• १० कात्तिक २०८१, शनिबार

मुक्तिनाथमा धार्मिक पर्यटक भरिभराउ (फोटो फिचर)

blog

मुक्तिनाथ मन्दिर दर्शन गर्न आएका पर्यटकहरु । तस्बिर : ठाकुरप्रसाद आचार्य

ठाकुरप्रसाद आचार्य
मुस्ताङ, कत्तिक ७ गते ।
दसैँ सकिए लगत्तै मुस्ताङको प्रसिद्ध धार्मिक स्थल मुक्तिनाथ मन्दिर धार्मिक पर्यटकले भरिभराउ भएको छ । मुक्तिनाथमा यतिखेर स्वदेशी तथा विदेशी पर्यटकहरु भरिएका छन् ।

मौसम सफा भएकाले यसपालि मुक्तिनाथ मन्दिर दर्शन गर्ने तीर्थालु भक्तजनको सङ्ख्या बढेको हो । दैनिक रुपमा करिब ४ हजारदेखि पाँचहजारको सङ्ख्यामा धार्मिक पर्यटक मुक्तिनाथ आएको मुक्तिनाथ क्षेत्र विकास समितिले जनाएको छ ।

दसैँ तिहार बिदा भएकाले विद्यालय तथा क्याम्पसका विद्यार्थीहरु पनि उल्लेख्य मात्रामा मन्दिर दर्शन गर्न आएका छन् । देशका प्रयाजसो जिल्लाबाट भक्तजनहरु मुक्तिनाथमा पूजाआराधना र दर्शन गर्न आएका छन् । बुधबार बिहानैदेखि मुक्तिनाथ मन्दिर परिसरमा तीर्थालु भक्तजनहरुको निकै भीड लागेको छ । बिहान ७ बजेदेखि बेलुकासम्म नै भक्तजनको भीड लाग्ने गरेको मुक्तिनाथ क्षेत्र विकास समितिका कर्मचारी रविन सुवेदीले बताउनुभयो ।


उहाँले भन्नुभयो, ‘‘दसैँपछिका दिनहरुमा बिहान ७  देखि साँझ ५ बजेसम्म नै भक्तजनको भीड हुन्छ । हिजो आज मौसम सफा भएकाले भक्तजनको सङ्ख्यामा वृद्धि भएको छ ।’’ मुक्तिनाथ मन्दिर परिसरमा रहेका एकसय आठ धारा र दुईवटा कुण्डमा भक्तजनले स्नान गर्दछन् ।

पहिलोपटक दाङको तुलसीपुरबाट मुक्तिनाथ मन्दिर दर्शनका लागि आउनुभएका चीरन खड्काले मुक्तिनाथ आएपछि मन प्रफुल्ल भएको बताउनुभयो । उहाँले भन्नुभयो, ‘‘मुक्तिनाथ पवित्र धार्मिक तिर्थस्थलका साथै प्राकृतिक सुन्दरताको खानी रहेछ ।’’

मन्दिरदेखि तल रानीपौवामा करिब ४० वटा सुविधासम्पन्न होटल छन् । धार्मिक पर्यटकका कारण धेरैजसो होटलहरु भरिभराउ भएको होटल अन्नपूर्ण इनका सञ्चालक ध्रुव सुवेदीले बताउनुभयो । मङ्सिर महिनासम्म यहाँका होटलहरु भरिभराउ नै हुने उहाँले बताउनुभयो ।


मुक्तिनाथ हिन्दू र बौद्ध धर्मावलम्बीको प्रसिद्ध तीर्थस्थल हो । मुक्तिनाथ मन्दिर ३७ सय दश मिटर उचाइमा छ । मुक्तिनाथ विश्वकै प्रसिद्ध पदमार्ग ‘अन्नपूर्ण सर्किट’मा पर्छ । त्यसैले ट्रेकिङका लागि मुक्तिनाथ उत्तम मानिन्छ ।

प्रकृतिमा रमाउने पर्यटकहरु ट्रेकिङ गर्दै मुक्तिनाथ पुग्ने गर्छन् । शरदयामको यो सिजनमा आन्तरिकका साथै विदेशी पर्यटकहरु उल्लेख्य मात्रामा मुक्तिनाथको दर्शन गर्न आएका छन् । मुस्ताङको जोमसोम, ठिनी, कागबेनी र माथिल्लो मुस्ताङको ऐतिहासिक बस्ती लोमान्थाङमा पनि पर्यटकको सङ्ख्या वृद्धि भएको छ ।