• ८ मंसिर २०८१, शनिबार

खाना, नाना र छानाभन्दा ठुलो मानवीयता हुँदैन : प्रमुख देवकोटा

blog

बागमती प्रदेशका प्रदेश प्रमुख दीपकप्रसाद देवकोटा कार्यक्रममा सम्बोधन गर्नुहुँदै ।

अनिल पराजुली

हेटौँडा, कात्तिक ६ गते । बागमती प्रदेशका प्रदेश प्रमुख दीपकप्रसाद देवकोटाले मानवका लागि खाना, नाना र छानाभन्दा ठुलो मानवीयता अरू केही नहुने बताउनुभएको छ । 

मानव सेवा आश्रम र आनी छोइङ डोल्मा फाउन्डेसनको संयुक्त आयोजनामा सहयोगापेक्षी सडक आश्रित मानवको उद्धार गर्न आयोजना गरिएको मेची–महाकाली राष्ट्रिय उद्धार यात्रा २०८१ को अभियानलाई मङ्गलबार हेटौँडामा सम्बोधन गर्दै उद्धारको काम प्रशंसायोग्य भएको बताउनुभयो । 

“अभियान सराहनीय छ, मानवप्रति सेवा गर्ने कामको जति बखान गरे पनि कमै हुन्छ” प्रदेश प्रमुख देवकोटाले भन्नुभयो । सडक मानवको उद्धार, संरक्षण गर्ने काम सामाजिक भाव, मन, वचन कर्मले हुने बताउँदै यो पुण्यको काममा सबैले हातेमालो गर्नुपर्नेमा उहाँले जोड्दिनुभयो । 

सरकारले मात्र सडक मानवमुक्त गर्न सम्भव नभएको बताउँदै उहाँले सबै नागरिकको जिम्मेवारी भएको बताउनुभयो । कार्यक्रममा बागमती प्रदेशका मुख्यमन्त्री बहादुरसिंह लामा (तामाङ) ले सेवाभावले गरेको सामाजिक कामको प्रशंसा गर्दै प्रदेश सरकारले पनि आश्रमका लागि आवश्यक बजेट विनियोजन गर्ने प्रतिबद्धता जनाउनुभयो । 

सडक मानवमुक्त गर्ने अभियान आफैँमा उत्कृष्ट काम भएको बताउँदै सीमित स्रोतको परिचालन गर्दै व्यवस्थापन गर्नु पनि चुनौतीको विषय भएको जिकिर गर्नुभयो । बागमती प्रदेश सरकारका सामाजिक विकास मन्त्री हरिप्रभा खड्गी (श्रेष्ठ) ले मानव भएर जन्मेपछि सबैले मानवको सेवा गर्नुपर्ने बताउनुभयो । 

बागमती प्रदेशलाई सडक मानव मुक्त बनाउने अभियानसाथ र सहयोग गर्न मन्त्रालय सदैव तयार रहेको उहाँको भनाइ छ । सोही कार्यक्रममा बागमती प्रदेश सरकारका प्रमुख सचिव डा. हरिप्रसाद लम्सालले सडकमा मानवको सङ्ख्या बढ्नु चिन्ताको विषय भएको औँल्याउनुभयो । 


उहाँले सडक मानव मुक्त गर्न दिगो व्यवस्थापनमा लाग्नु पर्नेमा जोड दिनुभयो । मकवानपुरका प्रमुख जिल्ला अधिकारी तीर्थराज चिलवालले कुनै पनि मानव सडकमा बस्नुपर्ने बाध्यताको अन्त्य हुनुपर्नेमा जोड दिँदै त्यसका लागि राज्य सदैव साथमा रहेको बताउनुभयो । 

कार्यक्रममा मानव सेवा आश्रमका केन्द्रीय अध्यक्ष रामजी अधिकारी, वडा ९ का अध्यक्ष सुकराम केसी, आनी छोइङ डोल्मा फाउन्डेसनका आनी छोइङ डोल्मा लगायतकाले मानव र मानवीयताका विषयमा धारणा राख्नुभयो ।