जनकपुरधाम, कात्तिक ७ गते । वैदिक सत्य सनातन हिन्दु धर्मावलम्वीहरु यतिबेला दीपावली तथा छठ पर्वको तयारीमा लागेका छन् । यी दुवै पर्वमा माटाका भाँडाकुँडाको माग अत्यधिक हुने गर्दछ । यो माग पूर्ति गर्नकै लागि जनकपुरका कुम्हाल समुदाय यतिबेला माटोका भाँडाकुँडा बनाउन व्यस्त छन् । तर पछिल्लो समय यो पेसाबाट मनग्य आम्दानी नहुँदा युवाहरू पेसाबाटै पलायन हुँदै गइरहेको गुनासो उनीहरूको छ ।
उमेरले ७० वर्ष पुग्नुभएका उपेन्द्र पण्डित माटाका सामानहरू बनाउन यतिबेला व्यस्त हुनुहुन्छ । अनुभव र सीपले युवाहरू भन्दा पनि छिटो माटोका भाँडा बनाउनुहुन्छ । उहाँलाई अहिले आउँदै गरेको लक्ष्मीपूजा र आस्थाको पर्व छठका लागि माटोको दियो, हाथी, ढकना, सर्वा लगायतका सामग्रीहरू बनाउने चटारो छ । यी पर्वहरूको समयमा माटाका सामानहरूको माग बढेपछि उहाँ बिहानैदेखि माटाका सामानहरू बनाउन व्यस्त हुनुहुन्छ । जनकपुरधाम वडा नम्बर २४ बसहियाका स्थानीय पण्डितले माटोबाट निर्माण हुने विभिन्न कलात्मक सामग्रीहरू बनाउन थालेको लगभग ४० वर्ष भइसकेको छ । उपेन्द्र घरपरिवार चलाउन पुर्ख्यौली पेसाका साथै अन्य कामहरू पनि गर्नुहुन्छ ।
माटोको सामग्री कुनै विशेष पर्व वा सिजनमा मात्रै विक्री हुने गर्दछ । त्यसमध्ये दीपावली र छठ पनि हो । यही पेसाको भर पर्ने हो भने घर चलाउन हम्मेहम्मे पर्छ । त्यसैले घरपरिवार धान्न पुर्ख्यौलीका साथै अन्य पेसा समेत अपनाउने गरेको कुम्हाल समुदाय बताउँछन् । उपेन्द्र जस्तै दैनिकी परीक्षण पण्डितको पनि छ । उहाँले माटाको भाँडाकुँडाको व्यवसाय सुरु गरेको लगभग ३० वर्ष भइसकेको छ । उहाँले पहिलेभन्दा माटाको भाँडाकुँडाको व्यापार बढेको बताउनु भयो । मागअनुसार त्यसको आपूर्ति गर्न नसकेको उहाँको भनाई छ ।
महँगी बढिरहेको छ । तर आजभन्दा पाँच वर्ष पहिले ५० रुपियाँ पाउने कलशको मूल्य अहिले पनि त्यस्तै छ । दुई रुपियाँमै पछिल्लो पाँच वर्षदेखि माटोको दियो बेच्न परिरहेको कुम्हाल समुदायको गुनासो छ । विष्णु पण्डित भने यी समस्याहरूलाई पन्छाउँदै आफ्नो पुर्ख्यौली पेसालाई निरन्तरता दिने सोचमा हुनुहुन्छ ।
माटो किन्नेदेखि लिएर दाउरासम्मको मूल्य तिरेर एक महिनासम्म मेहनत गरे पनि मनग्य आम्दानी हुन नसक्दा कुम्हाल पेसामा लाग्न युवाहरू रुचाउँदैनन् । यसले कुम्हाल पेसा नै सङ्कटमा पर्ने उनीहरू गुनासो गर्दछन् ।