गोरखापत्र अनलाइन
काठमाडौं, कात्तिक ६ गते । नेकपा (एमाले) का केन्द्रीय सदस्य विष्णु रिजालले विवादास्पद व्यापारीको घरमा बसेर माओवादी अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले एमालेविरुद्ध लाञ्छना लगाउन नसुहाउने बताउनुभएको छ ।
सोमबार पाँच विपक्षी दलका तर्फबाट प्रधानमन्त्री केपी शर्मा ओलीलाई ज्ञापनपत्र बुझाएपछि रिजालको सो भनाइ आएको हो । ‘वर्षौँदेखि कालोसूचीका विवादास्पद व्यापारीको घरमा बस्ने, अनेक व्यापारीसँग कारोबारमा जोडिने र आफ्नो वैवाहिक वर्षगाँठसमेत व्यापारीकै घरमा मनाउने माओवादी अध्यक्ष पुष्पकमल दाहालले अप्ठेरो नमानी एमालेले खुला र पारदर्शी रूपमा आफ्ना शुभेच्छुक व्यवसायीबाट जग्गा प्राप्त गरेको विषयलाई गैरकानुनी र सुशासनको उपहास देख्नुभएछ, ज्ञापनपत्र बुझाउन जानुभन्दा पहिला खुमलटारस्थित आफूले हकभोग गरिरहेको, शारदाप्रसाद अधिकारीको भनिएको घर छाडेको भए हुन्थ्यो नि’, रिजालले सामाजिक सञ्जालमा लेख्नुभएको छ ।
आफ्नो पहलमा अध्यादेश ल्याएर एमाले फुटाउने प्रचण्डले वर्तमान सरकाले अध्यादेश ल्याएर निरङ्कुशता लाद्न खोजेको आरोप लगाउनु अर्को लज्जाको विषय भएको रिजालले उल्लेख गर्नुभएको छ । ‘आफ्नै पहलमा अध्यादेश ल्याएर तीन वर्षअघि नेकपा (एमाले) विभाजन गर्ने र त्यही अध्यादेशबाट लाभ प्राप्त गरेका पार्टीले चाहिँ अध्यादेश ल्याएर वर्तमान सरकारले सरकार टिकाउन र दुई दलीय तानासाही लाद्न खोजेको आरोप लगाउनु पनि अर्को रोचक पक्ष छ’, उहाँले लेख्नुभएको छ ।
‘अध्यादेश आउँछ आउँदैन, थाहा छैन । आएछ भने पनि कम्तीमा तीन वर्षअघि अध्यादेश ल्याउन निर्णायक भूमिका खेल्ने नेकपा (माओवादी केन्द्र) र अध्यादेशका भरमा जन्मिएको नेकपा (एकीकृत समाजवादी) ले चाहिँ नैतिक रूपमा पनि त्यसको विरोध गर्न मिल्दैन’ रिजालले भन्नुभएको छ ।
सत्ता साझेदार दलबिच सहमति नभई कुनै निर्णय नहुने पनि उहाँले स्पष्ट पार्नुभएको छ । ‘ढुक्क भए हुन्छ, सत्ता साझेदार दलबिच सहमति नभई कुनै निर्णय हुँदैन, सहमति भएछ भने कुनै ज्ञापनपत्रका कारण रोकिनेवाला पनि छैन’ उहाँले भन्नुभएको छ ।