• १२ कात्तिक २०८१, सोमबार

ओस्कार प्रतिस्पर्धामा साम्भाला

blog

‘साम्भाला’ बर्लिन अन्तर्राष्ट्रिय फिल्म फेस्टिभलको मुख्य विधामा छनोट भएको नेपाली फिल्म हो । यस फिल्मका निर्देशक मीनबहादुर भाम र कथा मीन स्वयम् र अविनाश विक्रम शाहको रहेको छ । डोल्पाको स्थानीय भाषामा बनेको यो फिल्म त्यहाँको ४२ सयदेखि छ हजार मिटर धरातलीय उचाइमा बनेको छ । यसको सामाजिक आधार त्यहाँको जनजीवन, बहुपति प्रथा, लोक प्रचलित सांस्कृतिक मूल्यमान्यताका विविध पक्ष रहेका छन् । फिल्मले भरपूर हिमाली दृश्यावलोकन गराउँछ । 

समवयी दुई र पुत्रवयी एक जनासहित एकै पटक तीन पतिसँग विवाहबन्धनमा बाँधिएकी नायिका पेमाको पूरै जीवन अनपेक्षित अवगालको जालमा जेलिएको हुन्छ । बुहारी पेमाको आगमनबाट त्यो घरले पूर्णता पाएको मानिन्छ । बहुपतिबिचको मिलन र सन्तुलनमा पारिवारिक जीवन सफल हुने अग्रजको सुझाव र आशीर्वादका पाइलामा पेमाको दुलही जीवन अगाडि बढ्छ । कथानकमा डोल्पो क्षेत्रको विवाह परम्परा, बौद्ध आस्था र घोडामा भारी बोकाएर ल्हासासम्म बर्सेनि हुने व्यापार विनिमय, त्यस क्रममा यात्री र घर दुवैको शुभलाभको कामना तथा पितृश्रद्धाका विविध पक्ष बुनिएका छन् । महिलाले घर धानेर बस्नुपर्ने र पुरुषहरू बाह्य व्यापार, व्यवसायमा रहने नेपाली समाजको तत्कालीन स्वाभाविक दृश्य रहेको छ । तागाधारी समुदायको यौन जीवनका तुलनामा जनजाति समुदायमा अलिक खुलापन हुने कथनलाई फिल्मले गलत साबित गरिदिएको छ । 

बहुपति प्रथालाई सन्तुलित उपयोग गरी भाइ भाइबिच विश्वास र सद्भाव रहने गरेको तर त्यहाँ परपुरुषको प्रवेश पूर्णतः वर्जित रहेको देखिन्छ । यहाँ पाण्डव पत्नी द्रौपदीको सन्तुलित व्यवहारलाई सम्झाउँछ । गुप्तबासमा सैरन्ध्री (द्रौपदी) लाई आँखा लगाउँदा वल्लभ (भीमसेन) ले विराटका शक्तिशाली प्रधानमन्त्री किचकलाई मारेर स्थिति नियन्त्रणमा लिएका थिए । साम्भालामा आफ्नी पत्नी पेमा र रामसरबिचको अफवाह सुनेपछि टासीले चिनो फिर्ता पठाएर बाटोबाटै यात्रा अन्यत्र मोडिदिन्छन् । वास्तविकता पत्ता लगाउनुभन्दा समाजमा मुख देखाउन कठिन हुने डरले भागेर नायक टासीले पारिवारिक वातावरण बिगारेका छन् । यता पतिभक्त नायिका पेमा चाहिँ रिम्पोछेले रुचाएको पवित्र नयाँ अवतारको गर्भ हुर्काउँदै विश्वासको वाहक बनेको देखिन्छ । 

भगवान् वा पवित्र आत्माको अवतार यस्तै कठिन परिस्थितिमा रहेको स्थानमा हुने हिन्दु विश्वासलाई आधार मानेर हेर्दा कथाले पेमाले भोगेको अवगाल र पति खोजको कठिन यात्राले हिन्दु र बुद्ध दर्शनबिचको विश्वासमा समानता प्रदर्शन गरेको छ । फिल्मकी मुख्य चरित्र पेमालाई उनको सेतो घोडा नाम्खाले उसको मृत्युपर्यन्त साथ दिएको छ । विकट हिमाली क्षेत्रमा पेमालाई साथ दिइरहेको नाम्खालाई जब हिमाली ब्वाँसाहरूले मार्छन्, त्यसपछिको दृश्य निकै कारुणिक छ । आफ्नो वास्तविकता बताएर दोषमुक्त हुने लालसा पूरा गर्न पतिको खोजमा कठिन यात्रा गरिरहेकी सङ्घर्षशील गर्भवती पेमालाई परेको दुःख र करुण चीत्कारले अनायासै दर्शकका आँखा रसाउँछन् । त्यसपछि नायिका एक्कासि घर पुग्छिन् । 

लोकलाञ्छनाबाट बच्ने बहानामा सीताजीलाई पतिव्रताको अग्निपरीक्षा गराइन्छ, रामायणमा । पतिव्रता नारीमा अपराजित हुने शक्ति हुने विश्वास भए पनि यसमा शङ्का वा बात लागेमा कठिन परीक्षामा होमिनु पथ्र्याे । साम्भालामा पहिले एउटी नारीले तीर परीक्षामा असफल भएपछि अपमानबोध गर्दै आत्महत्या गरेको दृश्य छ । नायिका पेमालाई पनि टासीले गर्भपतन गर्न र यस्तै तीर परीक्षाको आह्वान गरेको दृश्य छ । रामायणमा सीताजीले गर्नु परेको अग्निपरीक्षा र यहाँ पेमाले गर्नु परेको तीर परीक्षाबिच समानता देखिन्छ । गुरु रिम्पोछेको सत्कारमा समर्पित माइलो पति कर्मा गुम्बाको जीवनलाई उत्तम ठान्छ । उसले बच्चा जसको भए पनि जन्म हुने प्रक्रियालाई नै चमत्कारका रूपमा लिँदै सहजै स्वीकार गरेको छ । यसले अध्यात्म मार्गमा फराकिलो सोच रहने र यसले वैयक्तिक स्वतन्त्रताको सम्मान गर्ने सन्देश दिएको छ । 

‘मलाई नसोधी किन अरूको कुरामा लागेर भड्कियौ ?’ भनेर प्रश्न गर्ने अभिलाषालाई दबाएर पेमा पनि आफू पतिव्रता रहेको प्रमाणित गर्न तीर परीक्षामा होमिन्छिन् । याकको कङ्काल सेतो खप्परमा हानिएको तीरको आवाजले मात्र उनी सफल भएको जनाउ दिन्छ । यो सङ्केत नबुझ्ने दर्शकहरू चाहिँ रनभुल्लमा पर्न सक्छन् । यसपछि रिम्पोछेको पुनर्जन्मलाई हिमनदीमा छाडेर नायिका रिम्पोछेसँगै समाहित भएको दृश्य देखिन्छ ।   

फिल्ममा थुप्रै विम्ब प्रयोग भएका छन् । पेमासँग सेतो घोडा र हिमाल सधैँ सँगसँगै रहेका छन् । यसले उनलाई योद्धा र सेता हिमालझैँ अटल छिन् भन्ने देखाउँछ । मृत्युपछि प्रार्थना गर्दै मृत शरीरलाई प्रकृतिको काखमा फालिदिने परम्परा ‘क्याराभान’ मा झैँ यहाँ पनि देखाएको छ । उस्तै स्थानीयतामा बनेका कथाका दृश्यमा समानता हुनु स्वाभाविक हो । आफ्नो १२ बर्से उमेरदेखि कथा लेखेर फिल्म बनाउने सपना साकार भएको निर्देशकले बताएका छन् । तीन पतिलाई उनले आफ्ना विभिन्न उमेरको साङ्केतिक स्वरूपमा प्रतिविम्बन गरेको र जन्म, पुनर्जन्मप्रतिको विश्वासलाई कथानकमा बुनेको अभिव्यक्ति दिएका छन् । 

घरमूलीले ढोकामा जुत्ता  झुन्ड्याउने सामाजिक प्रचलन देखाइएको छ । दुवै दाजु नभएको अवस्थामा परम्परा अनुसार दावाले ‘घरको मूली म हुँ’ भन्दै श्रीमतीमाथि हक जमाउँदै पितृसत्ता जमाउँछ । पेमाले रिम्पोछेलाई आशीर्वाद दिएको दृश्यले मातृशक्तिको महìव स्थापित गरेको छ । फिल्ममा निर्देशकले कथासँगै अन्तरघुलन गरेको ‘साम्भाला’ को गहिरो अध्यात्मलाई बुझ्न दर्शक तथा समीक्षक एकाग्र हुनै पर्छ । पेमाको चरित्र आध्यात्मिक चेतयुक्त, दृढ, आत्मविश्वासी, कोमल, सङ्र्षशील, सफल ग्रामीण महिलाका रूपमा रहेको छ । रिम्पोछेको मृत्युको सन्देश दिँदै काठमाडौँ जान बिदा लिन लागेको राम सरलाई ‘हामी सबै आफ्नो आफ्नो बाटो लाग्नु पर्छ’ भन्दै दिएको सन्देश र तीर परीक्षामा प्राप्त सफलतासँगै उनको सफल र परिपक्व भूमिका देखिन्छ । टासी ल्हासामा व्यापार गर्न जाँदा पेमा र दावाले देखाएको ममता र आत्मीय बिदाइमा परिवारको स्वाभाविक चित्र छ । ओछ्यानमै पिसाब फेर्न नछाडेको चञ्चले बालक पति दावाको जीवनमा पत्नी के हो थाहा हुन्न । बालक पति दावाको भविष्यका निर्माण र पाइलट बन्ने चाहना पूरा गर्न राम सरको यस घरभित्र प्रवेश हुन्छ । जवान पति घरबाहिर भएका समयमा अर्को जवानको प्रवेशले दर्शकलाई झस्काउँछ र यो झस्काइले साँच्चै कथालाई बाङ्गोटिङ्गो बनाएको छ । ‘तिमीले मेरो नसुनी कसरी अरूको कुरा पत्याएको ?’ भनेर  पेमाले टासीलाई गर्न चाहेको प्रश्नले पतिपत्नीबिच विश्वासको अपरिहार्यता दर्साउँछ । निर्देशकले अर्काे जबर्जस्त सन्देश दिन चाहेका छन्– हिमाली जनजीवनमा यात्रा समृद्ध जीवनको खोजीमा गरिन्छ भन्ने लाग्थ्थो तर अहिले पछि प्राप्त भएको स्थानभन्दा बाल्यकाल बिताएको स्थान नै उत्तम रहेछ । 

पुनर्जन्म हुन्छ भन्ने मान्ने हो भने पेमाको सपनामा सेतो याकका रूपमा गर्भमा प्रवेश गरेर जैविक सङ्घर्षबिना नै गुरु रिम्पोछेले पुनर्जन्म लिएको मान्नुपर्ने हुन्छ । पतिको खोजीमा गरेको सङ्घर्ष, तीर परीक्षामा पाएको सफलता र गर्भमा गुरुको बास भएकाले नायिकालाई दोषमुक्त गर्न सकिन्छ । अतिथि सत्कारका क्रममा आगन्तुक राम सरसँग भावनावश कुनै दुर्घटना भए पनि त्यसैलाई बोकेर जीवन खल्लो बनाउनु उचित हुन्न । अथवा गुरु रिम्पोछेको पुनरागमनका लागि नियतिले यस्तै कुनै घटना छनोट गरेको पनि त हुन सक्छ । 

तत्कालीन समाजको बहुपति प्रथा र तीर परीक्षाको अभ्यासलाई आधार मानेर नारी महत्ता कमजोर थियो भन्न मिल्दैन । कठिन परीक्षामा त सधैँ शक्तिशाली नै जाँचिने हुनाले यसले त बलियो नारी सत्ताको आधार दिएको छ । यस्तै मानव जीवन र प्रकृतिका फरक स्वरूपका बिचमा तादात्म्य हुन्छ र जीवन प्रकृतिको सिर्जना भएकाले अन्ततः प्रकृतिमै बिलाउने चक्र चलिरहन्छ । आध्यात्मिक विश्वास र भौतिक अभ्यासको परीक्षणबाट जीवन र जगत्को सौन्दर्य खोज्न सक्नु पर्छ । घरमूली घरभन्दा बाहिर भएको अवस्थामा महिलाप्रति समाजले आँखा ठड्याउने प्रवृत्तिले वर्तमान नेपाली समाजमा हुर्कन थालेको पारिवारिक विग्रहबाट जोगिन पनि सन्देश दिएको छ ।

फिल्ममा करिब एक वर्ष अवधिको कथा समेटिएको छ । दृश्य सुस्त तर ढुक्कले अघि बढेका छन् । केही घटना, पात्र फड्किँदै अघि बढेका देखिन्छन् । केही दृश्य लामा लाग्छन् । स्थानीय भाषाको संवादलाई नेपाली र अङ्ग्रेजी भाषामा अनुवाद राखिएकाले बोधगम्य बनेको छ । उच्च हिमाली क्षेत्रको सामाजिक परिवेशको कथा अनुसार पात्रहरूको चरित्र उतार्न सहज नभए पनि थिन्ले ल्हामो, सोनम तोप्देन, तेन्जिन दाल्हा, कर्मा शाक्य, लोटेन नम्लिङलगायत कलाकारको अभिनय जीवन्त लाग्छ । मिठो पाश्र्व सङ्गीतका साथमा आनी छोइङ डोल्माको स्वरमा एउटा गीत छ । फिल्ममा को कलाकार ? भन्ने विषय गौण हुनु पर्छ, अभिनयले पात्रको चरित्र बोक्न सक्नु पर्छ । सबै पात्र सबै सफल देखिएका छन् । सेतो घोडा ‘नाम्खा’ को भूमिका स्वामीभक्त र अविस्मरणीय छ । 

‘साम्भाला’ विश्वासमा आधारित स्वर्ग हो । यहाँ पूर्ण खुसी, पूर्ण स्वतन्त्रता र मायाको परिपूर्णता हुन्छ । साम्भालालाई निर्देशकले विष्णु भगवान्को कल्की अवतार हुने र शान्तिदूत बुद्धको अन्तिम अवतार हुने पवित्र स्थानका रूपमा परिकल्पना गरेका छन् । साथै उच्च हिमाली कल कल पानीमा छोडिएको शिशुलाई नै कल्की वा अन्तिम बुद्ध अवतारका रूपमा देख्न चाहेका छन् ।

बर्लिनको अन्तर्राष्ट्रिय फिल्म विधामा छनोट हुने पहिलो नेपाली फिल्मका रूपमा इतिहास रच्दै २०८० फागुनमा यसको प्रिमियर भइसकेको छ । यो चलचित्र ९७ औँ एकेडेमी अवार्ड ३ मार्च २०२५ मा लसएन्जलसमा आयोजना हुने ओस्कार अवार्डका लागि नेपालबाट अन्तर्राष्ट्रिय फिचर फिल्म विधामा समेत प्रतिस्पर्धा गर्दै छ । यो जीवन्त नेपाली कथानकलाई अन्तर्राष्ट्रिय परीक्षणमा सफलताको शुभकामना !  

Author

गेहनाथ गौतम