सार्वजनिक निर्माण कार्यमा कामको गुणस्तर, लागतको प्रभावकारिता र आयोजनाको दिगोपना सुनिश्चित गर्न गरिने मूल्याङ्कन प्रक्रिया हो– प्राविधिक परीक्षण । यस प्रक्रियामा आयोजनाले ऐन, नियम, सार्वजनिक निर्माण निर्देशन र ठेक्का कागजात अनुसार काम गरेको छ कि छैन भन्ने पनि मूल्याङ्कन गर्छ । प्राविधिक परीक्षणले सार्वजनिक पूर्वाधारको गुणस्तर सुधार, निर्माण कार्यमा सार्वजनिक निर्देशिकाको पालना सुनिश्चित, वस्तु र सेवाको पारदर्शी खरिद प्रक्रिया, निर्माण सामग्रीको न्यूनतम प्रयोग र लागत हेरफेरमा कमी, वार्षिक मर्मतसम्भार खर्चमा कमी, परियोजनाको आयु लम्ब्याउने र परियोजना चक्रको कुल लागत घटाउने नै हो । सार्वजनिक पूर्वाधार निर्माणको गुणस्तर सुधार र लागतको प्रभावकारिता सुनिश्चित गर्न यसका सम्भावनालाई निम्न रूपमा उल्लेख गर्न सकिन्छ ।
नेपालमा सार्वजनिक पूर्वाधार निर्माणको क्षेत्र तीव्र रूपमा बढ्दै गएको छ, जसमा सडक, जलविद्युत्, खानेपानी, पुल, भवन, र ग्रामीण पूर्वाधार समावेश छन् । यी परियोजनामा लागत र गुणस्तरको पारदर्शिता आवश्यक छ, जसलाई प्राविधिक परीक्षणले प्रभावकारी रूपमा सम्बोधन गर्न सक्छ । ठुलो र दीर्घकालीन परियोजनाको सफल कार्यान्वयनका लागि प्राविधिक परीक्षण अपरिहार्य बन्न सक्छ । नेपालको पहाडी भौगोलिक संरचनाले निर्माण कार्यमा चुनौती थप्छ, जसले गर्दा परियोजना समय र लागतमा भेरिएसन हुने सम्भावना धेरै हुन्छ । यस्तो अवस्थामा प्राविधिक परीक्षणले पूर्वनिर्धारित मापदण्ड पालना भएको सुनिश्चित गर्न र आवश्यक सुधार गर्न सहयोग पु¥याउँछ ।
नेपालको सरकारी बजेटको ठुलो हिस्सा सार्वजनिक निर्माण कार्यमा खर्च हुन्छ । यस खर्चको सही उपयोग भएको छ कि छैन भनेर सुनिश्चित गर्न प्राविधिक परीक्षण एक महत्वपूर्ण साधन बन्न सक्छ । भ्रष्टाचार र अनियमितताको न्यूनीकरणका लागि पनि यसले प्रभावकारी भूमिका खेल्न सक्छ । किनकि सार्वजनिक खरिद प्रक्रियामा पारदर्शिता आवश्यक छ । प्राविधिक परीक्षणले स्थानीय जनशक्ति र दक्षतालाई सुदृढ बनाउन महत्वपूर्ण योगदान दिन सक्छ । यसले प्राविधिक परीक्षणका लागि आवश्यक जनशक्ति, उपकरण र प्रक्रियामा सुधार ल्याउन प्रोत्साहित गर्छ, जसले गर्दा नेपालमै दक्ष जनशक्ति उत्पादन हुने छ । नेपालमा निर्माण भएका संरचनाको दिगोपन र लामो समयसम्म टिकाउन प्राविधिक परीक्षण अत्यन्तै महत्वपूर्ण छ । यसले आयोजना निर्माणका हरेक चरणमा गुणस्तर सुनिश्चित गरेर पूर्वाधारको आयु लम्ब्याउन मद्दत पु¥याउँछ ।
नेपालमा विकास परियोजनामा विदेशी दातृ निकाय, जस्तै– एसियाली विकास बैङ्क, विश्व बैङ्क र अन्य अन्तर्राष्ट्रिय संस्थाहरूले लगानी गरिरहेका छन् । यी निकायले गुणस्तर र पारदर्शितामा जोड दिन्छन् । प्राविधिक परीक्षणको प्रभावकारी प्रयोगले दातृ निकायहरूबाट प्राप्त सहयोगको सदुपयोग र परियोजनाको सफल कार्यान्वयन सुनिश्चित गर्न सकिन्छ । यसको प्रभावकारी कार्यान्वयनले पूर्वाधारको गुणस्तरमा सुधार ल्याउने मात्र होइन, वार्षिक मर्मतसम्भार खर्चमा पनि कमी ल्याउँछ । गुणस्तरीय संरचना बनेपछि दीर्घकालीन मर्मतसम्भारको आवश्यकता कम हुने छ, जसले सरकारी स्रोत र समयको बचत हुने छ ।
यससम्बन्धी कानुनी र नीतिगत संरचना सशक्त रूपमा विकास भइरहेको छ । सरकारले गुणस्तरयुक्त सार्वजनिक निर्माणका लागि नियमावली र निर्देशिका बनाइसकेको छ । प्राविधिक परीक्षणले यी नीति तथा कानुनको कार्यान्वयनमा सघाउन सक्छ ।
२०६० सालमा मन्त्रीपरिषद्को निर्णयले राष्ट्रिय सतर्कता केन्द्रमा प्राविधिक परीक्षण महाशाखा गठन भयो, जसले प्राविधिक परीक्षणलाई थप प्रभावकारी बनाउने जिम्मेवारी पायो तर आर्थिक प्रशासनसम्बन्धी नियमावलीमा आवश्यक संशोधनहरू तत्काल गर्न सकिएन ।
प्रभावकारी बनाउने उपाय
प्राविधिक परीक्षणबाट औँल्याइएका केही प्रतिनिधि समस्यामध्ये निर्माण कार्यको समयमा निर्माण व्यवसायीले कार्यतालिका पेस गर्नुपर्ने भए पनि प्रायः यसलाई ध्यानमा राखिँदैन । भेरिएसनको आवश्यकता आयोजना सुरु हुनुअघि विस्तृत अध्ययन नगरीकन आउने गर्छ । निर्माण सामग्रीको गुणस्तरमा गुनासा आउँछन् र प्रायः दक्ष जनशक्ति र आवश्यक उपकरणको अभाव देखिन्छ । निर्माण अवधि लम्बिँदा नागरिकहरू समयमा सेवासुविधा पाउनबाट वञ्चित हुन्छन् । यी समस्यालाई समाधान गर्न राष्ट्रिय सतर्कता केन्द्रको प्राविधिक परीक्षणलाई अझ प्रभावकारी बनाउन निम्न उपाय अपनाउन सकिन्छ, जसले गर्दा सार्वजनिक निर्माण कार्यको गुणस्तर, पारदर्शिता र लागत प्रभावकारिता सुनिश्चित हुने छ ।
प्राविधिक परीक्षणको प्रभावकारिता बढाउन सबैभन्दा पहिलो र आवश्यक पक्ष भनेको केन्द्रमा काम गर्ने जनशक्तिको दक्षता वृद्धि गर्नु हो । यसले उनीहरूको प्राविधिक ज्ञान र परीक्षण क्षमतामा सुधार ल्याउँछ । अन्य देशहरूमा भइरहेको प्राविधिक परीक्षण प्रणालीको अध्ययन र नेपालमा अनुकूलन गर्न सकिने अभ्यास भित्र्याउन अनुभव आदानप्रदान कार्यक्रम सञ्चालन गर्न सकिन्छ ।
प्राविधिक परीक्षणलाई अझ सटिक र द्रुत बनाउन प्राविधिक उपकरण र डिजिटल प्रविधिको प्रयोग आवश्यक छ । सटिक डाटा सङ्कलनका लागि ड्रोन सर्वेक्षण, जिआइएस प्रणाली र अन्य अनलाइन प्लेटफर्महरू प्रयोग गर्न सकिन्छ । देशभरका निर्माण परियोजनामा गुणस्तर परीक्षण गर्न आवश्यक उपकरणहरू र प्रयोगशालाको स्थापना तथा सुधार गर्नुपर्ने आवश्यकता छ । विश्वसनीय उपकरणहरूको उपलब्धता र प्रयोग अनिवार्य गर्नु पर्छ । प्राविधिक परीक्षणको नतिजा र प्रक्रिया जनसमक्ष खुला राख्नका लागि एक डिजिटल अनलाइन प्रणाली विकसित गर्न सकिन्छ । यसले पारदर्शिता बढाउने र भ्रष्टाचार तथा अनियमिततालाई न्यूनीकरण गर्ने छ । परीक्षणको प्रभावकारिता सुनिश्चित गर्न स्वतन्त्र तेस्रो पक्षको संलग्नता गराउन सकिन्छ, जसले निष्पक्ष रूपमा परीक्षण र मूल्याङ्कन गर्ने छ ।
राष्ट्रिय सतर्कता केन्द्रले अन्य सरकारी निकाय, अन्तर्राष्ट्रिय दातृ संस्थाहरू र निजी क्षेत्रसँग सहकार्य गरेर प्राविधिक परीक्षणको प्रक्रिया सुधार्न सक्छ । यसले योजना, कार्यान्वयन र परीक्षण प्रक्रियामा समन्वयात्मक दृष्टिकोण विकसित गर्न सहयोग पु¥याउँछ । स्थानीय निकायलाई पनि प्राविधिक परीक्षण प्रक्रियामा सहभागी गराउन सकिन्छ, जसले स्थानीय स्तरमा योजना कार्यान्वयन र गुणस्तरको अनुगमनमा सहयोग पु¥याउँछ । स्पष्ट मापदण्ड र निर्देशिकाहरू तयार गरेर तिनीहरूको कडाइका साथ कार्यान्वयन गर्नु पर्छ । यी मापदण्ड परियोजनाको प्रत्येक चरणमा लागु गर्नुपर्ने हुन्छ, जस्तै डिजाइन, निर्माण सामग्रीको गुणस्तर, समय तालिका, बजेट इत्यादि । निर्देशिकाहरूलाई नियमित रूपमा समीक्षा गर्दै, नयाँ प्रविधि र विधि समावेश गरेर अद्यावधिक गर्नु पर्छ ।
नतिजालाई आधार मानेर आयोजनाको प्रगति नियमित अनुगमन गर्नु पर्छ । निर्माण कार्यका क्रममा समयमै अनुगमन नगर्नाले धेरै समस्या आउने भएकाले अनुगमन प्रणालीलाई अझ सशक्त बनाउनु पर्छ । हरेक प्राविधिक परीक्षणपछि विस्तृत मूल्याङ्कन रिपोर्ट तयार गर्नु पर्छ, जसले आयोजनाको गुणस्तर र पारदर्शितामा सुधार गर्न मार्गदर्शन दिन्छ । राष्ट्रिय सतर्कता केन्द्रले प्राविधिक परीक्षणका नतिजाहरूका आधारमा नियमित समीक्षा बैठक आयोजना गर्नु पर्छ । यसले परीक्षणका क्रममा भेटिएका समस्याको समाधान गर्न र सुधारका लागि सुझावहरू दिन मद्दत पु¥याउँछ । प्राविधिक परीक्षणका क्रममा भएका गल्तीबाट पाठ सिकेर आगामी आयोजना निर्माणमा सुधार गर्न सकिन्छ । निर्माण सम्पन्न भइसकेका परियोजनामा गरिएको प्राविधिक परीक्षणको नतिजालाई आधार मानी भविष्यमा सम्भावित समस्या समाधानका उपाय अगाडि बढाउन सकिन्छ ।
निष्कर्ष
सार्वजनिक निर्माण कार्यको गुणस्तर सुधार्न र आयोजना दिगो बनाउन प्राविधिक परीक्षण महत्वपूर्ण छ । यद्यपि यसको सफल कार्यान्वयन सबै सरोकारवालाको जिम्मेवारी हो । यो साध्य होइन, साधन मात्र हो । यसलाई प्रभावकारी बनाउन गुणस्तरीय निर्माणको प्रतिबद्धता आवश्यक छ । राष्ट्रिय सतर्कता केन्द्रले यसको प्रभावकारिता बढाउन क्षमता विकास, प्रविधिको प्रयोग, पारदर्शिता, समन्वय, स्पष्ट निर्देशिका, अनुगमन र मूल्याङ्ककन जस्ता उपायमा ध्यान दिनु पर्छ । यी उपायले निर्माण कार्यको गुणस्तर सुधार्ने, भ्रष्टाचार नियन्त्रण गर्ने र सार्वजनिक निर्माण परियोजनाको सफल कार्यान्वयन सुनिश्चित गर्न मद्दत गर्ने छ ।