• १२ कात्तिक २०८१, सोमबार

सडकमै स्वास्थ्य परीक्षण : चालकमा उच्च रक्तचाप तथा आँखाको समस्या

blog

जिल्ला ट्राफिक प्रहरी कार्यालय महोत्तरीले बर्दिबासस्थित पूर्वपश्चिम लोकमार्गमा आयोजना गरेको शिविरमा स्वास्थ्य परीक्षण गराउँदै लामो दूरीका सवारी चालक । तस्बिर : रवीन्द्र उप्रेती

रवीन्द्र उप्रेती

बर्दिबास, कात्तिक १२ गते । बर्दिबासको बाटो भएर लामो दूरीमा सञ्चालित यात्रु बसका २७ जना चालकमा स्वास्थ्य समस्या देखिएको छ । परीक्षणमा संलग्न स्वास्थ्यकर्मीले उहाँहरूमा उच्च रक्तचाप तथा आँखाको समस्या रहेको बताउनुभएको छ । 

राजमार्गमा हुने दुर्घटना न्यूनीकरणका लागि जिल्ला ट्राफिक प्रहरी कार्यालय महोत्तरीले लामो दुरीका सवारी चालक र सह चालकहरूका लागि सडकमै सञ्चालन गरेको एक दिने निःशुल्क शिविरमा गरिएको स्वास्थ्य परीक्षणका क्रममा यस्तो समस्या देखिएको हो । जिल्ला ट्राफिकको ‘स्वस्थ्य चालक सुरक्षित सवारी’ अभियानअन्तर्गत बर्दिबास भएर गुड्ने झापादेखि महेन्द्रनगर कंचलनपुरसम्मका यात्रुवाहक सवारीका चालक र सहचालकको स्वास्थ्य परीक्षण गरिएको थियो । 

बर्दिबासस्थित शुभ स्वस्तिक हस्पिटलको सहकार्यमा ट्राफिकले आइतबार (हिजो) बिहान करिब ८ बजेदेखि साँझ ६ बजेसम्म बर्दिबासस्थित पूर्वपश्चिम लोकमार्ग नजिक आयोजित शिविरमा २३८ जना चालक र सहचालकको स्वास्थ्य परीक्षण गरेको थियो । जसमध्ये १४ जना सवारी चालकमा उच्च रक्तचाप र १३ जनाको आँखामा समस्या देखिएको मेडिकल रिपोर्ट उद्धृत गर्दै जिल्ला ट्राफिक बर्दिबासले जनाएको छ ।

जिल्ला ट्राफिक प्रमुख लक्ष्मीराज जोशीकाअनुसार चालकको कमजोर स्वास्थ्य पनि दुर्घटनाको कारक भएकोले यात्रुवाहक सवारीलाई सडकमै रोकेर स्वास्थ्य परीक्षण गरिएको हो । परीक्षणका क्रममा उच्च रक्तचाप र आँखाको भिजन कमजोर देखिएकालाई तत्काल उपचार गराउने सल्लाह दिइएको छ । 

जिल्ला ट्राफिक प्रमुख जोशीले भन्नुभयो, ‘यो अभियानले सवारी चालकलाकहरुलाई स्वास्थ्य चेतना जगाउनुका साथै सवारी दुर्घटना न्यूनीकरणमा पनि सहयोग पुग्ने अपेक्षाले स्वास्थ्य परीक्षण सञ्चालन गरेका हौँ ।’ अभियानमा चालक सहचालक भनिए पनि इच्छा गर्ने यात्री, सवारी धनी र निजी सवारीका चालकका लागि पनि यो सुविधा मिलाइएको जोशीले बताउनुभयो । 

शिविरमा बर्दिबासस्थित शुभ स्वास्तिक हस्पिटलका ४ जना स्वास्थ्यकर्मीले सेवा दिनुभएको थियो । उहाँहरूले कतिपय सवारी चालकमा यस्ता स्वास्थ्य समस्या गम्भीर अवस्थामा रहेको बताउनुभयो ।