• १२ कात्तिक २०८१, सोमबार

युवा नीतिमा एनआरएनएका विषयलाई समेट्न सरकार प्रतिबद्ध छ : मन्त्री चौधरी

blog

युवा तथा खेलकुदमन्त्री तेजुलाल चौधरी । फाइल तस्बिर

काठमाडौँ, कात्तिक १२ गते । युवा तथा खेलकुदमन्त्री तेजुलाल चौधरीले आगामी युवा नीतिमा गैरआवासीय नेपाली सङ्घ (एनआरएनए)का विषयलाई समेट्ने प्रतिबद्धता जनाउनुभएको छ । एनआरएनए वार्षिक साधारण सभा र ग्लोबल कन्क्लेभ २०२४ को पाँचौँ सत्र राष्ट्र निर्माणका लागि प्रवासी युवाको सशक्तीकरणलाई सोमबार सम्बोधन गर्दै उहाँले भन्नुभयो, “युवा नीति अख्तियार गरेर कानुन र अर्थमा पुगिसकेको छ । मन्त्रिपरिषदबाट केही दिनपछि पारित हुँदैछ । तपाईँहरूको केही कुरा राख्न सकिन्छ ।”

मन्त्री चौधरीले विश्वका विभिन्न मुलुकमा रही फरक–फरक क्षेत्रमा हासिल गरेको अनुभव, क्षमता तथा पुँजी मातृभूमिको विकासमा लगानी गर्ने डायस्पोराको सोच उदाहरणीय भएको बताउनुभयो । “डायस्पोराले उद्यमशीलता, स्थानीय अर्थतन्त्रको विकासमा पनि मद्दत पुर्‍याउन सक्छ । यसका लागि राज्यले सहज लगानीको वातावरण, कर छुट तथा नागरिकताको सहज व्यवस्थापन गर्नुपर्छ”, उहाँले भन्नुभयो ।

भाषा, संस्कृति, उत्पादन, पर्यटन प्रवर्द्धन, शिक्षा, स्वास्थ्य, सामाजिक न्यायको क्षेत्रमा डायस्पोराका युवालाई परिचालन गर्न र अनुसन्धान नवप्रवर्तन क्षेत्रमा अनुभव तथा सीप प्रयोग गर्न सकिने मन्त्री चौधरीको भनाइ थियो । कार्यक्रममा पूर्वकानुन, न्याय तथा संसदीय मामिलामन्त्री एवम् नेपाल कम्युनिष्ट पार्टी (एमाले) नेता पदम गिरीले नयाँ पुस्तालाई राष्ट्र निर्माणमा जोड्न तत्कालै ठोस योजना जरुरी रहेको बताउनुभयो । यसमा निलम्बन नगरी छिटो नीति ल्याउनुपर्नेमा यहाँले जोड दिनुभयो ।

नेकपा (एकीकृत समाजवादी) की नेत्री रामकुमारी झाँक्रीले मानव सभ्यताका लागि बसाइसराइ नियमित प्रक्रिया भएको बताउनुहुँदै राष्ट्र निर्माण अगाडि सकारात्मक धारणा विकास गर्नुपर्ने उल्लेख गर्नुभयो । “पोजेटिभ एटिट्युड निर्धारण गर्न सकियो भने कसरी राष्ट्र निर्माण गर्ने स्पष्ट हुन्छ”, उहाँले भन्नुभयो ।

नेपाली कांग्रेसका नेता केदार कार्कीले नेपालका हरेक सुख दुःखमा साथ दिने प्रवासी नेपालीलाई स्वदेशमा आउँदा सकारात्मक व्यवहार गर्नुपर्ने बताउनुभयो । उहाँले दोस्रो र तेस्रो पुस्ताका नेपालीको सीप तथा पुँजी भित्र्याउन राज्यले ढोका खोल्नुपर्नेमा जोड दिनुभयो ।

एनआरएन नेपाली युवा समिरा केसीले आधा नेपाली र आधा विदेशी भएर बाँचेका आफूहरूलाई एनआरएनएले नेपालसँग जोड्ने काम गरेको बताउनुभयो । उहाँले प्रवासी नेपाली युवाहरू मातृभूमिलाई आफ्नो सीप क्षमता सहयोग गर्न तयार रहेको उल्लेख गर्नुभयो । एनआरएनए उपाध्यक्ष रोशन थापाले नेपाली जनशक्ति पठाउने र उनीहरूको सीप, क्षमता र पुँजी भित्र्याउने दोहोरो नीति आवश्यक रहेको बताउनुभयो ।

खेलाडीलाई नगदसहित सम्मान

यसैगरी, गैरआवासी नेपाली सङ्घ अन्तर्राष्ट्रिय समन्वय परिषद्ले खेलाडीलाई सम्मान गरेको छ । गैरआवासीय नेपाली दिवस वार्षिक साधारण सभा र ग्लोबल कन्क्लेभ २०२४ का अवसरमा राष्ट्रका लागि मेडल ल्याउने खेलाडीलाई सम्मान गरिएको हो । प्यारा ओलम्पिकमा पदक विजेता पलेसा गोवर्धनलाई खेलकुदमन्त्री तेजुलाल चौधरी र एनआरएनएका युवा उपाध्यक्ष रोशन थापाले रु ३० हजार नगद र प्रमाणपत्रसहित सम्मान प्रदान गर्नुभयो । समारोहमा पलेसाका बुबा प्रदीप गोवर्धले पुरस्कार ग्रहण गर्नुभएको थियो । कराँतेमा प्रथम एसियन रजतपदक विजेता एरिका गुरुङलाई रु २५ हजार नगद र प्रमाणपत्रसहित सम्मान गरिएको थियो ।

अस्ट्रियाको भियनामा सम्पन्न गोजुरियो  कराँतेको कातातर्फ स्वर्णपदक विजेता एनआरनएका खेलाडी एनोज महर्जनलाई रु २० हजार नगद र प्रमाणपत्रले सम्मान गरिएको थियो । रासस