• ९ मंसिर २०८१, आइतबार

भूगर्भविद्को समूह बेथानचोकमा

blog

भौगोलिक अध्ययनका लागि बिहीबार बनेथानचोक गाउँपालिका–२ पुगेको भूगर्भविद्को समूह । तस्विरः केदार तिमल्सिना

केदार तिमल्सिना 

बनेपा, कात्तिक ९ गते । असोज दोस्रो साता परेको अविरल वर्षासँगै जिल्लाका विभिन्न स्थानीय तहमा बाढीपहिरोले ठुलो जनधनको क्षति गरेपछि भूगर्भविद्हरुको एक टोली बेथानचोक पुगेको छ । 

असोज ११ र १२ गते आएको बाढीपहिरोका कारण ठुलो क्षति भएपछि काभ्रेपलाञ्चोकको बेथानचोक गाउँपालिकाले भूगर्भविद्को टोलीलाई बाढीपहिरो प्रभावित क्षेत्रको स्थलगत अध्ययन अवलोकनका लागि टोली त्यहाँ पुगेको हो ।  

गाउँपालिका अध्यक्ष भगवान अधिकारीले बाढीपहिरोबाट गाउँपालिकाभित्र ठुलो जनधनको क्षति भएका कारण आगामी दिनमा आउन सक्ने विपदका घटनामा क्षति व्यहोर्न नपरोस् भन्ने हेतुले भूगर्भविद्को टोलीलाई बाढीपहिरोबाट क्षति भएको स्थानको स्थलगत अध्ययन, अवलोकनका लागि लगिएको बताउनुभयो । 

“बाढीपहिरोपछि गाउँपालिकाभित्रका ४४ सय घरधुरी प्रभावित बन्यो त्यसपछि हामीले काठमाडौँ विश्वविद्यालय (केयू) लाई आग्रह गरी बायो इन्जिनियरिङ वा विज्ञताको हिसाबले मद्दत मागेर गाउँपालिकाभित्रका वडा १ देखि ६ सम्मको बाढीपहिरोबाट प्रत्यक्ष प्रभावित भएको स्थानहरुको भूगोल, माटो, भौगोलिक स्थिति हेरेर विज्ञ सल्लाह लिनको लागि विश्वविद्यालय र उहाँहरुको मार्फतबाट भारतबाट एक जना विज्ञ झिकाएर यहाँको भूगोल अध्ययन गर्न उहाँहरुको सहयोग मागेका हौँ” गाउँपालिका अध्यक्ष अधिकारीले भन्नुभयो । 

केयूमार्फत आएको विज्ञ टोलीले गरेको भौगोलिक अध्ययनको प्रतिवेदनपछि त्यसमा दिइएको सल्लाह, सुझावको आधारमा गाउँपालिकाले गम्भीरताका साथ अघि बढेर काम गर्ने बताउनुभयो । “अध्ययनले सङ्घीय, प्रदेश सरकारलाई हाम्रो अवस्थाको बारेमा जानकारी गराउन मद्दत गर्ने विश्वास गरिएको छ । 

विज्ञ टोलीले बेथानचोक गाउँपालिकाको वडा नम्बर–४, वडा नम्बर १, वडा नम्बर २, ३ लगायतको बाढीपहिरोबाट बढी प्रभावित बस्ती, सडकलगायतको क्षेत्रमा आएको बाढीपहिरोको अध्ययन गरेको छ । विज्ञको प्रतिवेदनपछि गाउँपालिकाले नयाँ गुरुयोजना निर्माण गरेर काम अघि बढाउने बताउनुभयो ।

 

स्थलगत अध्ययनका लागि इण्डियन इन्ष्टिच्युट अफ इन्जिनियरिङ साइन्स एण्ड टेक्नोलोजी कलकत्ताका भूगर्भविद् प्राडा. प्रतीक दत्तलाई नेपाल ल्याएको छ । प्राडा. दत्तसहित केयूको माइनिङ इन्जिनियरिङ विभागको टोलीले बिहीबार बेथानचोकका विभिन्न खानी, पहिरो, बाढीबाट क्षति भएको स्थानको अध्ययन, अवलोकन गरेको हो । 

विश्वविद्यालय स्कुल अफ इन्जिनियरिङ विभागका सह–डिन डा. श्यामसुन्दर खड्काले बाढीपहिरोबाट ढुङ्गाखानीमा कुनै क्षति नगरेको बताउँदै खानीमाथिको पहिरोले लेदो लगेर बगरमा क्षति गरेको बताउनुभयो ।