• २६ पुस २०८१, शुक्रबार

उपभोक्ताका अधिकार कार्यान्वयनमा जोड

blog

पोखरा समाचारदाता

पोखरा, कात्तिक १२ गते । नेपाली कांग्रेसका पूर्वमहामन्त्री एवं राष्ट्रिय सभा सदस्य कृष्णप्रसाद सिटौलाले संविधानको मौलिक हकमा राखिएका उपभोक्ताका अधिकारलाई राज्यले कार्यान्वयनमा ल्याउनुपर्नेमा जोड दिनुभएको छ । नेपाली कांग्रेस आपूर्ति तथा उपभोक्ता विभागद्वारा वर्तमान अवस्थामा आपूर्ति व्यवस्था र उपभोक्ता अधिकारको सम्बन्धमा आयोजित अन्तक्र्रिया कार्यक्रममा बोल्दै उहाँले जनतालाई जे जति तवरबाट भए पनि हरेक वस्तुको सहज र सुलभ तरिकाबाट आपूर्तिको व्यवस्था मिलाउनुपर्ने बताउनुभयो । 

नेता सिटौलाले नेपाली कांग्रेसले सधैँ पारदर्शी र जवाफदेही भई जनतासँग रहेर जानुपर्ने भन्दै मुलुकमा लोकतन्त्रको स्थापना भएपछि विकासका धेरै काम भए पनि नकारात्मक भाष्यले जनतामा निराशा छाएको उल्लेख गर्नुभयो । उपभोक्ता र व्यवसायीका कुरालाई सम्बोधन गर्दै उहाँले समयसापेक्ष कर प्रणाली परिमार्जन गर्नुपर्ने आवश्यकता रहेको औँल्याउनुभयो । कांग्रेसबारे बोल्दै उहाँले भन्नुभयो, “प्रत्येकका गुण अवगुण हुन्छन्, त्यसलाई सुधार गरी पार्टीभित्र बृहत् एकताको विकल्प छैन ।”

त्यसै गरी पार्टीका सूचना तथा सञ्चार विभाग प्रमुख मीनबहादुर विश्वकर्माले हरेक उपभोक्ता र व्यवसायीका लागि राज्य नै अभिभावक बनेर कानुनमा भएका जटिलतालाई सुधार गर्नुपर्ने बताउनुभयो । उहाँले उद्योग व्यवसायीलाई हुर्मत गर्ने होइन, नियमन गर्नुपर्ने भन्दै उपभोक्ताको हक अधिकारका लागि व्यवसायी पनि उत्तरदायी हुनुपर्नेमा जोड दिनुभयो । उत्पादन वृद्धि नभएसम्म कुनै पनि क्षेत्रमा मूल्य नघट्ने र अन्य राष्ट्रबाट सामान आयात गर्नुपर्ने भएकाले कांग्रेसमा लागेका युवालाई उद्यममा लाग्न उहाँको आग्रह थियो ।

त्यसै गरी केन्द्रीय सदस्य सरस्वती आर्याल तिवारीले उपभोक्ता बढी सचेत हुनुपर्ने बताउनुभयो । नेपाली कांग्रेस गण्डकी प्रदेशका सभापति शुक्रराज शर्माले प्रजातन्त्रमा मात्र खुला अर्थव्यवस्था भएकाले उत्पादनलाई अर्थतन्त्रमा जोड्न सकिने बताउनुभयो । कार्यक्रममा राष्ट्रिय उपभोक्ता मञ्चका केन्द्रीय अध्यक्ष प्रेमलाल महर्जनले वर्तमान अवस्थामा आपूर्ति व्यवस्था र उपभोक्ता अधिकारबारे कार्यपत्र प्रस्तुत गर्नुभएको थियो ।