• २६ पुस २०८१, शुक्रबार

आयुश र अनिशालाई ‘राप्तीसोनारी रन’को उपाधि

blog

‘राप्तीसोनारी रन’को विजेता बन्नुभएकी अनिशा थारुलाई पुरस्कार प्रदान गर्नुहुँदै गाउँपालिका अध्यक्ष तप्तबहादुर पौडेल । तस्बिर : गजेन्द्र गुरुङ

गजेन्द्र गुरुङ
खजुरा, कात्तिक १० गते । 
दसौँ धारा नेपालगन्ज म्याराथनको प्रवर्द्धन गर्ने उद्देश्यले शनिबार आयोजना गरिएको राप्तीसोनारी ५ किलोमिटर रनको उपाधि आयुस केसी र अनिशा थारुले जित्नुभएको छ । निर्धारित दूरी आयुसले १९ मिनेट २३ सेकेन्डमा पूरा गर्नुभएको थियो । त्यसैगरी, अनिसाले २५ः२१ः०५ मिनेटमा पूरा गर्नुभएको थियो ।

नेपालगन्ज म्याराथनको एक दशक यात्रा पूरा गरेको अवसरमा राप्तीसोनारी गाउँपालिका वडा नम्बर २ बिनौनामा सञ्चालन गरिएको दौडमा छात्रतर्फ करण नेपाली १९ः४८ः०६ मिनेटका साथ दोस्रो र मनोज थारु २१ः२१ः०९ मिनेटका साथ तेस्रो हुनुभयो । त्यसैगरी, छात्रातर्फ सुमित्रा रानाले २८ः३९ः०२ मिनेटसहित दोस्रो र सन्तोषी थारु ३८ः५०ः०६ मिनेटसहित तेस्रो बन्नुभयो ।

विजेता खेलाडीलाई राप्तीसोनारी गाउँपालिका अध्यक्ष तप्तबहानुर पौडेल, राप्तीसोनारी गाउँपालिका खेलकुद विकास समिति संयोजक तेजबहादुर सुवेदी, रेस डाइरेक्टर चन्द्र गुरुङ, अन्तर्राष्ट्रिय धावक तीर्थ ओली, नेपालगन्ज म्याराथनका संस्थापक टीएस ठकुरीले पुरस्कार वितरण गर्नुभएको थियो ।

राप्तीसोनारी रनको उद्घाटन गर्दै पालिका अध्यक्ष पौडेलले नेपालगन्ज म्याराथनसँग राप्तीसोनारी गाउँपालिका साझेदारी गर्न तयार रहेको बताउनुभयो । राप्तीसोनारीलाई खेलकुदमय बनाइ पर्यटकीय गन्तव्यका रूपमा विकास गर्न पालिकाले योजना बनाइरहेको पनि उहाँले जानकारी गराउनुभयो ।

पालिकाको महत्त्वपूर्ण साझेदारी भइदिए राप्तीसोनारी रन हरेक वर्ष आयोजना गर्ने र स्थानीय प्रतिभा खोज्ने तयारी गरिएको नेपालगन्ज म्याराथनका रेस डाइरेक्टर चन्द्र गुरुङले बताउनुभयो । दौडका अवसरमा दुई किलोमिटर वाकाथन आयोजना गरिएको थियो । वाकाथनमा स्थानीय शिक्षक, वृद्ध लगायतको सहभागिता रहेको थियो ।

नेपाल सरकार र तत्कालीन विद्रोही पक्ष नेकपा माओवादीबिच विस्तृत शान्ति सम्झौता भएको दिन ५ मङ्सिर २०६३ को स्मरणमा हरेक वर्ष मङ्सिरको पहिलो शनिबार हुँदै आएको नेपालगन्ज म्याराथन यस वर्ष कर्णालीमा बृहत् राष्ट्रिय खेलकुद परेकाले मङ्सिर २२ गते शनिबार हुन लागेको आयोजकले जनाएको छ ।

दशक लामो सशस्त्र द्वन्द्व विधिवत् अन्त्य भई देशले शान्ति, विकास र समृद्धिको बाटोमा यात्रा तय गरेको दिनको स्मरण गर्दै ५ मङ्सिरमा नेपालगन्जको बिपीचोक र कोहलपुर चौराहामा दीप प्रज्वलन गरिँदै आएको छ । क्रियटिभ ह्याण्ड्सको आयोजना एवम् क्रियटिभ गन्ज मिडिया एण्ड इभेन्ट म्यानेजमेन्टको व्यवस्थापन रहेको १० औँ धारा नेपालगन्ज म्याराथनले नेपालकै छैटौँ पुरानो सहर नेपालगन्ज र उदीयमान सहर कोहलपुरलाई जोड्दै आएको छ ।