामा लिएर कावासोती ९ मा सामूहिक फूल खेती गरिएको बाबुराम केसीले बताउनुभयो । फूलखेतीमा राम्रो सम्भावना भएकाले गत वर्षबाट जग्गा भाडामा लिएर सामूहिक फूल खेती गरिएको उहाँले बताउनुभयो । तिहारका लागि भन्दै बर्सेनि करोडौँ रुपियाँ बराबरको फूल भारतबाट आयात गरिन्छ ।

कावासोती नगरपालिका उपप्रमुख फूलकुमारी थनेतले पालिकाभित्र १२ स्थानमा पुष्पखेती गरिएको  बताउनुभयो  । कावासोतीलाई आवश्यक पर्ने फूलमाला यहीको उत्पादनले पुग्ने विश्वास लिएको उहाँको भनाइ छ ।

हजारी, सयपत्री र मखमली जस्ता फूलहरूको व्यावसायिक खेती हुनु जनसङ्ख्या बढ्दै जाँदा सयपत्री मालाको माग बढेको उहाँको भनाइ छ । जिल्लाको कावासोती, देवचुली, गैँडाकोट लगायतका क्षेत्रमा लगाइएका फूल व्यवसायीहरुको राम्रो आम्दानीको स्रोत भएको बताउँछन् ।