• १२ कात्तिक २०८१, सोमबार

खेलकुदमय बन्दै ताप्लेजुङ

blog

ग्रामीण भेग खेवाङमा सञ्चालन भइरहेको खेवाङ गोल्डकप फुटबल प्रतियोगिता । तस्बिर : चन्द्र पन्दाक

चन्द्र पन्दाक

ताप्लेजुङ, कात्तिक १२ गते । चाडपर्वको समयसँगै अहिले ताप्लेजुङ खेलकुदमय बनेको छ । खेलाडीको उत्पादन तथा विकास गर्ने उद्देश्य र खेलकुद गतिविधिलाई मनोरञ्जनका रूपमा हेर्ने गरिएकाले चाडपर्वको समय खेलकुदमय हुन थालेको हो ।

हालको समय वडास्तरीय, पालिकास्तरीय, क्लबस्तरीय हुँदै प्रदेश र राष्ट्रिय स्तरको खेलकुद गतिविधि जिल्लामा हुने गरेको छ । यही समयमा विभिन्न खेल गतिविधि आयोजना गर्नाले जिल्ला खेलकुदमय बनिरहेको छ । शनिबारदेखि खेवाङ गोल्डकप फुटबल प्रतियोगिता सुरु भएको छ ।

सिरिजङ्घा गाउँपालिका–७ खेवाङस्थित खेवाङ स्पोर्टिङ क्लबको आयोजनामा प्रतियोगिता भइरहेको छ । प्रदेशस्तरीय प्रतियोगितामा नेपाल पुलिस क्लब कोशी प्रदेश, कुम्मायक गाउँपालिका पाँचथर र लालीगुराँस स्पोर्टिङ युवा क्लब सेमिफाइनल पुगेका छन् । गोल्डकपमा सोमबार झापाको रेडस्टार फुटबल क्लब र स्थानीय पेदाङ स्पोर्टिङ क्लबबिच प्रतिस्पर्धा हुँदैछ ।

शनिबार मात्र सदरमुकाम फुङ्लिङमा स्वर्गीय चन्द्रबहादुर नयोङ्हाङ स्मृति फुटबल प्रतियोगिता सम्पन्न भएको छ । कर्णसिंह सोनाम फुटबल क्लबको आयोजनामा भएको प्रतियोगितामा फुङ्लिङ स्पोर्टिङ क्लब विजेता बनेको छ । यस्तै, यही कात्तिक २१ देखि २७ गतेसम्म नवौँ आङ्खोप कप फुटबल प्रतियोगिता सञ्चालन हुने भएको छ । सिदिङ्वा गाउँपालिका–३ स्थित आङ्खोप युवा समाजको आयोजनामा प्रतियोगिता हुन लागेको छ ।

कात्तिक २४ देखि २८ गतेसम्म पृथ्वी तथा लेस्नमाया स्मृति युवा क्लबको आयोजनामा चौथो मेरिङ्देन कप आयोजना हुने भएको छ । सिरिजङ्धा गाउँपालिकास्थित तेल्लोक स्पोर्टिङ क्लबको आयोजनामा अन्तर्राष्ट्रिय आमन्त्रण सिरिजङ्गा गोल्डकप हुन लागेको हो ।

त्यस्तै, मिक्वाखोला गाउँपालिका–४ साँवामा पनि फुङ्फुगे युवा मेला आयोजना गर्न लागिएको छ । मङ्सिर पहिलो साता आयोजना हुने मेलामा फुटबल प्रतियोगिता हुने स्थानीय विजय साँवा लिम्बूले जानकारी दिनुभयो ।

हालको हिउँदयाम र चाडपर्वको मौसमसँगै जिल्लाभर अर्थात् गाउँ–गाउँमा विभिन्न खेलकुद गतिविधिहरू सञ्चालन हुँदैआएका छन् । यही मौसममा हालसम्म दर्जन बढी खेलकुद गतिविधि सम्पन्न भइसकेका छन् । अझ धेरै खेलकुद प्रतियोगिता आयोजना गर्न लागिएका छन् ।

सम्बन्धित स्थानीय तहलगायतको सहयोगमा स्थानीय क्लबहरूले आयोजना गर्ने प्रतियोगितामा न्युनतम् ५० हजारदेखि तीन लाख रुपियाँसम्म पुरस्कार राशि राख्ने गरेको पाइएको छ । खेलकुद गतिविधिअन्तर्गत बढीजस्तो फुटबल र भलिबल विधाका प्रतियोगिता हुने गरेको जिल्ला खेलकुद विकास समितिका अध्यक्ष नरेन्द्रकुमार लिम्बू (गणेश) ले जानकारी दिनुभयो ।