• ७ मंसिर २०८१, शुक्रबार

लुम्बिनी प्रदेश प्रहरी अस्पतालमा इन्डोस्कोपी सेवा पनि सुरु

blog

प्रहरी अस्पतालमा इन्डोस्कोपी गर्दै प्रहरी उपरीक्षक डा. हमाल । तस्बिर : सिराज खान

सिराज खान
नेपालगन्ज, कात्तिक ९ गते ।
पश्चिम नेपालका विभिन्न जिल्लामा कार्यरत प्रहरी र उनका परिवारको उपचारका लागि नेपालगन्जमा स्थापना गरिएको लुम्बिनी प्रदेश प्रहरी अस्पतालले विभिन्न सेवाहरु थप्दै गएको छ । अस्पताललाई स्तरोन्नती गर्दै जाने क्रममा अस्पतालले विभिन्न उपकरण र उपचार विशेषज्ञ सेवाहरु समेत थप गर्दै गएको सो अस्पतालले जनाएको छ ।

सोही क्रममा पछिल्लो समयमा लुम्बिनी प्रदेश प्रहरी अस्पतालमा इन्डोस्कोपी सेवा पनि सुरु गरिएको छ । अस्पतालका प्रमुख प्राविधिक प्रहरी उपरीक्षक डा.अच्युत विक्रम हमालले इन्डोस्कोपी सेवाको शुभारम्भ गरेर सेवा सुरु गर्नुभयो ।

प्रहरी उपरीक्षक डा.हमालले प्रहरी अस्पतालमा इन्डोस्कोपी सेवा सुरु भएपछि लक्षित बिरामीहरुलाई सहज भएको बताउँदै अब यो सेवाका लागि बिरामीलाई बाहिर पठाउनु पर्ने बाध्यताको समेत अन्त्य भएको बताउनुभयो ।

उहाँले अस्पतालमा अब छिट्टै आइसीयू सेवा पनि सुरु गर्ने तयारी भइरहेको जनाउँदै आइसीयु सेवा सुरु गरिएपछि गम्भीर प्रकारका बिरामीको उपचारमा थप सहजता हुने बताउनुभयो ।

डा. हमालका अनुसार इन्डोस्कोपी गर्दा शरिरमा एउटा पातलो नली हालिन्छ जसमा इन्डोस्कोप क्यामरा राखिएको हुन्छ । यो क्यामराले शरिरको आन्तरिक अङ्गको तस्बिर खिच्ने गर्छ जुन सिधा मोनिटरमा देख्न सकिन्छ । यसको अर्थ शरिर भित्रका अङ्गको परीक्षण गर्नु हो । जब शरिरभित्र कुनै समस्या वा सङ्क्रमण हुन्छ तब विभिन्न लक्षण देखिने गर्छ जुन सतहमा हेर्दा चिकित्सकले बुझ्न सक्दैनन् । त्यसकारण इन्डोस्कोपीको आवश्यकता पर्छ ।

साधारणतया नाकको समस्या वा साइनस, गलाको समस्या, यदि कसैलाई खानेकुरा निल्न समस्या भए, बान्ता गर्दा रगत देखिएमा, आन्द्रा सुन्निए वा पीडा हुँदा, कब्जियत, पित्तथैलीमा पत्थरी, पेटको अल्सर, गर्भाशयको परीक्षण, पिसाब र दिसाबाट रगत आउँदा, गम्भीर शल्यक्रिया अघि र कानको रोगका लागि इन्डोस्कोपी गर्ने गरिएको चिकित्सकहरुको भनाइ छ ।

प्रदेशस्तरीय सो प्रहरी अस्पतालमा अहिले प्रहरी र उनीहरुका परिवारको मात्र उपचार हुँदै आएको छ । अन्य नागरिकहरुलाई समेत सेवा दिने गरी प्रहरी अस्पतालले प्रक्रिया अगाडि बढाइसकेको अस्पताल प्रशासनले जनाएको छ ।

अस्पतालले अहिले ओपिडी सेवासहित इएनटीका बिरामीलाई पनि आवश्यक शल्यक्रिया सेवा समेत प्रवाह गर्दै आएको सो अस्पतालका चिकित्सक प्रहरी नायब उपरीक्षक डा. आनन्द झाँले बताउनुभयो । उहाँले अस्पतालमा अपरेशन थिएटर सञ्चालनमा आएलगत्तै नाक कान घाँटीको शल्यक्रिया सुरु गरिएको बताउनुभयो ।